Logo

भारतीय रुपैयाँ अहिलेसम्मकै न्यून

नयाँ दिल्ली-बिहीबार बिहान अमेरिकी डलरसँगको भारतीय रुपैयाँको विनिमय दर हाल सम्मकै न्यून कायम भएको छ । यो वर्षभरीनै भारतीय रुपैयाँको विनिमर दर ओरालो लाग्दै आएको छ । तेलको मूल्यमा भएको वृद्धि, उदीयमान बजारप्रतिको बृहत चासो र महिनाको अन्त्यमा डलरको मागमा वृद्धि भएकाले रुपैयाँको विनिमय दर ओरालो लागेको अर्थशास्त्रीहरुले बताएका छन् ।

अघिल्लो दिन ७०.४७५ कायम भएको रुपैयाँ आज बिहीबार ७०.८१०० कायम भएको छ । यो सहित यो वर्षको सुरुवातदेखि आजका दिन सम्म भारतीय रुपैयाँको विनिमय दरमा १०.९७ प्रतिशतको अवमूल्यन भइसकेको छ ।

“उदीयमान बजारप्रतिको बढ्दो लगानी चासोका साथसाथै फराकिलो बन्दै गएको चालू खाता घाटाले रुपैयाँ कमजोर भएको हो । उच्च तेल मूल्यका कारण पनि भारतको चालू खाता घाटामा वृद्धि भएको हो,” डच बैंक वेल्थ म्यानेजमेनटले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
महँगो तेलले भारतको आयात मूल्यमा पनि वृद्धि भएको छ । भारतले आफ्नो आवश्यकताको ठूलो परिमाणमा तेलको आयात गर्दै आएको छ । उच्च तेल मूल्यले चालू खाता घाटामा पनि वृद्धि भइरहेको छ ।

मध्ये अगस्टदेखि तेलको मूल्यमा ७ प्रतिशत भन्दाको बढी वृद्धि भइसकेको डच बैंकका अर्थशास्त्री राधिका राओले बताइन् ।
“अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यो वर्षको बाँकि अवधि र आगामी वर्षमा क्रमिक रुपमा नीतिगत दरलाई कडाइ गर्दै लैजाने अपेक्षा, अझै जिउका तिउ रहेको व्यापार युद्धको त्रास र स्वदेशमा अमेरिकी डलरको मागमा भएको वृद्धि यसमा भूमिका निर्वाहा गरेको छ,” उनको भनाई थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्