६ महिनासम्म स्थानीय तहका प्रमुखले के गरे ?

स्थानीय तहको निर्वाचन भएको ६ महिना बितिसकेको छ । निर्वाचनअघि विभिन्न राजनीतिक दलका उम्मेदवारले मतदातालाई धेरै आश्वासन दिएका थिए । कतिपय उम्मेदवारले आफ्नो स्थानीय तहलाई मुलुककै नमूना बनाउने उद्घोष गरेका थिए । तर निर्वाचनपछि स्थानीय तहहरूले ठोस काम गर्न नसकेको गुनासो आउन थालेको छ । कतिपय जनप्रतिनिधिहरूले भने कानुनको अभाव र केन्द्रीय सरकारको नीतिका कारण कामले द्रुत गति पाउन नसकेको बताउन थालेका छन् । तर अहिलेसम्म जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा के कस्ता काम गरेका छन् ? जनताका आवाजलाई सुनेर काम गरिरहेका छन् कि आफ्नो स्वविवेकमा मात्र निर्णय गरिरहेका छन् भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् । यसै सन्दर्भमा कारोबारले केही स्थानीय तहका प्रमुखहरूसँग निर्वाचित भएपछि गरेका कामबारेमा गरेको कुराकानीको सार :
राजनीतिक भाषण छाडेर विकासमा
भीम साउद
मेयर, पर्शुराम नगरपालिका, डडेल्धुरा
देश अहिले आर्थिक विकासको बाटोमा लागेर अगाडि बढेको अवस्थामा मैले भित्री मधेसका जनताका निम्ति यस क्षेत्रको समग्र विकासका लागि आफ्ना योजना तयार पारेको छु । पर्शुराम नगरपालिकाका सबै वडामा खानेपानी तथा सडक सञ्जाल पुर्याउने पहिलो लक्ष्य छ । यो क्षेत्र गहुँ र धान खेतीका आगि अन्नको भण्डार मानिने भएकाले सिँचाइलाई पनि प्राथमिकता राखेको छु । त्यस्तै बेडर–दैजी ६० किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजना यसै आर्थिक वर्षभित्र सक्ने गरी काममा लागेको छु ।
भित्री मधेसमा रंगुन नदीले वर्षैपिच्छे खेतीयोग्य जमिन बगाएर लैजाने हुनाले यस क्षेत्रमा कटान हुन नदिनका लागि तटबन्धन कार्य अगाडि बढाएको छु । ज्येष्ठ नागरिक, ८० वर्ष नाघेका वृद्धवृद्धाका लागि हिउँदको महिना भएकाले नगर परिषद्बाट न्यानो लुगा, लेडिज तथा जेन्स स्वीटर र टोपी वितरण गर्ने कार्य भइरहेको पनि जानकारी गराउँछु ।
डडेल्धुराको आधाभन्दा बढी जनसंख्या भएको यस पर्शराम नगरपालिकमा एक घर एक रोजगारीको व्यवस्था गर्ने योजनासमेत ल्याएको छु । पर्शुराम नगरपालिकामा सुदूर पश्चिमका सबै जिल्लाका मानिसहरू बस्ने भएकाले सबै जनतालाई नगरपालिकाबाट पाउने सेवा–सुविधाका लागि लाइनमा बस्नु पर्दैन ।
यस नगरपालिकामा विनियोजित रकमबाट अहिले आर्थिक कुरालाई जोड दिएको छु । १२ वडा रहेको पर्शुराम नगरपालिकाका सबै वडामा डेढ–दुई वर्षभित्रै पूर्ण सरसफाइ र पूर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता समेत गर्छु ।
पहिले जिल्लाबाट रकम विनियोजित गर्दा भित्री मधेसमा सौतेनी व्यवहार गर्ने गरेकाले यो नगरपालिका पछाडि परेको छ । नगरपालिका भएको मात्र एक वर्ष भएको छ । समग्र विकासका लागि अब म आफ्ना राजनीतिक भाषण छाडेर जनताको विकासका पक्षमा लागेको छु । चुनावमा मेरा विकासका जुन एजेन्डाहरू थिए, ती एजेन्डा पूरा गर्नका निम्ति आफू पछाडि नपर्ने समेत प्रतिबद्धता व्यक्त गर्छु ।
प्रस्तुति : हरीश चन्द
आर्थिक रूपमा चन्द्रपुर नगरपालिका सबल छ
रामचन्द्र चौधरी
मेयर, चन्द्रपुर नगरपालिका, रौतहट
नगरवासी भएकै नाताले म नगर प्रमुखमा निर्वाचित भएको हुँ । नगरको जिम्मेवार नागरिक हुनु र नगरप्रमुख हुनुमा जिम्मेवारी मात्र फरक हो । नगरवासीले हरेक नगरमा हुने काममा नगरपालिकासँग समन्वय गरेर विकासका लागि काम गर्नुपर्छ भने नगरप्रमुख हुनुमा जिम्मेवार र दायित्व थपिएको छ । हरेक नगरवासीले नगरपालिकाबाट लिने विकास–निर्माणलगायतका कामलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने सोचले चिन्तित तुल्याउने गरेको छ ।
