सीईओविहीन छन् नयाँ कम्पनीहरू

बिमा समितिबाट जीवन बिमा व्यवसाय सञ्चालनको सहमति पाएका सबै कम्पनीहरूले कारोबारको सुरुवात गरिसकेका छन् । तर, अधिकांश नयाँ कम्पनीहरू प्रमुखविहीन छन् । सञ्चालनमा आएका नौ कम्पनीमध्ये तीनवटा कम्पनीले मात्रै प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छन् । अन्य कम्पनीले अहिलेसम्म प्रमुख कार्यकारी तोकेका छैन ।
नयाँ कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा पहिला कारोबार सुरुवात गरेको हो । कम्पनीले गत साउनबाट नै कारोबार सुरु गरे पनि प्रमुख कार्यकारी भने तोकेको छैन । कम्पनीले राकेश पोख्रेललाई नायब प्रमुख कार्यकारी रूपमा नियुक्त गरेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले गत भदौ महिनादेखि नै कारोबारको सुरुवात गरेको हो । तर, कम्पनीले प्रमुख कार्यकारी भने अहिलेसम्म नियुक्त गरेको छैन । कम्पनीले प्रकाश विक्रम खत्रीलाई नायव प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि हालसम्म औपचारिक रूपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छैन । कम्पनीले महाप्रबन्धकमा कमलराज गौतमलाई नियुक्त गरेको छ । त्यसैगरी सानिमा लाइफ इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृतमा केशवराज केसीलाई नियुक्त गरेको छ । समितिका अनुसार कम्पनीले प्रमुख कार्यकारी भने अहिलेसम्म नियुक्त गरेको छैन । प्रभु लाइफ र सिटिजन्सले पनि हालसम्म प्रमुख कार्यकारी नियुक्त गरेका छैनन् ।
नयाँ कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मनोजकुमारलाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । त्यसैगरी रिलायबल लाइफ इन्स्योरेन्सले नारायण बाबु लोहनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रवीण रमण पराजुलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । नियुक्त भएका प्रमुख कार्यकारीमध्ये मनोजकुमार मात्रै बिमा क्षेत्रबाट आएका हुन् । नारायण बाबु लोहनी र प्रवीणरमण पराजुली बैंकिङ क्षेत्रबाट बिमा क्षेत्रमा प्रवेश गरेका हुन् ।
समितिले जारी गरेको संस्थागत सुशासनको प्रावधानका कारण प्रमुख कार्यकारी नियुक्त गर्न समस्या भएको सरोकारवालहरूले बताए छन् । तर, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक सदस्य नन्दकिशोर शर्मा भने नेपालमा बिमासम्बन्धी दक्ष व्यक्ति नै नभेटिएको बताउँछन् । “हामीले प्रयास गर्यौ तर, प्रमुख कार्यकारीका लागि उपयुक्त व्यक्ति भेटिएन । त्यसैले हामीले नायव प्रमुख कार्यकारीलाई नै जिम्मेवारी दिएका छौ,” उनले भने ।
त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रामहरि अर्यालले पनि बजारमा खोजे जस्तो प्रमुख नभेटिएको बताए । “हामीले खोजिरहेका छौँ । तर, प्रमुख कार्यकारीको जिम्मेवारीका लागि योग्य व्यक्ति भेटेका छैनौं,” उनले भने “एकै पटक बजारमा धेरै कम्पनी आए । यसले बजारमा प्रतिस्पर्धा सिर्जना गरेको छ । त्यसैले हामी अलिक सक्षम व्यक्तिको खोजीमा छौँ ।”
