जनप्रतिनिधि आएपछि ५ महिनामा ८० % पूर्वाधारको काम «

जनप्रतिनिधि आएपछि ५ महिनामा ८० % पूर्वाधारको काम

वैत्यश्वर गाउँपालिका– ८ का वडाअध्यक्ष रमेश अधिकारी एक महिनाभित्र वडामा के काम गर्ने भन्ने योजना बनाउँदै छन् । एक महिनाभित्र आफ्नो वडामा विनियोजन भएको रकमको पुँजीगत खर्चका सबै योजना पूरा हुने भएपछि माघदेखि के काम गर्ने भन्नेमा ठोस निर्णयमा पुग्न सकेका छैनन् ।
वैत्यश्वरका वडा नं. ८ मात्र होइन ५ नं का वडाअध्यक्षमा पनि उस्तै समस्या छ । आर्थिक वर्ष सुरु भएको ५ महिना बितेर छैठौं महिना लाग्दा उनीहरू सातौँ महिनापछिको योजना बनाउने तयारी छ । दुवै वडा सिमानामा पर्छन् । दुवैको काम कसले बढी काम गर्नेमा उनीहरूको प्रतिस्पर्धा छ ।
वैत्यश्वर गाउँपालिकामा ८ वटा वडामध्ये सबैभन्दा बढी काम गर्ने वडामा वडा नं. ५ र ८ नै पर्छ । विगतमा गाउँमा गएको पुँजीगत खर्च कसरी गर्ने भन्नेमा चिन्ता हुन्थ्यो । अहिले उनीहरू ६ महिना नपुग्दै खर्च सकिने हुनाले बाँकी ६ महिनामा काम गर्नका लागि खर्चको स्रोत खोजीमा समेत लागेका छन् । “हाम्रो काम ८० प्रतिशत सकिएको छ,” वैत्यश्वर ५ का वडाअध्यक्ष माधव बस्नेतले भने, “केही खानेपानी योजनाको काम छ त्यो पनि पुस भित्रै सकिन्छ ।” अब आगामी दिनमा हाम्रो वडाले छिटो काम सके अन्तमा काम गर्न नसक्ने वडाको बजेट तान्न सकिन्छ कि भन्ने आश भएको उनले बताए ।
वैत्यश्वर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सबैभन्दा बढी पूर्वाधारको रुपमा सडकमा लगानी गरेको छ । वडा नं. ८ को एक दर्जन बढी सडक रहेका छन् । ति सडकको लम्बाइ ५० किमि जति रहेका छन् । ति सबै सडकमा अहिले गाडी चल्न थालेका छन् । पुराना सडकको खाल्डा पुर्ने मोड सुधार र सोलिङको काम गरिएको वडाअध्यक्ष रमेश अधिकारीले बताए । “हाम्रो लक्ष्य सबै सडकमा १२ महिना नै निर्वाध रूपमा गाडी चलोस् भन्ने हो,” उनले भने, “तामाकोसीबाट गिटी बालुवा ल्याउन सहज बनाउन ५ किमि नयाँ ट्रयाकसमेत खोलिएको छ, नयाँबाहेक पुरानो सडकमा त्यो योजना पूरा हुन्छ होला ।” वडाभित्रका महत्वपूर्ण ५ वटा खानेपानी योजना सेवक नेपालनामक गैरसरकारी संस्थालाई जिम्मा लगाएको उनले बताए । २ वटा साना खानेपानी योजनाको सर्भे पूरा भएको छ त्यो पुसभित्रै पूरा गर्ने उनले प्रतिबद्धता गरे ।
चालू आवमा वडा नं. ८ मा १ करोड ४५ लाख बराबरको पुँजीगत योजना परेको थियो । त्यसैगरी वडा नं. ५ मा एक करोड २७ लाखका योजना गाउँपालिकाबाट परेका थिए । दुवै वडाअध्यक्षहरू अहिले भएका कामको प्राविधिक मूल्यांकन गरी रकम भुक्तानीका लागि गाउँपालिका धाउन थालेका छन् ।
आफूले समयमै काम पूरा भए तापनि गाउँपालिकाबाटै समयमा रकम भुक्तानीमा ढिला भएकोमा भने वडाअध्यक्ष बस्नेतले गुनासो गरे । गाउँपालिकाको मूल्यांकनमा पनि वैत्यश्वरमा सबैभन्दा राम्रो काम गर्नेमा वडा नं. ५ र ८ नै पर्छन् । गाउँपालिका उपाध्यक्ष रवीचन्द्र आचार्यले सुरुमा वडा नं. ८ अगाडि थियो, अहिले ५ ले धेरै काम गरेको भए पनि उनीहरूको काममा प्रतिस्पर्धा रहेको बताए ।
वैत्यश्वर ५ मैनापोखरी बजार क्षेत्र पर्छ । बजार क्षेत्र सबैले देख्ने र मूल्यांकन गर्ने ठाउँ पनि भएकाले यहाँ आफूले त्यहीअनुसार काम गरेको वडाअध्यक्ष बस्नेतले बताए । विगतमा कर्मचारीको भर सर्वदलीय प्रणाली भए तापनि धेरै चासो नभएकाले काममा ढिला भएको हुनसक्ने उनले बताए ।
दोलखामा वैत्यश्वर र विगू गाउँपालिकाले समयमै कार्यपालिकाबाट बजेट पास गरेर वडा वडामा योजनाको अख्तियारी दिएकाले पनि काम छिटो भएको हुन सक्ने उनीहरूको भनाइ छ । वैत्यश्वरमा जस्तै विगू गाउँपालिकाको पनि वडा नं. १, ३, ४ लगायतका वडामा चालू आवको पुँजीगत बजेट धेरै खर्च भइसकेको छ ।
वैत्यश्वरका दुई वडामा योजनाका खर्च बढी भए तापनि वडा कार्यालय भवन बनाउने काम भने जग्गा व्यवस्थापनलगायतका समस्याले ढिला हुने वडाअध्यक्षहरूले स्वीकार गरे । चालू आवमा कोष तथा लेखा नियन्त्रण कार्यालयले पनि साउनको पहिलो साताभित्रै गाउँपालिकाको खातामा पहिलो किस्ता निकासा गरेको थियो ।

दिलहादुर केसी

प्रतिक्रिया दिनुहोस्