अन्तर्राष्ट्रिय कला सम्मेलन सुरु «

अन्तर्राष्ट्रिय कला सम्मेलन सुरु

विश्व कलापरिषद् एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरे । सम्मेलनमा मुख्यमन्त्री पौडेलले नेपालमा निर्यातको सबैभन्दा बढी सम्भावना हस्ताकलाको रहेकाले निर्यात अझ बढाउनुपर्ने बताए ।
हस्तकलाको विकास र प्रवद्र्धनमा सरकारको ठूलो लगानीको जरुरी रहेको नेपाली व्यवसायीहरुको भनाइ छ । सम्मेलनमा विभिन्न देशका कला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी गरिएको छ । बिहीबार कला विषयक गोष्ठी सम्पन्न भएका छन् । सम्मेलनमा सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण, सांस्कृतिक नगरी घोषणा गरिनेछ । नेपालले ललितपुर महानगरपालिकालाई सांस्कृतिक कला नगरी घोषणा गर्ने भएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी कला, सिल्प तथा प्रविधिको अदान प्रदान भएको र नेपाली हस्तकलाको प्रचारप्रसार, पर्यटकीय स्थलको प्रवद्र्धन, विभिन्न देशका कलाकारको हस्तकलाको प्रदर्शनी भएको नेपाल हस्तकला महासंघका अध्यक्ष एवं विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रका उपाध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी दुई दर्जन हस्तकलाको स्टल राखिएको छ । नेपाल, भारत, चीन, कुवेत, ओमन, काजकिस्तान, इरान, मलेसिया, श्रीलंका, इन्डोनेसिया, थाइल्याण्डलगायतका देशले आ–आफ्ना हस्तकलाका उत्पादनको स्टलमा राखेका छन् । हस्तकला महासंघले आयोजना गरेको सम्मेलनमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतको उपस्थिति थियो । सम्मेलनमा विभिन्न ४५ देशका एक सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलन दुई दिनसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्