आर्थिक वर्षको मध्यमा बजेट बनाउँदै महानगर «

आर्थिक वर्षको मध्यमा बजेट बनाउँदै महानगर

भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षको आधा समय घर्किनै लाग्दा बजेट तथा योजना निर्माण गर्ने कामलाई अघि बढाएको छ । महानगरपालिकाले पुस २१ मा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । यसअघि कात्तिक २८ मा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाइएको थियो ।
“झण्डै सवा तीन अर्बको बजेट बनाउन लागिपरेका छौं”, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भने, “१७ वटा वडाले योजना पेश गरिसकेका छन्, बाँकी १२ वटा वडाले पनि छिट्टै बुझाउनेछन्, बजेट तथा कार्यक्रम तर्जुमा समितिले ती योजनालाई एकिकृत गरी छलफल गर्नेछ, विषय क्षेत्रगत रूपमा छलफल तथा योजनाहरू सिफारिस हुनेछन्, कार्यपालिका बैठकले अनुमोदन गरेपछि नगरसभामा बजेट प्रस्तुत हुनेछ ।” उनले वडास्तरबाट पूर्वाधार विकासका योजना माग भइरहेको बताए । दोस्रो प्राथमिकतामा सामाजिक क्षेत्र र क्षमता अभिवृद्धि र सीप विकासका योजना माग भएको जानकारी दिए ।
बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक तथा उपमेयर पार्वती शाहले प्रत्येक वडालाई १ करोड रुपैयाँभित्रको सीमामा रहेर वडास्तरीय योजना छनोट गरेर पठाउन अनुरोध गरेको बताइन् । “पूर्वाधार विकासतर्फ ८० लाख, लक्षित वर्गतर्फ १० लाख र आकस्कि योजनाका लागि १० लाखको सिलिङसहित योजना माग गरेका छौं”, उनले भनिन्, “वडाभेलाबाट माग भएका योजना पठाउनुपर्नेछ, दीर्घकालिन महत्व र विगतका अधुरा योजना माग गर्न अनुरोध गरेका छौं ।” उनका अनुसार वडास्तरीय योजना १ करोड बराबरका र नगरस्तरीय योजनामार्फत प्रत्येक वडामा कम्तिमा १ करोड थप हुने गरी बजेट खाका बनाउने काम भइरहेको बताइन् । “गत वर्ष उपमहानगरपालिकाले २४ करोड आन्तरिक आम्दानी गरेको छ,” राजस्व परामर्श समितिको समेत संयोजक रहेकी शाहले भनिन्, “सबैलाई राजस्वको दायरा ल्याउनुपर्ने अवस्था छ, आर्थिक स्रोत बढाउने लक्ष्य छ, राजस्व दर पनि समायानुकल बनाउन लागेका छौं, आन्तरिक आम्दानी बढेजस्तै वडातहमा पनि धेरै विकासका योजनामा सहयोग पुग्नेछ ।” उनले ६ गतेभित्र सबै वडाले योजना पेश गरिसक्ने बताइन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले ग्रामीण क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट तयार पारिने बताइन् । “देशकै केन्द्रभागमा रहेको महानगर हो, यहाँ विकासका प्रशस्तै सम्भावना छन्”, उनले भनिन्, “सहरतिर भन्दा ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकास गर्ने हाम्रो पहिलो प्राथमिकता हो ।” उनले महानगरको भौतिक पूर्वाधारको गुणात्मक विकासका लागि राष्ट्रिय महत्व र गौरवका योजना कार्यान्वयन गर्न केन्द्रीय तह र दातृ निकायसँग पहल गरिने बताइन् । “बजेट बनाउन केहि ढिलाइ भएकै हो, तर परिस्थितिजन्य उपजले भएको ढिलाइ हो”, उनले भनिन्, “बजेट ढिलो आएपनि कार्यान्वयन गर्न सबै वडामा जनप्रतिनिधि छन्, नगरवासीका भएको निराशा हट्नेछ, विकासले ‘स्पीड’ लिनेछ ।”
बजेट खाका कोर्ने अन्तिम तयारीमा रहेकै बेला निर्वाचन आचारसंहिता लागेपछि कात्तिक मसान्तमा हुने भनिएको नगरसभा स्थगित हुन पुगेको थियो । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट भरतपुर महानगरले १ सय ३५ जना जनप्रतिनिधि पाएपनि भरतपुर–१९ र २० का जनप्रतिनिधि र मेयर उपमेयरको टुंगो झण्डै तीन महिनापछि साउनको तेस्रो हप्तामा मात्रै भएको थियो । यस्तै, नगर कार्यपालिकाले भदौ ३० गतेमात्रै पूर्णता पाएको थियो । साउन अन्तिम साता आएको बाढीले केहि वडा प्रभावित भएपछि उद्वार तथा राहत वितरणमा जनप्रतिनिधि व्यस्त बनेका थिए । चाडबाड, प्रतिनिधिसभा र प्रदेशसभा चुनावले पनि महानगरको नगरसभा अनिश्चित बन्दै आएको थियो ।
महानगरमा ठुला योजना कस्ता छन् ?
