प्रदेशसभामा बलात्कारीलाई कारबाही र राजधानीको मुद्दा «

प्रदेशसभामा बलात्कारीलाई कारबाही र राजधानीको मुद्दा

बलात्कार र हत्याका घटनाप्रति ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको सोमबारको बैठकमा बोल्ने अधिकांश सांसदले बढ्दो बलात्कारको घटना न्यूनीकरण गर्न केन्द्र सरकार र प्रदेश सरकारले तदारुकता नदेखाएको र दोषीलाई कारबाहीको दायरमा ल्याउन ढिलाई गरिएको भन्दै आलोचना गरे ।
प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य रिना गुरुङले देशमा बढिरहेको बलात्कार र हत्याको घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाइन् । अन्यायमा परेर न्याय माग्दै सडकमा उत्रिएका पीडितलाई नै पनि सरकारविरोधी र षड्यन्त्रकारीको आरोप लगाएर गोली हान्नेसमेतको काम गरिरहेको भन्दै गुरुङले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरिन् । “वनको बाघले नखाए पनि सरकारलाई मनको बाघले खाएको छ । अन्यायमा परेकालाई न्याय दिनुको सट्टा उल्टै सरकारविरोधी र षड्यन्त्रकारी भन्दै गोली चलाउनु कत्तिको उपयुक्त हुन्छ ?” गुरुङले भनिन् ।
अर्का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले देशमा बढ्दै गइरहेको बलात्कारको घटना राष्ट्रिय लज्जाको विषय भएको भन्दै त्यसलाई रोक्न प्रदेश सरकार केन्द्र सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । “सरकारले अब हावादारी र चटके कुरा गरेर बसेर हुँदैन, देशमा बढिरहेको बलात्कार र हत्याको घटनामा संलग्नलाई तत्काल कारबाही गरी अन्य घटना हुन नदिन कदम चाल्नुपर्छ,” गोसाईंले भने ।
कल्पना नेपालीले दिनहुँ देशमा बलात्कार र हत्याको घटना बढ्दै जाँदा नारीलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुन थालेको भन्दै तत्काल बलात्कारी र हत्यारालाई कारबाही गर्न प्रदेश र केन्द्र सरकारले कदम चलाउनुपर्नेमा जोड दिइन् । प्रेमबहादुर तामाङले बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन नसक्नु र बालिका बलात्कारको घटना बढ्नुले सरकारको निरिहपन झल्किएको बताए ।

स्थायी राजधानीबारे बोले सांसद
प्रदेशको स्थायी राजधानीको लागि गठित सम्भाव्यता समितिले प्रतिवेदन बुझाएको करिब दुई महिना बित्न लाग्दासमेत सो विषयमा छलफल हुन नसकेको भन्दै विशेष समयमा बोल्ने सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रदेशको राजधानीको प्रतिवेदनमाथि प्रदेशसभामा छलफल नगरिएको भन्दै प्रदेशसभा सदस्य विशाल खड्काले आपति जनाए ।
“प्रदेश राजधानी सम्भाव्यता समितिले बुझाएको प्रतिवेदन कहाँ अपहरणमा प-यो, सभामा छलफलमा नल्याएर सरकारले किन अकर्मण्यता कायम गरिरहेको छ ?” खड्काले प्रश्न गरे । अर्का प्रदेशसभा सदस्य रामकुमारी पुनले पनि प्रदेश राजधानीको विषयमा कसैले केही नबोलेको भन्दै यसलाई छिटो निष्कर्षमा पु-याउनुपर्नेमा जोड दिइन् । प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि प्रदेश स्थायी राजधानीको विषयले प्रदेशसभामा प्रवेश नपाएको भन्दै आपति जनाए ।
सोमबारको प्रदेशसभामा सांसद राजेन्द्र पाण्डे, शोभा शाक्य, जगतबहादुर सिंखडा, बलराम पौडेल, भीमसेन खत्री, सन्तबहादुर प्रजा, ओम घलान, राजेन्द्रमान श्रेष्ठ, रिता माझी, चेतनाथ सञ्जेल र केशब पाण्डेले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका समस्या, कर वृद्धिको समस्या र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

तीन विधेयक पारित
३ नम्बर प्रदेशको सोमबारको प्रदेशसभाको बैठकबाट तीनवटा विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रस्ताव गरेको प्रदेशसभा सचिवालय सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मतले पारित गरिएको छ ।
त्यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रस्ताव गरेको प्रदेश दुग्ध विकास बोर्ड स्थापनासम्बन्धमा बनेको विधेयक पारित गरिएको हो । प्रदेशसभाको सोमबार नै बसेको दोस्रो बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्