कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५
688

पछिल्लो समय कारपे्रमीहरुले आफूले खरिद गर्ने कारमा धेरै सुरक्षा विशेषता होउन् भन्ने चाहन्छन् । सुरक्षाका धेरै विशेषतामध्येको एउटा महत्वपूर्ण विशेषता हो, एयर ब्याग । एयर ब्यागले कार दुर्घटना हुँदा कार चालक र त्यहाँभित्र भएका यात्रुलाई जोगाउन मद्दत गर्दछ ।
कारमा एयर ब्याग हुँदैमा पूर्ण रुपमा सुरक्षित भइन्छ भन्ने पनि होइन । एयर ब्यागयुक्त कार प्रयोगकर्ताले केही कुरामा विशेष चासो राख्नुपर्छ । यहाँ एयरब्याग भएका कार प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुराबारे चर्चा गरिएको छ ।

सजगतापूर्वक सिटबेल्ट लगाउनुस्
कारमा एयर ब्याग होस् वा नहोस्, सिटबेल्ट लगाउनु पर्दछ । यो सुरक्षाको हिसाबले महत्वपूर्ण कुरा हो । एयर ब्यागयुक्त कारमा सिटबेल्ट नगलाउनु झनै खतरापूर्ण हुन सक्छ । एयर ब्याग सधै सिटबेल्टसँग अन्तरसम्बन्धित हुन्छ । कुनै कारमा त सिटबेल्ट नलाग्दा एयर ब्यागसमेत नखुल्ने हुन्छ । एयर ब्यागले कार दुर्घटनामा पर्दा खुल्ने र मानिसको ज्यान जानबाट जोगाउँछ । सिटबेल्ट नलाग्दा एयर ब्याग खुलेन भने स्थिति भयावह हुने भएकाले सिटबेल्ट लगाउनु अनिवार्य हुन्छ ।
स्टेरिङको धेरै नजिक नबस्नुस्
कार चालकतर्फको एयर ब्याग स्टेरिङ ह्वीलमा राखिएको हुन्छ । त्यसैले कार चालक स्टेरिङको निक्कै नजिक नभई केही दूरिमा बस्नु पर्दछ । धेरै नजिक हुँदाको अवस्थामा एयर ब्याग खुल्दा चालक घाइते हुने सम्भावना धेरै हुन्छ । यसका साथै स्टेरिङको नजिक बस्दा पूर्ण रुपमा एयर ब्याग खुल्न समस्या हुन सक्छ । एयर ब्याग पूर्ण रुपमा खुलेन भने चालक सुरक्षित नहुन सक्छ ।
ड्यासबोर्ड नसजाउनुस्
कारमा को–ड्राइभर एयर ब्याग समेत हुन्छ । यस्तो कारको ड्यासबोर्डमा सजावटका सामान राख्नु हुँदैन । यसले कार दुर्घटना हुँदा एयर ब्याग खुल्नमा समस्या हुन्छ । त्यसैले कारको ड्यासबोर्ड सजाउनु सुरक्षाको हिसाबले राम्रो मानिँदैन ।
सिट कभर लगाउनुपूर्व जाँच गर्नुस्
कारहरुमा साइडमा समेत एयर ब्याग हुन्छन् । यस्ता कारहरुमा सिट कभर लगाउँदा सावधानी अपनाउनु पर्छ । अधिकांश कारहरुको साइडमा हुने एयर ब्याग सिटमुनि हुने गरेको छ । सिटकभर लगाउँदा सिट मुनि भएको एयर ब्याग सहि ढंगले नखुल्न सक्छ । यस्तो अवस्थामा पछिल्लो सिटमा बसेका यात्रुको जोखिम बढ्न सक्छ । त्यसैले यस्ता कारहरुमा सिट कभर लगाउँदा विशेष ध्यान दिनु पर्दछ ।
ड्यासबोर्डमा गोडा राख्नु हुन्न
को–ड्राइभरको साइडमा भएको एयर ब्यागयुक्त कारमा बस्नेले ड्यास बोर्डमा गोडा राख्नु हुन्न । ड्यासबोर्डमा सामान्य दबाब पर्दा पनि एयर ब्याग खुल्न सक्छ । अनावश्यक अवस्थामा एयर ब्याग खुल्नु राम्रो होइन । को–ड्राइभर सिटमा एयर ब्याग नभएको कारमा समेत ड्यास बोर्डमा गोडा राख्नु राम्रो मानिन्न । त्यसैले एयर ब्याग भएका कारमा समेत त्यसको उचित व्यवस्थापन वा उपयोग गर्न सकिएन भने समस्या निम्तिन सक्छ ।


सातामा धेरै पढिएको