भारतीय क्लिंकर अब सिधै सुक्खा बन्दरगाहमा

नेपाली उद्योगीले अबदेखि सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ सिधै वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा ल्याउन पाउने भएका छन् । यसअघि प्रयोग गर्दै आएको भारतीय रेलवेको रक्सोल यार्डको विकल्पका रूपमा उनहरुले यो सुविधा पाउने भएका हुन् । रक्सोल यार्डबाट आयात गर्दै आएको क्लिंकरको लोड तथा अनलोड अब वीरगञ्जको सुक्खा बन्दरगाहबाट मात्र गर्न भारतीय पक्षले पत्राचार गरेको छ । रक्सोलबाट लोड–अनलोड गरेर ढुवानी गर्दै आएको धूलोयुक्त डर्टी कार्गोले वातावरण प्रदूषण भइ स्थानीयको स्वास्थ्यमा असर पारेको भन्दै त्यहाँबाट क्लिंकर ल्याउन नदिन स्थानीयले विरोध गर्दै आएका थिए ।
भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर)ले वीरगञ्ज बन्दरगाहमा क्लिंकर ‘ह्यान्डलिङ’ गर्नसक्ने बताएपछि रेलवे बोर्डले मातहतका आफ्ना निकायलाई यसको लोडअनलोड वीरगञ्जमा गर्न अनुमति दिएको छ । वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा अब सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फ्लाई एश जस्ता डस्टी कार्गो पनि आउने भारतीय पक्षले निर्णय गरेका छन् । डस्टी (धुलो उड्ने) कार्गोले गर्दा असह्य प्रदुषण भएको बताउदै रक्सोलवासीले आन्दोलन थालेपछि सिमावर्ती क्षेत्रका जनप्रतिनिधिहरूको पहलमा भारतको केन्द्र सरकार मातहतको भारतीय रेल्वे र त्यसको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड कनकोरले यस्तो निर्णय लिएका हुन् ।
नेपालका लागि रक्सोलमा आउने डस्टी कार्गो सुक्खा बन्दरगाहमा पठाइदिने व्यवस्थाका लागि भारतीय पक्षले निर्णय गरे पनि नेपालतर्फ औपचारिकता पूरा गर्न बाकी नै छ । नेपाली पक्षलाई यस बिषयमा औपचारिक जानकारीसमेत छैन । सीमावर्ती बेंतिया क्षेत्रबाट भारतका केन्द्रीय सांसद रहेका नेता सञ्जय जयसवालले भारतीय रेल मन्त्रालय र बिदेश मन्त्रालयलाई दबाव दिएर उक्त निर्णयहरू गराउन आफूहरू सफल भएको बताएका छन् । “नेपाल र भारतबीच हजारौं वर्षको सम्बन्ध छ, यसमा व्यापारिक सम्बन्धले दुबै देशलाई एउटा महत्वपूर्ण कडीको रूपमा जोडेको छ,” रक्सोलस्थित भारतीय जनता पार्टीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता जयसवालले भने, “यो आफैंमा ऐतिहासिक बिषय हो कि नेपाली सिमेन्ट उद्योगले आफ्नो कच्चा पदार्थ नेपालसम्म पुगेको पाउने छन् ।” भारतीय रेल्वेका एक निर्देशक एमके श्रीवास्तव र ढुवानी गर्ने संस्था कनकोर अध्यक्ष तथा प्रबन्ध निर्देशक भि कल्याण रामाले शुक्रवार बिभिन्न निकायमा पत्राचार गरी वीरगन्ज आइसिडी (इनल्याण्ड कन्टेनर डिपो) सम्म क्लिंकर र्याक लैजाने सहमति जनाएका छन् ।
वीरगन्जको सुख्खा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिको मुख्य साझेदारको रूपमा रहेको कोन्करले बन्दरगाहमा कण्टेनर कार्गोको ढुवानी पनि गर्दै आएको छ । रेलवेले आफ्नो पत्रमा नेपाल सरकारबाट यसको स्वीकृति पर्खिरहेको पनि उल्लेख गरेको छ । रेलवेले शनिवारदेखि रक्सोलका लागि क्लिंकरको लोडिङ बन्द गरिसकेको छ । कोन्करले १५ दिनभित्र बन्दरगाहमा क्लिंकर लोडअनलोडका लागि आवश्यकीय प्रावधान र पूर्वाधार पूरा गरिने रेलवेलाई लेखेको पत्रमा उल्लेख छ । यससँगै अब रक्सोल हुँदै आउने क्लिंकर र अन्य सिमेन्ट उद्योगकका कच्चा पदार्थहरू पनि बुकिङ बन्द हुने भएको छ । अहिले पनि बाटोमा क्लिंकर बोकेका ९ ओटा र्याक रोकिएकाले ती सबै र्याक लाई अनलोड गरेर नेपाल आउन दिने त्यसपछिको बुकिङ नै बन्द गर्ने बताइएको छ ।
बन्दरगाहमा आइरन ओरहरू आएपनि अहिले सम्म क्लिंकर भने आएको छैन । हिमालयन टर्मिनलका कर्मचारीहरू भने बन्दरगाहमा क्लिंकर र्याक अनलोडको तयारी भइरहेको बताउँछन् । यो नाकाबाट बारा र पर्साका १३ ओटा उद्योगले कच्चा पदार्थ आयात गर्छन् । आईतबार रक्सोलमा भएको पत्रकार सम्मेलनमा रक्सोल बिधानसभाका विधायक अजय कुमार सिंह र सुगौली बिधान सभाका बिधायक रामचन्द्र सहनी, रक्सोलका नागरिक अगुवा प्राध्यापक अनिलकुमार सिन्हा लगायतको पनि उपस्थिति थियो । रक्सोलमा अनलोड हुने तोकेर तय भइसकेका कार्गो आउने तर नयाँ कार्गो रक्सोल अनलोड हुने तोकेर तय नै नहुने जयसवालले पत्रकार सम्मेलनमा बताए ।