पुँजी बजारमा एनआरएनएले तत्काल १० अर्ब रुपैयाँ संस्थागत लगानी गर्ने «

पुँजी बजारमा एनआरएनएले तत्काल १० अर्ब रुपैयाँ संस्थागत लगानी गर्ने

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले धितोपत्र बोर्डसंग आफूहरुले संस्थागत लगानी गर्न पाउने बाटो खोलिदिन आग्रह गरेका छन् । संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको टोलीले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की सहितका पदाधिकारीलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएन साथीहरु नेपालको पुँजी वजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेकोले सोको लागि वोर्डले आवश्यक नीतिगत व्यवस्था गरिदिन अनुरोध गरेका हुन् । भेटमा भट्टले आफूहरुले शुरुमा १० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको जानकारी समेत गराए ।
उक्त अवसरमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुँजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि जस्ता संरचनात्मक सुधार कार्यहरु भई धितोपत्र बजार लगानीका लागि बढी आकर्षक हुदै गएको जानकारी गराएका थिए ।
उनले एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मक रुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि वढाई सकेको पनि जानकारी दिए ।
कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको जानकारी पनि गराए ।
गैरआवासीय नेपाली संघले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो सो लिखितरुपमा जानकारी गराउन तथा उपयुक्त व्यवस्था सम्बन्धमा सुझाव समेत पेश गर्न आग्रह गर्दै प्राप्त सल्लाह तथा सुझावहरुको सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार उपयुक्त कदम चाल्दै जाने उनले वताए । भेटघाट कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछाने तथा वोर्ड उच्च पदाधिकारीहरुको समेत सहभागिता थियो ।
हाल सेयर बजार घटिरहेको सन्दर्भमा गैरआवासीय नेपाली संघको उक्त प्रस्तावले बजारमा उत्साह थपिने विश्वास लगानीकर्ताहरुले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्