बाढीले बस्ती जोखिममा «

बाढीले बस्ती जोखिममा

इलाम-विधुवा खोलाले बस्ती कटान गर्दा इलामको चुलाचुली गाँउपालिका–४ पेल्टीमारीको सिंगो बस्ती नै जोखिममा परेको छ । खोलाले धार परिवर्तन गरी कटान सुरु गरेपछि मानव बस्ती नै जोखिममा पर्दै गएको हो ।
केही वर्षयता विधुवा खोलाले धार परिवर्तन गरेपछि बस्ती आसपासको जमिन कटान गर्दै आइरहेको छ भने खेतीयोग्य जमिन नै काटिँदै गएको छ । विधुवा खोलाले वर्षायाममा कटान तीव्र पार्न थालेपछि स्थानीय निकै चिन्तित बनेका छन् । बर्सेनि खोलामा आउने बाढीको कटानले केहीको घर र जमिनसमेत पूर्णरूपमा कटान गरेपछि सुकुम्वासी बन्नुपरेको उनीहरूले गुनासो गरेका छन् ।
विभिन्न निकायको सहयोगमा नदी नियन्त्रणको प्रयास पनि नभएको होइन । गत सालमात्र खोला नियन्त्रणका लागि १० लाख रुपैयाँ खर्चिएर तारजाली निर्माण गरिएको भए पनि तारजाली खोलाले बगाइदिएको स्थानीय मनिराम राईले बताए ।
खोला नियन्त्रणको पहल भइरहेको भए पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको वडा नम्बर ४ का अध्यक्ष कालिदास भट्टराई बताउँछन् । कटान नियन्त्रणका लागि स्थानीय सरकारले आफ्नो प्रयास जारी राखेको भए पनि स्थानीय सरकारको पहलले मात्र समस्या समाधान नहुने अध्यक्ष भट्टराइको भनाइ छ ।
यसको दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको समेत सहयोग आवश्यक रहेको गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहालले बताइन् । दर्बिलो तटबन्धका लागि स्थानीय सरकारले प्रदेश सरकारसँग समन्वय गरिरहेकोे उनले बताए ।
प्रत्येक वर्ष वर्षाको समयमा यस क्षेत्रका नागरिक त्रासदी पूर्ण जीवन बिताउन बाध्य छन् । कतिपय त सुकुम्वासी नै बनिसकेका छन् । सानोतिनो रकमले यहाँको काम सम्पन्न नहुने स्थानीय सरकारको भनाइ छ । स्थानीयले कतिबेला खोलाले जमिन कटान गरेर भाग्नु पर्छ भनेर डरले जीवन यापन गरिरहनु परेको उनीहरूको भनाइ छ । वर्षैपिच्छेको कटानले आजित यहाँका बासिन्दाले सम्बन्धित निकायसँग दीर्घकालीन समाधानका लागि प्रयास गरिदिन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्