सम्बन्ध विच्छेद गर्न अदालत धाउँदै पत्नीपीडित पुरुष «

सम्बन्ध विच्छेद गर्न अदालत धाउँदै पत्नीपीडित पुरुष

पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै सम्बन्ध विच्छेदको लागि पुरुषले पनि धमाधम सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न थालेका छन् । भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी देवानी (संहिता) ऐन अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने कानुनी प्रावधान लागू भएसँगै पुरुष पनि सम्बन्ध विच्छेदका लागि अदालत धाउन थालेका छन् ।
ऐन लागू भएको ११ दिनमै जिल्ला अदालत मकवानपुरमा ११ जनाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका छन् । ११ मुद्दामध्ये ७ वटा सम्बन्ध विच्छेदको मुद्दा त पुरुषले नै गराएको तथ्याङ्कले देखाएको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ लागू भएको ११ दिनमा जम्मा ३४ वटा मुद्दा दर्ता भएकोमा ११ वटा मुद्दा सम्बन्ध विच्छेदको रहेको जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार निलहरि ढुङ्गेलले जानकारी दिए । पछिल्लो समय मकवानपुरमा सम्बन्ध विच्छेदका घटना निकै बढेको छ । पतिले पत्नीको दोष देखाएर र पत्नीले पत्नीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्ध विच्छेद चाहनेको संख्यामा वर्षेनि बढ्दै गएको अदालतको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष ०७५-०७६ को साउनदेखि सोमबारसम्म मात्र अदालतमा ५२ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भइसकेका छन् । साउन महिनामा ४१ वटा र भदौको ११ गतेसम्ममा ११ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार ढुङ्गेलले जानकारी दिए । जिल्ला अदालत मकवानपुरको तथ्याङ्कलाई केलाउँदा दुईवर्षको अवधिमा ६ सय ९६ जोडीको सम्बन्ध विच्छेद भइसकेको छ । आफूलाई बेवास्ता गरेको, खान लगाउन पनि नदिएको, अनावश्यक शंका गरेको जस्ता कारण देखाएर महिलाहरु पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेको भन्दै मुद्दा दर्ता गर्न आउने गरेको निमित्त श्रेस्तेदार ढुङ्गेलले बताए । भदौ १ गतेबाट पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएसँगै पुरुषले पनि विभिन्न कारण देखाएर पत्नीसँग छुट्टिन चाहेको भन्दै अदालत धाउने गरेका छन् । आफू विदेशबाट फर्किदा श्रीमतीले आफ्नो पैसा सबै सकेको भन्दै सम्बन्ध विच्छेद गर्न अदालतमा आउन थालेको अदालतका निमित्त श्रेस्तेदार ढुंगेलले बताए । 
पुरुषले यसअघि सोझै अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न पाउँदैनथे । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा त्यहाँको सिफारिश सहित अदालतमा मुद्दा दर्ता गर्न आउनुपर्ने व्यवस्था रहेको छ । निमित्त श्रेस्तेदार ढुंगेलका अनुसार गत आर्थिक वर्ष २०७४-७५ मा ४ सय १३ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका भएका थिए । पत्नीसँग सम्बन्ध बिच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोेक्ने व्यवस्था रहेको छ । सम्बन्ध बिच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउने प्रयास गर्ने र एकवर्षसम्म पनि मिल्न नसके अदालतले सम्बन्ध विच्छेद भएको फैसला गरिदिन्छ ।
“मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले फैसला गर्छ,” निमित्त श्रेस्तेदार ढुङ्गेलले भने । आर्थिक वर्ष ०७३-०७४ मा जम्मा १ हजार ४ सय ७७ वटा मुद्वा दर्ता भएकोमा २ सय ९९ वटा मुद्दा सम्बन्ध बिच्छेदको लागी परेका थिए । त्यसको तुलनामा गत वर्ष मुद्दाको संख्या झनै बढेको पाइएको छ । आब २०७४-०७५ मा दर्ता भएका १ हजार ९ सय ७४ वटा जम्मा मद्दा मध्ये ४ सय १३ वटा मुद्दा सम्बन्ध बिच्छेदको रहेको छ । जसमध्ये २ सय ९१ वटा मुद्दा फछ्र्योसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्