भरतपुर महानगरपालिकाले चक्रपथ निर्माणको कामलाई पहिलो प्राथमिकतामा पारेको छ । सहरी विकास मन्त्रालयमार्फत आएको २ अर्ब बराबरको बजेट कार्यान्वयन गर्न दुई ठाउँमा सर्भे गर्ने काम भैसकेको छ । गोन्द्राङदेखि पटिहानी र पुलचोकदेखि रामघाटसम्मको सडकखण्ड बनाउन सर्भे गर्ने काम भएको छ । “सर्भेको प्रतिवेदन आउन बाँकी छ, चक्रपथसँग भित्री सडक सञ्जाल बनाउने गरी बजेट तर्जुमा गर्न लागेका छौं”, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भने, “महानगरलाई समग्र रूपमा चक्रपथले घेरेको बनाइनेछ ।” यस्तै भरतपुर महानगरपालिकाका सिटी हल बनाउने काम दोस्रो प्राथमिकतामा परेको छ ।
“पश्चिम चितवन, भरतपुर १० को वडा कार्यालयनजिक वा नारायणी कला मन्दिरलाई व्यवस्थापन गरेर बनाउने भन्नेबारे चर्चा भएको छ,” उनले भने, “जग्गा पहिचान गरेरै यही वर्ष सिटी हल बनाउने लक्ष्य महानगरले लिएको छ ।” यस्तै, महानगरको फोहरमैला व्यवस्थापनका गरेर ऊर्जा बनाउने कामका लागि २५ करोडको लागतमा ल्याण्डफिल साइट बनाउने अर्को प्रमुख योजना हो । “विश्व बैंकले १० करोड अनुदान दिनेछ, लगानीकर्ताले १५ करोड लगानी गर्नेछन्”, उनले भने, “प्रस्ताव आह्वान गरिसकेका छौं, फोहरबाट प्रतिदिन ४ हजार केजी जैविक मल र ३८ सिलिण्डर ग्यास उत्पादन गर्ने काम हुनेछ ।” जलदेवी सामुदायिक वनमा नेपाल सरकारले भोगाधिकार दिएको क्षेत्रमा सो परियोजना सञ्चालन हुनेछ । यस्तै जिल्ला समन्वय समिति मार्फत कार्यान्वयन हुन नसकेका १५ करोड बराबरका अधुरा योजनालाई पनि बजेटमा समायोजन गरी पूरा गरिछाड्ने लक्ष्य लिइएको छ ।
वडाध्यक्षलाई योजना छान्ने सकस
वडाभेलामार्फत माग भएका योजनालाई छानेर बजेट माग गर्न वडाध्यक्षलाई सकस परेको छ । महानगरपालिकाले १ करोड बराबरको सिलिङ पठाउँदै योजना पेश गर्न भनेपछि कस्ता योजनालाई प्राथमिकतामा राख्ने भन्ने सकस परेको छ ।
साविक कविलास गाविस हाल भरतपुर महानगरको २९ नम्बर वडामा पर्छ । “घण्टौं पैदल हिँडेर फेदी झरेर डोकामा गाग्री बोकेर पानीको जोहो गर्नुपर्ने अवस्था छ,” भरतपुर–२९ का वडाध्यक्ष मनबहादुर मगरले भने, “विकासमा यहाँ धेरै बजेट आवश्यक पर्छ, तर सबै वडालाई एउटै सिलिङ पठाइएको छ, नगरस्तरीय योजनाले अरु केही सम्बोधन गर्छ भन्ने झिनो आशा छ ।” १ करोड बजेटमार्फत २० वटा वडास्तरीय योजना तयार गरिएको उनले बताए । चौकीडाँडामा खानेपानी आयोजनाका लागि सर्भे गर्न १० लाख बजेट पेश भएको उनले बताए । “ग्राभेल सडक बनाउन, मर्मत गर्न धेरै बजेट माग्नुपरेको छ”, उनले भने, “अविकसित वडामा समान बजेट सिलिङले उल्लेख्य प्रगति हुने देखिएन, चिन्ता बढेको छ ।”
