बालुवा झिक्न होडबाजी

धादिङ-धादिङ र नुवाकोट जिल्लाको सिमाना भएर बग्ने कोल्पु खोलाको किनारमा अहिले बालुवा निकाल्नेको होडबाजी चलेको छ । काठमाडौँको रानीवनबाट उत्पत्ति भएको कोल्पु खोला धादिङको धुनिबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका र नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिकाको सिमाना हुँदै त्रिशूलीमा मिसिन्छ । आफ्नो जीविकोर्पाजनका लागि बालुवा निकाल्नेको कोल्पु खोलामा होडबाजी नै चलेको छ ।
ककनीदेखि कोल्पुटार (त्रिशूली दोभानसम्म) खोला किनारका विभिन्न स्थानमा धार्मिक मेला महत्वपूर्ण उत्सवको जस्तो झल्को दिने गरी समूहसमूहमा विभाजित भई मजदुरहरूले बालुवा निकालिरहेका छन् । ढोका भन्ज्याङ, रातेटार, धुर्पुल, मरणघाट, बाह्रबिसे, कात्तिके, ठूलोबगर, कोल्पुटारसहित आसपासका सहायक खोलामा सयौँको संख्यामा स्थानीय तथा बाहिरी मजदुरले बालुवा निकालिरहेका छन् ।
कोल्पु खोलामा मिसिने चाउथे, कुमरी, झ्याङ्ली, चरगेंलगायत सहायक खोला बालुवाको मुख्य स्रोत हुन् । ति खोलाबाट पानीसँगै बगेका बालुवा कोल्पुमा मिसिन्छ । बालुवा निकालेर दैनिक एक हजार पाँच सयको हाराहारीमा आम्दानी हुने भएपछि टाढा टाढाबाट मजदुरी गर्न आउनेको धुइरो लागेको छ । यता खोला आसपासमा जग्गा भएका सँधियार मिली आफैँ मजदुरलाई काम गर्न दिने र बालुवा थुपार्ने स्थान भाडामा दिने गरेका छन् । कयौले स्थानीय मजदुरको प्रयोग गरी बालुवा झिकिरहेका छन् भने नसक्नेले बाहिरी जिल्ला सल्यान, जाजरकोट, बर्दिया, काभे्र, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आएका मजदुरलाई प्रयोग गरी बालुवा झिक्न लगाएका छन् ।
केहि वर्षअघि बालुवाका लागि चहलपहल नै नहुने कोल्पुखोलामा २०७२ सालको भूकम्पपछि भने उक्त खोलाको बालुवाले प्राथमिकता पाएको छ । गत वर्षमा जबरजस्ती रूपमा जेसीभी, एक्साभेटरलगायतका मेसिन प्रयोग गरी बालुवा निकालिँदै आएकोमा धादिङ र नुवाकोट जिल्ला प्रशासनले मेसिनरी औजार प्रयोग गरी बालुवा निकाल्न प्रतिबन्ध लगाएपछि हाते औजार प्रयोग गरी मजदुरले बालुवा निकाल्ने गरेका छन् । अहिले मजदुरले एक आईचर गाडी बालुवा निकालेवापत ३ हजार पाँच सय रुपैयाँ लिने गर्छन् । तर मजदुरले पर्याप्त ज्याला नपाएको बताउँछन् ।
त्रिशूली नदीको विभिन्न स्थानमा हजारांै मजदुरले ज्यानको बाजी राखेर भेलपानीमा डुबुल्की मारेर बालुवा निकाली रहेका छन् । जिल्ला प्रशासनको पहलमा प्रतिटिपर ९ हजार मजदुरले पाउने गरी बाह्र हजारमा भ्याट बिल काट्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए ।
त्रिशूलीको भेलबाट मजदुरले ज्यानको बाजी लगाएर बालुवा निकालेका छन् । तर उनीहरूले पानीबाट ब्च्न सुरक्षाको कवज अपनाएका छैनन् । सुरक्षा कवजसम्ब्न्धी सचेतना मजदुरलाई दिन वा बिमा गर्न आवश्यक भएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए ।