गजुरीमा शुद्धीकरण गरिएको पानी वितरण

धादिङ-धमिलो पानीबाट आजित भएका गजुरी बजारका उपभोक्ता अहिले शुद्ध पानी पाएर दंग परेका छन् । खानेपानीको मुहानमाथिबाटै धमिलो पानी मिसिएर आउने गरेको समस्या भोगिरहेका गजुरीवासी वर्षाको समयमा पनि कञ्चन पानी आउन थालेपछि दंग परेका हुन् ।
पानी प्रशोधन केन्द्रभन्दा ७ किलोमिटर टाढा खारापानी र कटुवा खोलाको पानी ल्याएर प्रशोधन गरी वितरण गरिएको गजुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी व्यवस्थापक सुनिता पाण्डेले बताइन् । त्यति मात्र होइन २०६१ सालबाट सुरु भएको खानेपानी योजनाले २०६५ सालसम्म आइपुग्दा २२ वटा सार्वजानिक धारा बनाएको थियो । तर, सार्वजनिक धारामा आवश्यकताअनुसार पानी नपाएको उपभोक्ताको गुनासो सम्बोधन गर्दै २०६७ सालबाट नीजि धारा वितरण गरि मिटर प्रणाली लागू गरिएपछि उपभोक्तालाई राहत पुगेको छ ।
शुद्ध खानेपानी वितरण गर्ने सरकारको नीति र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङले ‘पानी शुद्धीकरण प्रविधि’ बाट फिल्टर गरी खानेपानी वितरण कार्यलाई आर्थिक तथा प्राविधि सहयोग गरेको इन्जिनियर हेराकाजी महर्जनले बताए । यो प्रविधिबाट धमिलो पानीलाई कन्चन बनाउन सम्भव हुन्छ । पानी जम्मा गर्ने पोखरीलाई चार भागमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो पोखरीलाई कोगुलेसन च्याम्बर, दोस्रो पोखरीलाई सेडिमेन्टेसन च्यानल, तेस्रो पोखरीलाई रिजेन्टर रकिङ फिल्टर र चौथो पोखरीलाई स्लो स्यान्ड फिल्टर भनिन्छ । यसरी पानी फिल्टर गर्दा पानीको पानीको निर्मलीकरण हुने भएकाले यो प्रविधि प्रयोग गरेको छ । धेरै पहिला सम्पन्न भएको योजना भए पनि उपभोक्ताको माग र आवश्यकताले फेरि काम गर्नु परेको हो । अब पानी शुद्धीकरण प्रविधि परीक्षण सफल भएको छ । उपझोक्ता समितिलाई जिम्मेवारी हस्तान्तरण गर्न मात्र बाँकी रहेको इन्जिनियर महर्जनले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङको १ करोड २९ लाख आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको करिब २५ लाख ८० हजार नगद तथा श्रमदानबाट पानी शुद्धीकरण योजना सम्पन्न भएको वडाअध्यक्ष राजकुमार पण्डितले बताए । उनले खानेपानी योजना पुरानै भए पनि नयाँ प्रविधि मिœयाएकाले उपभोक्ताहरु खुसी भएको बताए । यो आयोजनाबाट हाल ५ सय ५७ वटा निजी धारा वितरण गरिएको छ । सरकारी कार्यालय, निजी घर सबैमा मिटर प्रणाली लागू गरिएको छ । सहर उन्मुख उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न ४ जना कर्मचारी परिचालन परिचालन गरिएको छ । निजी घर र सरकारी कार्यलयलाई एक/एक धारा तथा मिटर र आर्मी ब्यारेकलाई चारवटा धारा दिइएको छ । न्यूनतम १० हजार लिटर पानीको ९० रुपैयाँ तोकिएको छ । खानेपानी वितरण कार्यालयको कामलाई व्यवस्थित गर्न चार जना कर्मचारी र कार्यालय सञ्चालन गर्न ५५ हजार रुपैयाँ खर्च हुने वडाअध्यक्ष पण्डितले बताए ।