बिमा व्यवसाय विस्तार हुँदै «

बिमा व्यवसाय विस्तार हुँदै

पाँचथर-पूर्वी पहाडी जिल्ला पाँचथरमा बिमा कम्पनीहरूले सेवा विस्तार गर्दै गएका छन् । सानो जिल्ला भए पनि पाँचथरमा नेपाल लाइफ, एसियन लाइफ, प्राइम, नेसनल, गुराँस, युनियन, प्रभु, ज्योति र ४ वटा निर्जीवन बिमा कम्पनीले सेवा दिइरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पदम रिजालले जानकारी दिए । विभिन्न बिमा कम्पनीका करिब ३ हजार अभिकर्ता रहेको रिजालले बताए । नेपाल लाइफ इन्सोरेन्स कम्पनीका मात्रै जिल्लामा १६ सय अभिकर्ता छन् । अभिकांश अभिकर्ता भने निस्क्रिय छन् ।
पछिल्लो समय बिमा कम्पनीको संख्या वृद्धि भएपछि अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको छ । पुराना बिमा कम्पनीलाई चुनौती दिन नयाँनयाँ बिमा कम्पनीले नयाँ–नयाँ विज्ञापन गर्दा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको हो । बजार र टोल टोलमा बिभिन्न बिमा कम्पनीका अभिकर्ता पुगेर बिमा गराउने क्रम सुरु भएको छ । अझ नयाँ पुस्ताका र युवा अभिकर्ताले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, भाइबर र इमोलगायतका प्रविधिको प्रयोग गरेर बिमाबारे नागरिकलाई जानकारी दिने गरेका छन् ।
जिल्लामा बिमा कम्पनीहरूले सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै व्यवसाय गरिरहेका छन् । विपन्न परिवारलाई सहयोग, विभिन्न प्रकोपमा राहत वितरणका काममा पनि बिमा कम्पनीहरू सक्रिय रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पदम रिजालले जानकारी दिए ।
बिमा कम्पनीको वृद्धिसँगै बिमासम्बन्धी जनचेतामा वृद्धि हुँदै गएको छ । पाँचथरमा अहिले पनि करिब ३ हजारको हाराहारीमा बिमासम्बन्धी दक्ष जनशक्ति रहेको रिजालले जानकारी दिए । पाँचथरका आठ स्थानीय तहका ६० वटा वडामा बिमा कम्पनीका अभिकर्ता रहेको र सबै क्षेत्रमा बिमा कम्पनीको सेवा विस्तार भएको उनले बताए ।

दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्