Logo

पोखरा उद्योग वाणिज्य संघमा दुई प्यानल

अध्यक्षका प्रत्याशी अधिकारी र प्रजुद्वारा संघमा राजनीति घुसाएको आरोप

पोखरा-पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन नजिकिँदै गर्दा सुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारीसहितको टिम ल्याउन दामु अधिकारी र रविन्सन प्रजुले आ–आफ्नो प्यानलसहितको टिम बनाएर चुनार्वी मैदानमा उत्रिदै छन् ।
संघक महासचिवसमेत रहेका अधिकारीले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरूको समावेशी टिमको उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका प्रत्याशी रहेका अधिकारीले आफ्नो टिममा पदाधिकारी सहितको १७ सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् भने बाँकी केही पदका लागि खुला राखिएको उनले जनाए । अधिकारीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य)तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल, उपमहासचिवमा सीता बराल, कार्यसमिति सदस्यहरूमा नारायण पौडेल, डीबी भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल रहेका छन् ।
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य माथि रविन्सन प्रजुले राजनीतिक घुसाएकोे आरोप लगाउँदै उनले आगामी दिनमा पनि संघभित्र प्रत्यक्ष राजनीति गरे आफूहरूलाई सह्य नहुने बताए । उनले भने, “उद्योगी व्यवसायीहरूको साझा संस्थाको गरिमामा आँच आउने कुनै पनि गतिविधि संघभित्र हुनुहुँदैन भन्ने मान्यता हामीले राख्दै आइरहेका छौं, नचाहँदा नचाहँदै संघभित्र प्रत्यक्ष राजनीति घुसेको देख्दा हामी चिन्तित छौं ।” आफुहरूले धेरै समयको कसरबाट धेरै बस्तुगत ढंगले र क्षेत्रगत रुपमा टिम समावेसी गरेको उल्लेख गर्दै अध्यक्षका प्रत्याशी अधिकारीले आगामी दिनमा संघको गरिमा बढ्ने आधार सहित नयाँ टिम बन्ने आफूहरूलाई विश्वास दिलाएमा आफ्ना टिमका कुनै पनि पदाधिकारीले उम्मेदवारबाट नाम फिर्ता लिने बताए ।
यसैबीच वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले समेत आफ्नो एउटा प्यानल बनाएका छन् । अध्यक्षका प्रत्याशीका प्रजुको प्यानलमा वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उपमहासचिवमा चिनु गुरुङ छन् । प्रजु पोखरा महानगरपालिका–३ का वडा अध्यक्षसमेत हुन भने उनी नेपाली कागें्रसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । दामु अधिकारीको नेतृत्वको टिमले संघमा राजनीतिक घुसायको आरोप लगाउँदै उनले जनता र व्यवसायीहरूको हितको लागि आफू काम गर्न कटिबद्ध भएको बताए ।
संघको आगामी दुई वर्षीय कार्यकालको लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । २९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र ७ जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निवार्चित हुनुपर्नेछ । १ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । संघमा ३ हजार ३ सय ७७ जना मतदाता रहनेछन् । साधारण सदस्य ३ हजार १ सय ७१ जना, कर्पोरेट सदस्य ६८ जना, औद्योगिक सदस्य १ सय १० जना र वस्तुगत सदस्य २८ जना रहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्