भरतपुर–२८ महानगरको अविकसित र पर्यटकीय सम्भावना भएको क्षेत्र हो । “वडास्तरीय बजेटले नथेगेपछि हामीले केन्द्रीय तहमार्फतनै योजना कार्यान्वयन गराउन महानगरलाई आग्रह गरेका छौं,” भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमालले भने, “नदी तटबन्ध र फाउण्डेसनसहितको मेसजाली राखेर बस्ती सुरक्षा गर्न धेरै बजेटको खाँचो छ”, उनले भने, “केन्द्रीय तहमार्फत नै बजेट विनियोजन हुनुपर्ने देखिएको छ, नगरस्तरीय योजना बनाउँदा यो क्षेत्रमा धेरै योजना पारिनुपर्छ ।” उनका अनुसार निर्माणाधिन गोलाघाटको सनसेट भ्यू निर्माण, पर्यटन सूचना केन्द्र निर्माण, कुमाल जातीको होमस्टे निर्माण जस्ता पर्यटनलाई प्राथमिकतामा राखेर केही योजना माग भएको बताए । यो वडामा सडक सञ्जाल अवस्था निकै कमजोर छ ।
महानगरको मुख्य बजार रहेको नारायणगढ क्षेत्र वडा नम्बर ३ र १ मा पर्छ । “वडास्तरीय बजेट सिलिङले कति योजनालाई समेट्नु ?,” भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले भने, “हामीले धेरै नगरस्तरीय योजना माग गरेका छौं, शहीदचोकमा आकाशेपुल, हालको सब्जीमण्डीलाई पार्किङ कम्प्लेक्स, नगरवनमा पिकनिक स्पट, पुंगी खोला सफाई र सीमाङकनका योजना पनि मागेका छौं ।” वडास्तरीय बजेटले उच्चस्तरीय ग्राबेल र कालोपत्रे गर्ने धेरै योजना रहेको बताए ।
यस्तै, भरतपुर महानगरको केन्द्रभागमा रहेको वडा नम्बर १० का वडाध्यक्ष पनि नगरबासीको चाहना बमोजिमका योजना पार्न निकै चूनौतीपूर्ण रहेको बताउँछन् । “आर्थिक वर्षको आधा समय विकासे योजना नगरी सकियो”, भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले भने, “अब ६ महिनाभित्र पूरा गर्न सकिने योजनालाई छानेका छौं, सडक मर्मत र उच्चस्तरीय ग्राबेल नै प्राथमिकतामा परेको छ ।” उनले नगरस्तरीय योजनामार्फत वडाकार्यालय नजिकैको सार्वजनिक जग्गामा सिटी हल, बालमन्दिरमा रहेको १२ कठ्ठा क्षेत्रफलमा वालउद्यान, जिसस अगाडिको दुर्गा मन्दिरमा जेष्ठ नागरिक मिलन केन्द्र, नारायणी नमूना माविभित्र सुस्त मनस्थिति डे केयर सेन्टर, कवर्ड हलको स्तरोन्नती लगायतका योजना माग गरिने बताए ।

विप्लव काफ्ले

प्रतिक्रिया दिनुहोस्