प्लास्टिकका फोहर किन्दै कमलामाई नगरपालिका
सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहर खरिद गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरवासीले प्रयोग गरेर फालिएका प्लास्टिकजन्य फोहर खरिद गर्ने जनाएको हो ।
एउटा खानेपानीको खाली बोत्तलको ५० पैसाको दरले खरिद गर्ने र चाउचाउ, चक्लेटका खोललगायत अन्य प्लास्टिकजन्य फोहर किलोको ५० रुपैयाँमा किन्ने सूचनामा उल्लेख गरिएको छ । तर सोझै स्थानीयसँग नभई टोल विकास समितिमार्फत नगरपालिकाले प्रतिकेजी १० रुपैयाँका दरले फोहर खरिद गर्ने नीति लिएको जनाएको छ । तर खरिद गरिएका फोहर व्यवस्थापन तथा सदुपयोग कसरी गर्ने भने खुलाएको छैन ।
यता नगरपालिकालाई प्लास्टिकमुक्त नगर बनाउनका लागि नयाँ कार्यक्रम थालनी गरिएको नगरप्रमुख खड्गबहादुर खत्रीले बताए । अब नगरवासीले प्लास्टिकजन्य फोहर बेचेर आम्दानी गर्न सक्नेछन् । उनले भने, “यसबाट स्थानीय र नगरपालिका दुवैलाई फाइदा पुग्नेछ ।” प्लास्टिकजन्य फोहर जथाभावी नफालिकन संकलन गरेर आय आर्जनमा वृद्धि गर्न सकिने उनको भनाइ छ । फोहरको दीर्घकालीन सदुपयोग तथा व्यवस्थापनका लागि भने अब छिटै सर्वपक्षीय छलफलबाट निर्णय गरिने नगरप्रमुख खत्रीले जनाए । नगरपालिकाले यसअघि प्लास्टिक झोला प्रयोग गर्न निषेध कार्यक्रम पनि घोषणा गरेको थियो । प्लास्टिकले वातावरणमा प्रतिकूल असर पार्ने भन्दै प्लास्टिक झोला निषेध गर्ने भनिए पनि हालसम्म सो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
नगरभित्र कुनै पनि प्रकारको प्लास्टिकका झोला प्रयोग गरेको पाइएमा जरिवाना गरिने भनिए पनि कसैलाई कारबाही भएको छैन । न त व्यवसायीले प्रयोग गर्न नै छाडेका छन् । गत वर्ष नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना गरी असोज १ गतेदेखि प्लास्टिक झोला प्रयोग गर्न नपाइने घोषणा गरेको थियो । सो भेलाले प्लास्टिक झोला प्रयोग नियन्त्रणका लागि नियमित अनुगमन गरिने र प्रयोग गरेको पाइएमा जरिवाना असुल गर्ने जनाएको थियो । व्यवसायीले बिक्री गरेको पाइएमा पनि जफत र जरिवाना हुने बताएको थियो । तर हालसम्म एक पटकमात्रै बजारको अनुगमन गर्न भ्याएका छन् ।
यता प्लास्टिकमुक्त गर्ने योजना बनाएर खोलिएका फाइबर झोला उद्योग पनि सो निर्णय कार्यान्वयनमा आउन नसक्दा धरासायी अवस्थामा पुगेको छ । उद्योग सञ्चालक अब उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको गुनासो गर्छन् । फाट्टफुट्ट मात्रामा झोला बिक्री हुने गरेको उद्योगीले बताएका छन् । फाइबर झोला उद्योगमा अहिले तयारी अवस्थाका झोला त्यसै थुप्रेर बसेका छन् । उद्योगमा काम गर्ने कामदारलाई समेत समयमै तलब खुवाउन मुस्किल परेको उद्योगीहरूको भनाइ छ ।