‘पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न आग्रह’ «

‘पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न आग्रह’

पोखरा-गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मन्त्रालयले ३ अर्बसम्म लगानी गर्न तयार रहेको बताएका छन् ।
ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको १२ औं अधिवेशन एवं २१ औं वार्षिक साधारणसभाको बिहीबार पोखरामा उद्घाटन गर्दै मन्त्री लम्सालले आफ्नो मन्त्रालयमा ३ अर्ब १० करोडको बजेट भएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन गर्न स्पष्ट नीतिसहित निजी क्षेत्रले सहकार्य गर्न आए उक्त बजेट पर्यटन प्रवद्र्धनमा खर्च गर्ने बताएका हुन् ।
उनले भने, “गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्र भिजनसहित, धेरैलाई रोजगारी दिने बृहत् योजनासहित आएको खण्डमा पर्यटन प्रवद्र्धन हुने कुनै पनि प्रोडक्टमा हामीले पनि आवश्यक सहयोग गर्छौं, हामीसँग बजेटको अभाव छैन ।” आउँदो असोज महिनाभित्र यस प्रदेशका पर्यटकीय गन्तव्य सहितको यहाँका प्राकृतिक तथा सांस्कृतिक महत्व रहेका विषय वस्तुहरूको खोजीनिति गरी संकलन गर्ने भएको मन्त्री लम्सालले बताए ।
उनले भने, “कसरी यस प्रदेशमा चाइनिज र भारतीय पर्यटहरूलाई हामीले पोखरा भिœयाउन सकिन्छ त्यसको बारेमा हामीले अध्ययन गर्दै छौ, २० करोड चाइनिज पर्यटन भ्रमणमा निस्कने गरेका छन् भने भारतीय करिब ५ करोड विदेश भ्रमणमा निस्कँदै गर्दा ती पर्यटकहरूलाई हामीले किन विश्वकै उत्कृष्ट मध्यको एक पोखरामा नल्याउने, यसतर्फ प्रदेश सरकार गम्भीर भएको छ ।”
प्रदेश सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखी रहँदा अब पोखरा मात्र केन्द्रित हुने गरी पर्यटन प्रवद्र्धन गरेर नहुने बताउँदै मन्त्री लम्सालले बृहत् पोखराको अवधारणा पोखरा वरिपरि क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे । पोखरामा नेचर र कल्चरको सम्भावना उत्तिकै भएकोले आएका पाहुनाहरूलाई पोखरा क्षेत्रको बसाई लम्बाउने गरी पर्यटनका विभिन्न गतिविधि गर्नुपर्ने मन्त्री लम्सालले बताए । पोखराका हस्पिटलहरूले आवश्यक सेवा दिन नसकेको गुनासो गर्दै मन्त्री लम्सालले अब हरेक क्षेत्रलाई आफ्नो उद्धेश्य अनुरुप काम नगर्ने उपर कारबाही गर्ने मन्त्री लम्सालले चेतावनी दिए ।
पोखरा क्षेत्रमा ५५ भन्दा बढी सहासिक पर्यटनका गन्तव्य रहेको उनले दाबी गरे ।

गण्डकी प्रदशेका सांसद विन्दुकुमार थापाले पोखरा महानगरपालिकाले जनताको ढाँड सेक्ने गरी एकिकृत सम्पत्ति करको दर वृद्धि गरेर आरोप लगाए । मालपोत कार्यालयले घर जग्गाको मूल्यांकन वृद्धि गर्दैमा महानगरपालिकाले त्यसको आधारमा करमा वृद्धि गर्न नहुने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पदमार्गको खोजी गर्नुपर्नेमा जोड दिँदै केही व्यवसायीहरूले अझै पनि कर छली गरेको आरोप लगाए ।
टेसा पोखराका अध्यक्ष नारायाण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेश भट्टराई, पोखरा उद्योग वाणिज्य संघ उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, टेसाका उपाध्यक्ष नारायण सापकोटा, सचिव प्रमोद भण्डारीलगायतले बोलेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्