नेकपामा चुलियो विवाद, एकीकरण भइनसक्दै आन्तरिक द्वन्द्व

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपामा तीन महिनामै आन्तरिक कलह चुलिएको छ ।
केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीको नामवली प्रति नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानन्तर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ ।
नेपाल समूहले प्रदेश ५ लगायतका स्थानमा तत्कालीन एमालेको तर्फबाट गरिएको अध्यक्ष र सचिवको सिफारिस नसच्याइए समानान्तर कमिटी बनाउने चेतावनी दिएको छ । ५ नम्बर प्रदेशका १२ जिल्लामध्ये तत्कालीन एमालेले ७ जिल्लाको अध्यक्ष र ५ जिल्लाको सचिव पाएकोमा एकजना पनि आफ्नो पक्षको नपरेको नेपाल पक्षको भनाइ छ । यसबारेमा नेपाल पक्षका नेताहरुले सार्वजनिक रुपमा असन्तुष्टि राख्दै आएका छन् ।
उनीहरुले सिफारिस भएका नामका बारेमा स्थायी कमिटीले सच्याउने वा मापदण्ड बनाउनु पर्ने नेपाल पक्षको धारणा छ । त्यसो नगरिए पाटीभित्र ठूलो सङ्गठनात्मक अराजकता र द्वन्द्वको अवस्था आउन सक्ने र त्यसो हुन नदिन आफूहरुको प्रयास रहने नेता योगेश भट्टराई बताउँछन् । नेपाल पक्षका नेताहरुले जिल्ला अध्यक्ष र सचिवको सिफारिसमा प्रतिसोध र निषेधको झल्को आएको बताइरहेका छन् । तल्लो तहको एकीकरणको मौका पारेर पार्टी भित्र कतै फेरि काखापाखा र निषेध गर्ने मनोवृत्तिले प्रश्रय पाउने हो की भन्ने आशंका भट्टराईको छ । स्रोतका अनुसार अन्याय भयो भन्दै जिल्ला जिल्लाका नेताहरू राजधानीमा नेताका घर र पार्टी कार्यालयमा धाइरहेका छन् ।
पार्टीमा ओली पक्षले पेलेको गुनासो बढीरहँदा विहिबार नेपाललाई उनी निकट नेताहरुले भेटेका छन् । विदेश भ्रमणमा निस्कन लागेका नेता नेपाललाई यस्तो अवस्थामा भ्रमणमा नजान उनीहरुले आग्रह गरेको बताइएको छ । तर, नेपालले भने आफू नआई एकता प्रक्रिया टुंगोमा नपुग्ने र अमेरिका भ्रमणको कार्यक्रम यसअघि नै तय भएकाले आफू जाने बताएका छन् ।
विमेस्टक सम्मेलनमा प्रधानमन्त्री लगायतका नेता व्यस्त हुनुपर्ने र अध्यक्ष पुष्पकमल दाहालको समेत भारत भ्रमणको कार्यक्रम रहेकाले भदौ १९ का लागि बोलाइएको स्थायी समितिको बैठक समेत सर्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । विवाद चुलिएको अवस्था र विमस्टेकका कारण भदौ १५ भित्र सबै जिल्ला, प्रदेश र भातृ संगठनको एकिकरणको सम्भावना क्षीण बनेको छ ।