कम्पनीका सञ्चालकहरूले योग्य व्यक्ति नभेटिएको बताइ रहँदा बिमा कम्पनीका प्रमुख कार्यकारीहरू भने यस्तो अवस्था नभएको बताउँछन् । उनीहरूका अनुसार बजारमा प्रमुख कार्यकारीका लागि सक्षम व्यक्तिहरू छन् तर, सञ्चालकले आफूले खोजेको जस्तो व्यक्ति नभेटेका मात्रै हुन् । अधिकांश सञ्चालकले आफ्नो इच्छाअनुसार चल्न सक्ने व्यक्तिलाई प्रमुख कार्यकारी बनाउँछन् । यही तालमेल नमिलेर पनि कम्पनीहरूमा प्रमुख कार्यकारीको अभाव देखिएको हो । तर, समितिले भने कम्पनीहरू भर्खरै सञ्चालनमा आएकोले प्रमुख कार्यकारीको नियुक्त हुन नसकेको बताएको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी
आईएम लाइफ इन्स्योरेन्स कम्पनीले ०७४ साउन ३२ गते बिमा समितिबाट कारोबारको अन्तिम स्वीकृति लिएको हो । कम्पनीले भदौ १ गते नै कम्पनीको औपचारिक सुरुवात गरेको हो । कम्पनीको चुक्ता पुँजी २ अर्ब छ । समितिका अनुसार कम्पनीले हालसम्म ५५ वटा शाखा सञ्चालनको अनुमति लिएको छ । त्यस्तै, हालसम्म भने कम्पनीले ५ करोड बिमाशुल्क आर्जन गरेको कम्पनीले नै बताएको छ ।
कम्पनीले आजीवन (सावधिक) जीवन बिमा, बाल उमंग (अग्रिम भुक्तानी सावधिक) जीवन बिमा, बाल उज्जवल (सावधिक) जीवन बिमा, आईएमई सबल (सीमित) अग्रिम भुक्तानी सावधिक जीवन बिमा, आईएमई धनबद्र्धन अग्रिमी भुक्तानी जीवन बिमा, अग्रिम भुक्तानी सावधिक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । त्यस्तै, बिमा प्रस्तावकको मृत्यु भएमा वा पूर्ण अशक्त भएमा बिमाशुल्क छुट तथा मासिक आय सुविधा दिने बारेको पुरक करार पनि कम्पनीले समितिबाट स्वीकृति पाएको छ ।
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट ०७४ भदौ १५ मा नै कारोबारको अन्तिम स्वीकृति लिएको हो । कम्पनीको औपचारिक सुरुवात भने असोज २९ बाट भएको हो । २ अर्ब चुक्ता पुँजी रहेको उक्त कम्पनीले समितिबाट ३८ वटा शाखा सञ्चालनको अनुमति लिएको छ ।
कम्पनीले हालसम्म रिलायबल उच्च शिक्षा जीवन बिमा, रिलायबल धनपति जीवन बिमा, रिलायबल अग्रिम भुक्तानी जीवन बिमा योजनाको सञ्चालनमा ल्याएको छ भने समितिबाट रिलायबल सवाधिक बिमालेख तथा दुर्घटनाबाट मृत्यु भएमा वा अशक्त भएमा थप सुविधा दिने बारेको पुरक करार र प्रस्तावकको दुर्घटनाबाट मृत्यु भएमा वा अशक्त भएमा थप सुविधा दिने बारेको पूरक करारको अनुमति पनि लिइसकेको छ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट ०७४ भदौ १९ गते कारोबार सञ्चालनको अन्तिम स्वीकृति लिएको हो । कम्पनीले आफ्नो औपचारीक सुरुवात भने असोज ८ गतेदेखि गरेको हो । कम्पनीको चुक्ती पुँजी २ अर्ब २० करोड रहेको छ । समितिबाट कम्पनीले ४८ वटा शाखा सञ्चालनको स्वीकृति लिएको छ ।
कम्पनीले हालसम्म ज्योति म्यादी जीवन बिमा, ज्योति धन लाभ जीवन बिमा, ज्योति सुरक्षित भविष्य जीवन बिमा बिमालेख सञ्चालन गरेको छ । त्यस्तै, दुर्घटना मृत्य भएमा थप सुविधा दिनेबारे पूरक करार, दुर्घटनाबाट मृत्यु भएका वा पूर्ण अंगभंग भएमा थप सुविधा दिने पूरक करारसम्बन्धी पनि समितिबाट स्वीकृति लिइसकेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट ०७४ भदौ ३० गते कारोबार सञ्चालनको अन्तिम स्वीकृति पाएको हो । तर, कम्पनीले कारोबारको औपचारिक सुरुवात भने असोज ६ गते देखि गरेको हो । २ अर्ब चुक्ता पुँजी रहेको उक्त कम्पनीले समितिबाट ६८ वटा शाखा सञ्चालनको अनुमति लिइसकेको छ ।
