सडकको पहिरोले विद्यालय जोखिममा «

सडकको पहिरोले विद्यालय जोखिममा

ओखलढुंगा-सडक निर्माण गर्दा झरेको पहिरोले यहाँको लिखु गाउँपालिका–३ नर्मदेश्वरमा रहेको भीमसेनस्थान माध्यमिक विद्यालय जोखिममा परेको छ । विद्यालयमुनिबाट खनिएको सडकका कारण झरेको पहिरोले पठनपाठन समेत प्रभावित बनेको छ ।
करिब ८ महिनाअघि निर्माण गरिएको सडकमा हालैको अविरल वर्षापश्चात् पहिरो झरेको थियो । पहिरो झरेपछि सडकमाथि रहेको उक्त विद्यालयको २ वटा ब्लकको ४ वटा कोठा जोखिममा परेको छ । प्राविधिक पक्षलाई ध्यान नदिई डोजर लगाएर सडक निर्माण गरिँदा विद्यालय जोखिममा परेको स्थानीयको आरोप छ ।
विद्यालय परिसरमा पहिरो जाँदा उक्त विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । पठनपाठन सञ्चालन गरिँदै आएका ब्लक जोखिममा परेपछि विद्यालयमा कक्षाकोठाको अभाव भएको छ । कक्षाकोठा अभाव भएका कारण २ वटा कोठामा भने जोखिम मोल्दै पढाइ सञ्चालन गर्नु परिरहेको प्रधानाध्यापक श्रीराम श्रेष्ठले जानकारी दिए ।
पहिरोले जोखिम बढाएपछि विद्यालयले प्राथमिक तहका २ वटा कक्षाका विद्यार्थीलाई अन्य सुरक्षित कक्षाकोठामा व्यवस्थापन गरेको छ । “ठूला कक्षाका विद्यार्थीहरू अलि बुझ्ने र सतर्क रहन सक्ने भएकोले जोखिम मोलेरै भए पनि पहिरो जोखिम कक्षाकोठामै जसोतसो पठनपाठन गराई रहेका छौं,” प्रधानाध्यापक श्रेष्ठले भने, “कक्षाकोठा अभावका कारण हामीमा यसको विकल्प छैन ।”
भूकम्पले पूर्ण क्षति पुराएको उक्त विद्यालयका जोखिममा परेका २ वटै ब्लकलाई गत आर्थिक वर्षमा १४ लाख लगानीमा मर्मत गरिएको थियो । कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा हाल करिब २१३ जना विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्