मंसिरदेखि मुग्लिनको आर्क ब्रिज सञ्चालनमा आउने «

मंसिरदेखि मुग्लिनको आर्क ब्रिज सञ्चालनमा आउने

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ प्रवेश गर्ने मुख्य नाका मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज मंसिरदेखि सञ्चालनमा आउने भएको छ ।
निर्माण कम्पनीले आगामी मंसिरसम्म पुलको सम्पूर्ण कार्य पूरा हुने बताएको छ । मुग्लिङ र तनहुँ जोड्ने त्रिशुली नदीमा निर्माणाधीन आर्क आरसीसी मोटरेबल पुलको निर्माण कार्य पूरा भएपछि दुईतर्फी सवारी आवागमन सहज हुनेछ ।
तनहुँको बेनीटार र चितवनको मुग्लिन बजार जोड्ने आर्क ब्रिजमा हाल बिम र पिल्लर ढलानको काम भइरहेको आयोजनाका इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । इन्जिनियर सुवेदीका अनुसार आर्कको काम भदौसम्ममा सकिने गरि काम भईरहेको छ । आर्कको काम पूरा भएपछि स्ल्याबको ढलान सुरु हुने उनले जानकारी दिए ।
असार मसान्तसम्ममा पुल सक्ने लक्ष्य राखिए पनि नदीको बहाब बढेको, ठाउँ संवेदनशील र अग्लो जस्ता भौगोलिक कठिनाइ, नारायणगढ मुग्लिन सडक अवरुद्धका कारण समयमै सामान ल्याउन नसक्दा निर्धारित समयमा काम पूरा गर्न नसकिएको इन्जिनियर सुवेदीको भनाई छ । भरतपुरबाट समान ल्याउनुपर्ने तर पटक–पटक मुग्लिन–नारायणगढ खण्ड अवरुद्ध हुँदा पुल निर्माणमा ढिलाई भएको उनले जानकारी दिए ।
विश्व बैंकको १२ करोड रुपैयाँको लागतमा निर्माणधीन पुलको अनुगमन सडक विभाग, पुल महाशाखा काठमाडौं अन्तर्गत सेक्टर नम्बर–२ ले गरिरहेको छ । १ सय ६० मिटर लामो उक्त पुल ११ मिटर चौडाको हुनेछ । गोलो आर्क टाइपको यस्तो पुल नेपालको पहाडी मुलुकहरुमा अत्याधिक सुहाउँदो भएको इन्जिनियर सुवेदीले बताए ।
मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि गत वर्षको असोज मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ नयाँ पुल निर्माण थालनी गरिएको थियो । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइन भन्दा फरक भएको निमार्णकर्ताको दाबी छ ।

दमौली, १४ भदौ

प्रतिक्रिया दिनुहोस्