भुक्तानी सेवा प्रदायकले वित्तीय विवरण स्वीकृत गर्नुपर्ने

अनुमति प्राप्त संस्थाले प्रचलनमा रहेका लेखामान तथा लेखापरीक्षण तालिकाहरूको प्रयोग गरी लेखा परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाले वित्तीय विवरण सार्वजनिक गर्नुअघि केन्द्रीय बैंकको स्वीकृति अनिवार्य भएको छ ।
भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा संस्थाको सञ्चालक समितिबाट वार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी त्यसको जानकारी अनिवार्य रूपमा केन्द्रीय बैंकलाई दिनुपर्ने व्यवस्था भएको छ । बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा संस्थाले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई आर्थिक वर्षको रूपमा मान्नुपर्ने व्यवस्था गरेको हो । तर, संस्था स्थापना भएको पहिलो वर्ष स्थापना मितिदेखि असार मसान्तसम्मको अवधिलाई आर्थिक वर्षको रूपमा मान्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।
अनुमति प्राप्त संस्थाले प्रचलनमा रहेका लेखामान तथा लेखापरीक्षण तालिकाहरूको प्रयोग गरी लेखा परीक्षण गराउनुपर्ने व्यवस्था गरेको हो । अनुमतिपत्र प्राप्त संस्थाले आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्रमा लेखापरीक्षण सम्पन्न गर्नुपर्नेछ । सो लेखा परीक्षण प्रतिवेदन सञ्चालक समितिबाट पारित गराइ एक महिनाभित्रमा केन्द्रीय बैंकमा बुझाउनुपर्ने व्यवस्था गरेको हो । संस्थाको लेखापरीक्षण गर्दा आर्थिक विवरणको अतिरिक्त संस्थागत सुशासनसम्बन्धी नीतिगत व्यवस्थाहरू, प्रमुख जोखिम पहिचान तथा त्यसको न्यूनीकरण गर्न गरिएका व्यवस्थाहरू र लेखा नीतिहरूको समेत विश्लेषण गरी पेश गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
संस्थामा परिपालना विभाग गठन गरी संस्थाको प्रबन्धपत्र नियमावली केन्द्रीय बैंकबाट जारी गरिएका निर्देश्न, परिपत्र, सूचना, आदेशहरूको परिपालना एवम् संस्थाले पारित गरी लागू गरेका नियम, नीति, मार्गदर्शन तथा आर्थिक कारोबारहरूको निरन्तर रूपमा परीक्षण गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
संस्थाको आन्तरिक लेखा परीक्षण विभागबाट प्रत्येक अर्धबार्षिकरूपमा वित्तीय विवरणको परीक्षण गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुपर्छ । संस्थाहरूले सार्वजनिक गर्नु पूर्व नाफा नोक्सान विवरण तथा बासलात लेखापरीगण प्रतिवेदन र सञ्चालक समितिको प्रतिक्रिया, संस्थाको वार्षिक आर्थिक करोबार गतिविधि समावेश भएको संक्षिप्त विवरण, नगद प्रवाह विवरण र प्रत्येक आर्थिक वर्षको असार मसान्तको दिन संस्थामा देखिएको मौज्दात र बैंकको सेटलमेन्ट खातामा रहेको मौज्दात विवरण केन्द्रीय बैंकमार्फत स्वीकृत गराउनुपर्छ ।