मध्यपूर्व क्षेत्रीय बैठकका निर्णय कामदार केन्द्रित «

मध्यपूर्व क्षेत्रीय बैठकका निर्णय कामदार केन्द्रित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं मध्यपूर्व क्षेत्रीय बैठकले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारले भोग्नुपर्ने विषयलाई केन्द्रित गरेर घोषणापत्र जारी गरेको छ । बैठकले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १६ बुँदे दुबई घोषणापत्र जारी गरेको छ ।
अगस्ट २३–२५ तारिख दुबईमा सम्पन्न बैठकमा खानेपानी मन्त्री बिना मगर, पूर्व श्रममन्त्री रमेश लेखक, युएईका लागि कार्यवाहक राजदूत सागर फुयाँल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिलगायत सहभागी थिए ।

मध्यपूर्व बैठकको घोषणापत्र
१. नेपाल सरकारले लागू गरेको शून्य लागतमा कामदारलाई वैदेशिक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि सम्बन्धित मुलुकसँग यथाशिघ्र श्रम सम्झौता गर्न आग्रह गर्ने । साथै, नेपाली कामदारलाई दक्ष बनाई र गन्तव्य देशबारे आवश्यक अभिमुखीकरण तालिम दिएर मात्रै पठाउने व्यवस्था मिलाउन अनुरोध गर्ने ।
२. वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउनका लागि नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्नुपर्छ भन्ने एनआरएनको मागलाई सरकारले सम्बोधन गरेकोमा स्वागत गर्दै यसलाई प्रभावकारी र छिटो कार्यसम्पादन गर्नका लागि आधुनिक प्रविधि प्रयोग गरी कागजात विहिन प्रणालीद्वारा कार्यान्वयन गर्न आग्रह गर्ने ।
३. नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था यथाशिघ्र कार्यान्वयनमा ल्याउनको लागि परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।
४. बिदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई विशेष गरी महिला कामदार सोही रोजगारदाताकोमा काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन सरकारसँग आग्रह गर्ने । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूलाई देशमै पुनस्र्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने । एक हजारभन्दा बढी महिलाहरू कार्यरत देशमा आवश्यकता अनुसार संंरक्षण गृह बनाउन नेपाल सरकारलाई आग्रह गर्ने ।
५. गैरआवासीय नेपाली संघले विगतदेखि उठाउँदै आएको हजारे अभियान अर्थात् वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टीको लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारसग जोडदार माग गर्दछ ।
६. नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्बर्धन एवं प्रवर्धनका लागि हरेक देशमा एनआरएनले सञ्चालन गर्ने गरी नेपाली दूतावासको संरक्षकत्वमा रहने नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न सरकारलाई पुनः आग्रह गर्ने ।
७. एनआरएनको राष्ट्रिय समन्वय परिषद्लाई विधिवत रुपमा सम्बन्धित राष्ट्रमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक सिफारिस प्रदान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने ।
८. वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न परराष्ट्र, श्रम र गृह मन्त्रालयबीच समन्वय प्रभावकारी बनाउन एकीकृत विद्युतीय सूचना प्रणाली लागू गर्न अनुरोध गर्ने । वैदेशिक रोजगारीबाट फर्केका कामदारको दक्षता सहितको अभिलेख राख्न अनुरोध गर्ने ।
९. वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसा र कथित आजाद भिसाको नाममा कारोबार गर्ने र कामदारलाई अलपत्र बनाउने संलग्न कम्पनी वा व्यक्तिलाई सम्बन्धीत कानुन बमोजिम कारबाही गर्न आग्रह गर्ने ।
१०. विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने ।
११. युएईको दुवई, लेवनान र इराकमा महावाणिज्य दूतको कार्यालय तथा कानुनतः पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी स्थापनाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।
१२. नेपाली दूतावासमा कानुनी सेवा प्रदान गर्ने गरी आवश्यकताअनुसारको वकिलको यथाशिघ्र व्यवस्था गर्नुपर्ने । जेलमा रहेका कामदारको यथासिघ्र कानुनी प्रतिरक्षा गर्नुको साथै कोमामा रहेका नेपाली कामदारलाई स्वदेशमा ल्याई उचित स्वास्थ्य उपचारकोे प्रबन्ध मिलाउन अनुरोध गर्ने ।
१३. वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारको सीप र दक्षता परिक्षण गरी १० लाख रुपैयाँ ऋण दिने सरकारको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने । नेपाली कामदारलाई परिवारसँग एकिकरण गर्न स्वदेशमै उद्यमशीलता गर्न एनआरएनले प्रोत्साहन गर्ने ।
१४. गैरआवासीय नेपालीको परिभाषा भित्र पर्नको लागि दुई वर्ष विदेशमा बस्नुपर्ने वर्तमान प्राबधानलाई सुधार गरी अन्तर्राष्टिय प्रचलन अनुसार एक आर्थिक वर्षमा १८२ दिन भन्दा बढी विदेशमा बसेको हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने । साथै, गैरआवासीय नेपाली अभियानमा सक्रिय रुपमा संलग्न भई नेपाल फर्केका इच्छुक अभियन्ताहरूलाई गैरआवासीय नेपाली संघको क्रियाकलापमा संलग्न गराउन अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने ।
१५. मध्यपूर्वका पर्यटकको लागि नेपाललाई आकर्षक गन्तव्य बनाउन एनआरएनले पर्यटन मन्त्रालयसँग सहकार्य गर्ने ।
१६. गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय बैठकहरूले उठाउँदै आएका, घोषणा गरेका मुद्दालाई कार्यान्वयन गर्नको लागि क्षेत्रीय संयोजकको संयोजक प्रत्येक राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष प्रतिनिधित्व रहने एक समिति गठन गर्ने ।

प्रतिक्रिया दिनुहोस्