Logo

हुम्लामा साउने पूर्णिमाको रौनक

हुम्ला-जनै पूर्णिमा अर्थात् हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा हुम्लाका विभिन्न शक्तिपिठमा धुमधामको साथ मनाइएको छ । धर्मले हिन्दू मान्ने भएता पनि यहाँका बासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाइएको छ ।
हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्यको लागि कहलिएको यो पर्वमा युवा युवतीको लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडको रूपमा यो पर्व चिनिने गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकामा अझ यो पर्व बढी धुमधामको रुपमा मान्ने चलन रहेको छ । जिल्लाका अन्य तिर्थस्थलमा भने चतुर्थी र पूर्णिमाको दिनमा मात्र मनाउने यो पर्व भने सिमकोटमा त्रियादशीको दिनदेखि १ हप्तासम्म धुमधामले मनाउने चलन रहेको छ ।
नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ । जिल्लाका ७ वटा नै स्थानीय तह गाउँपालिकाबाट सिमकोटमा मेला भर्नेको हजारौं संख्यामा उपस्थिति रहने गरेको छ । दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाई पूजाआजा गर्ने र अपरान्हतिर सिमकोटका विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको पाइएको छ ।
स्थानीय युवा क्लवले मेलालाई व्यवस्थित गर्नको लागि जुस, पानी, प्राथमिक उपचार र प्रसाद वितरण गर्नको लागि स्वयंसेवक पनि परिचालन गर्ने गरेको छ भने साँझ पखबाट युवायुवतीले देउडा गीत खेलेर आफ्ना मनका बह र माया पिरती साट्ने गर्दछन् ।
देउडा खेल्दा खेल्दै गितको माध्यमबाट मायाको भाव गितबाट नै व्यक्त गरी कति युवा विवाहको बन्धनमा पनि बाँधिने गरेका छन् । यो पर्वमा कोही कसैले विवाह गर्न चाहेका युवा र युवतीले दिन, बार नै नहेर्नु पर्ने किन्वदन्ती समेत रहेको छ । हिन्दूको चाड भएको भए पनि यो पर्व मनाउनको लागि बौद्ध धर्मावलम्वीले पनि सौहाद्रता स्वरुप यो पर्वमा समर्थन गर्ने गर्दछन् । अपरान्हतिरको देउडा गित खेलेर अनि हिन्दूको घरमा निम्तो स्वीकारेर यो पर्वमा बौद्ध धर्मावलम्बीले पनि सहयोग गर्ने गरेका छन् । शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नको लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउने लगायतका अद्भूत कार्य समेत देखाउने प्रचलन रहेको छ ।
स्थानीय तहले पनि हाल यस्ता खालका मन्दिरको संरक्षणको लागि राम्रै बजेट छुट्याउने गरेका छन् । मन्दिरको जिर्णोद्धार अनि मर्मत सम्भारको लागि स्थानीय तहले त्यस्ता उपभोक्ताको लागि बजेट उपलब्ध गराउने गरेको छ । विशेष गरी आन्तरिक र बाह्य पर्यटकको लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाइएको छ । स्थानीय पसलमा पनि लाखौंको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्यका सामान र बन्दोबस्तीका सामान यो समयमा निक्कै बिक्री हुने गरेको छ ।
स्थानीय व्यापारीलाई सामान बेचविखनको लागि भ्याईनभ्याई नै हुने गरेको छ । वर्षमा दशैं र तिहारमा देशका अन्य भागमा व्यापारिक चहल पहल निक्कै बढ्ने गरेको भएता पनि हुम्लामा भने साउने पूर्णिमा मेलामा व्यापारिक चहलपहल हुने गरेको छ । यहि मौका पारेर स्थानीय व्यापारीले नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गरेर हवाई जहाजको बुक गर्ने गरेका छन् । यो मेलामा सुनका गरगहना देखी लिएर कपडा सम्मको करोडौंको व्यापार व्यवसाय हुने गरेको छ ।
यो पर्वलाई अझ व्यवस्थित गर्न सकेमा र प्रचार प्रसार गर्न सकेमा हुम्लामा आन्तरिक र बाह्य पर्यटनको राम्रो प्रवद्र्धन हुन सक्ने सम्भावना रहेको छ । विगतका वर्षमा सिमकोटमा देउडा खेल खेल्नको लागि थुप्रै सार्वजनिक स्थल हुँदा देउडा पारखीको लागि भने यो पर्व विशेष हुने गरेको थियो । सार्वजनिक स्थानमा सरकारी घर र अन्य स्थानमा निजी घर बन्दा हाल देउडा खेल खेल्नको लागि पनि समस्या हुने गरेको छ । विगतका वर्षमा विमानस्थल घेरबार नहुने बेलामा विमानस्थल भरी पचासौं देउडा खेल रातभर खेल्ने प्रचलन रहेको थियो । गत केही वर्षमा भने योे पर्वमा देउडा खेल्नको लाग बजारको चोक र गल्लीका साँघुरा स्थानमा खेल्ने गरेको पाईएको छ । पूर्णिमाको दिनमा नजिकै रहेका शिवको मन्दिरमा गई स्थानीय ब्राम्हणबाट जनै र रक्षावन्धन बाँध्ने समेत प्रचलन रहेको छ ।
हाल शहरी क्षेत्रमा गएका युवाको सिकाई र जिल्ला भन्दा बाहिरबाट हुम्ला आएका दर्शनार्थीले यो प्रचलन ल्याएको भएता पनि विगतका वर्षमा यो चलन रहेको थिएन । यो पर्वलाई अदानचुली गाउँपालिकाको खौला मन्दिर, सर्केगाड गाउँपालिकाको रोडिकोट र राहदेवको महादेवको मन्दिर, सिमकोटको मुग्राधारा मन्दिर र दक्षिणमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयको विद्यालय आँगनमा रहेको मन्दिरमा, अन्य गाउँका सबैजसो शक्तिपिठमा धुमधामको साथमा मनाउने प्रचलन रहेको छ । यस वर्ष अत्याधक वर्षाको कारण केही समस्या भएको भएता पनि छाता र रेन कोट ओढेर भए पनि भक्तजन तिर्थस्थलमा जाने गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्