कांग्रेस विधानको मस्यौदा असोज १५ भित्र «

कांग्रेस विधानको मस्यौदा असोज १५ भित्र

नेपाली कांग्रेसको विधानको मस्यौदा असोज १५ भित्रै तयार हुने भएको छ । विधान संशोधनका लागि गठन गरिएको मस्यौदा समितिले १५ असोजभित्रै मस्यौदा तयार गर्ने गरी काम अघि बढाएको छ ।
समितिका प्रवक्ता रमेश लेखकले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रारम्भीक मस्यौदालाई एकीकृत गरेर पार्टीका निकायबाट सुझाव संकलन गर्नका लागि हामी सात वटै प्रदेशमा अन्तरक्रिया गर्ने बताए । प्रारम्भीक मस्यौदामा प्राप्त सुझावहरुको आधारमा अन्तिम मस्यौदा तयार गरी केन्द्रीय समितिमा पेश गर्ने तयारी भएको लेखकको भनाइ छ ।
समितिले नेपालको संविधानका व्यवस्था, राजनीतिक दल सम्वन्धि ऐन कानुन, निर्वाचन सम्वन्धि कानुन, पार्टीका विभिन्न निकाय, भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समिति लगायतबाट प्राप्त सुझावहरुलाई आधार बनाउने भएको छ ।
त्यसअघि केन्द्रीय विधान संशोधन मस्यौदा समितिले आफू मातहतको उपसमितिबाट प्राप्त प्रारम्भीक मस्यौदालाई एकीकृत गर्ने लेखकको भनाइ छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान संशोधन मस्यौदा समितिले पार्टीको विधान संशोधनका विषयमा भदौ २१ गतेभित्र सुझाव दिनपनि सबैलाई आव्हान गरेको छ । गत वैशाख १६ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले भदौ ७ गते ११ सदस्यीय विधान संशोधन मस्यैदा समिति गठन गरेका थिए । समितिमा जिल्ला सभापतिहरुको प्रतिनिधित्व नभएको भन्दै विरोध भएपछि ललितपुरका सभापति मदनबहादुर अमात्य र रोल्पाका सभापति अमरसिंह पुनलाई मनोनित गरिएको छ । समितिले विधानको प्रारम्भीक मस्यौदा निर्माणका लागि भदौ १५ गते तीन वटा उपसमिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्