कम्पनीले हालसम्म सार्थक आजीवन बिमालेख, नविन आजीवन जीवन बिमा, सन लाइफ सावधिक जीवन बिमा, भाग्योदय जीवन बिमा, बाल समूह सावधिक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । त्यस्तै, कम्पनीले समितिबाट बिमालेखअन्तर्गत बिमितको दुर्घटनाबाट मृत्यु भएमा थप भुक्तानी बारेको पूरक करार, बिमालेखअन्तर्गत बिमा प्रस्तावकको मृत्यु वा स्थायी अशक्तता भएमा मासिक आय सुविधा दिने बारेको पूरक करारसम्बन्धी स्वीकृतिसमेत पाएको छ ।
युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट ०७४ असोज ४ गते कारोबारको अन्तिम स्वीकृति लिएको हो । कम्पनीको औपचारिक सुरुवात भने असोज ६ बाट भएको हो । २ अर्ब १५ करोड चुक्ता पुँजी भएको उक्त कम्पनीले समितिबाट ४७ वटा शाखा सञ्चालनको अनुमती लिएको छ ।
कम्पनीले हालसम्म सिमित भुक्तानी सावधिक जीवन बिमा, अग्रिम भुक्तानी सावधिक तथा आजिवन जीवन बिमा, सावधिक तथा आजिवन जीवन बिमा, सावधिक जीवन बिमा, बाल सावधिक जीवन बिमा योजना ल्याएको छ । साथै कम्पनीले दुर्घटनाबाट मृत्यु वा पूर्ण असक्ततता भएमा बिमाशुल्क छुट तथा मासिक आाय सुविधा दिने बारेको पूरक करार र पूरक करारको बिमाशुल्क सम्बन्धमा स्वीकृतिसमेत लिएको छ ।
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट असोज ३० गते कारोबारको अन्तिम स्वीकृति पाएको हो । कम्पनीको औपचारिक सुरुवात कात्तिक २ गतेदेखि भएको हो । २ अर्ब चुक्ता पुँजी भएको उक्त कम्पनीले समितिबाट ४० वटा शाखा सञ्चालनको अनुमति लिएको छ ।
कम्पनीले हालसम्म सिटिजन्स सावधिक जीवन बिमा र सिटिजन अग्रिम भुक्तानी जीवन बिमा सञ्चालनमा ल्याएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १ गते बिमा समितिबाट कारोबारको अन्तिम स्वीकृति लिएको हो । २ अर्ब चुक्ता पुँजी रहेको उक्त कम्पनीले औपचारिक सुरुवात मंसिर २२ गतेदेखि गरेको हो । कम्पनीले समितिबाट हालसम्म शाखा सञ्चालनको अनुमति लिएको छैन । कम्पनीले सानिमा सरल, सानिमा धनपति र सानिमा दीर्घायू बिमा योजना सञ्चालनमा ल्याएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट कात्तिक २६ गते कारोबारको अन्तिम स्वीकृति पाएको हो । कम्पनीको औपचारिक सुरुवात भने मंसिर १ गतेदेखि भएको हो । कम्पनीले समितिबाट ६ वटा शाखा सञ्चालनको अनुमित लिएको छ ।
कम्पनीले हालसम्म रिलायन्स सुमखय जीवन बिमा, रिलायन्स सावधिक जीवन बिमा, रिलायन्स दुर्घटना बिमा, रियलायन्स धन फिर्ता जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले समितिबाट मंसिर १४ कारोबारको अन्तिम स्वीकृति पाएको हो । २ अर्ब पुँजी उक्त कम्पनीले मंसिर २८ गतेदेखि औपचारिक सुरुवात गरेको हो । कम्पनीले सिमितमा १० वटा शाखा सञ्चालनका लागि निवेदन दिएको छ ।