चन्द्रपुर नगरपालिकालाई पूर्व–पश्चिम महेन्द्र राजमार्गले छोएको छ । रौतहटकै लाइफलाइनका रूपमा रहेको राजमार्ग खुलेपछि रौतहटको विकासमा ठूलो फड्को मारेको अवस्थामा राजमार्ग चन्द्रपुर नगरपालिका भएर गएकाले पनि यस नगरपालिकाले राजधानीलगायत अन्तर्राष्ट्रिय जगत्लाई समेत जोड्ने काम गरेको छ । त्यसैगरी नगरपालिका क्षेत्रबाट रेलमार्ग निर्माण हुने भएकाले पनि अबका दिनमा नगरलाई समृद्ध बनाउन राजमार्ग र रेलमार्गले सेतुको काम गर्ने अपेक्षा गरेको छु । राजमार्ग र रेलमार्गकै कारण यस क्षेत्रमा रहेको कृषि, पर्यटनलाई समेत टेवा पुग्ने देखिन्छ । यसलाई व्यवस्थित गर्न सके नगरलाई आर्थिक रूपमा समृद्ध गराउन सहयोग पुग्ने देखिन्छ ।
समग्र जिल्लाकै कुरा गर्ने हो भने शिक्षा क्षेत्रमा पछिल्लो स्थानबाट पहिलो नम्बरमा आउने जिल्ला भए पनि यस नगरपालिकामा शिक्षाक्षेत्रको अवस्था राम्रो छ । चन्द्रपुर नगरपालिकामा आधा दर्जनभन्दा बढी क्याम्पस छन् । ४६ वटा सामुदायिक विद्यालय रहेका छन् । २५ भन्दा बढी निजी विद्यालयहरू सञ्चालित छन् । गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले समेत समय समयमा सबै शैक्षिक क्षेत्रलाई उचित निर्देशन दिँदै समयको मागअनुसारको शिक्षालाई जोड दिनसमेत आग्रह गरेको छ । नगरपालिकाका सबै वडामा स्वास्थ्य चौकी छन् । चन्द्रनिगाहपुर सरकारी अस्पताल, निजी क्षेत्रमा खुलेका चन्द्रपुर हस्पिटलले स्वास्थ्य सेवा दिँदै आएको छ ।
चन्द्रपुर नगरपालिकाको आफ्नै आम्दानीका स्रोत प्रशस्त छन् । नगरलाई समृद्ध र सबल बनाउने भनेकै आर्थिक स्रोतले हो । आर्थिक स्रोत भए नगरको हरेक विकास–निर्माणलाई गति दिन सकिन्छ । चन्द्रपुर नगरपालिकाभित्र पर्ने बाग्मती नदी, चादी नदी, चुरे श्रृखलाबाट बगेर आउने ढुंगा–गिट्टी, बालुवा, वनक्षेत्रबाट निस्कने काठ, दाउरा, जिल्लाबाट हुने निकासी–पैठारी आम्दानीका प्रमुख स्रोत हुन् । यसलाई व्यवस्थित गर्न सके मात्र नगरलाई राम्रो आम्दानी हुने देखिन्छ । त्यसैगरी जिल्लाभित्र रहेको सहिद स्मृति पार्क, नुनथर पर्यटकीय क्षेत्र, मरधर सिमसार, जीपी उधानले पनि पर्यटक भिœयाउने भएकाले यसलाई अझ व्यवस्थित सके स्थायी आम्दानीका रूपमा नगरपालिकाले प्रयोग गर्न सक्छ । चन्द्रपुर नगर कृषिका लागि पनि प्रसिद्ध छ । यस नगरपालिका क्षेत्रमा पर्ने जमिन कृषि उर्वरका लागि राम्रो छ । चादी नदी, बाग्मती नदी लगायतबाट सिँचाइ हुदैँ
आएको अधिकांश भाग खेतीयोग्य जमिन रहेकाले पनि कृषिलाई अझ प्रवद्र्धन गर्न सके यसबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । वनजंगल नजिक रहेका कारण पशु व्यवसायलाई पनि यस क्षेत्रका किसानले प्रमुखताका साथ अगाडि बढाएका छन् । कृषिसँगै पशुपालनबाट पनि राम्रो आम्दानी गर्न सफल भएका छन् ।
करिब २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । त्यसअघि लामो समयदेखि कर्मचारीहरूले स्थानीय निकाय सञ्चालन गर्दै आएका थिए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नगरकै विकासका लागि काम गर्न अगाडि बढेको अवस्थामा कर्मचारीले सहयोग गरेकै छन् । हिजोको परिस्थिति र आजको परिस्थिति फरक भएकाले पनि कर्मचारीले पनि त्यो कुरा बुझेका छन् । त्यसैले नगरको विकास–निर्माणका लागि सबै कर्मचारीबाट अपेक्षा गरेअनुरुपकै सहयोग पाएको छु ।
सम्भवतः पुसको तेस्रो साता नगरपरिषद् हुँदैछ । चन्द्रपुर नगरपालिकालाई २ नम्बर प्रदेशकै अब्बल नगरपालिका बनाउने सोचका साथ जननिर्वाचित प्रतिनिधि, कर्मचारी र नगरवासी लागिपरेका छन् । व्यवस्थित नगर योजना, पर्यावरण, सडक, नाला, वृक्षरोपण, जलाधारलाई व्यवस्थित गर्ने, नगरमा उद्योग–कलकारखाना खोल्नका लागि आवश्यक पहल गर्दै कृषि, पशुपालन,पर्यटनका लागि समेत क्रमबद्ध योजना निर्माणका साथ नगरपालिका अगाडि बढ्ने योजना छ । हिजोका दिनमा हुने सानातिना कामभन्दा ठोस कामका लागि नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेकाले नगरको सर्वाेत्तम हित र अब्बल नगरपालिका निर्माणका लागि कुनै कसर बाँकी नराख्ने गरी योजनाहरू छनोट हुँदैछ । आशा छ, नगरपरिषद्ले ती योजनालाई पारित गरेर समृद्ध चन्द्रपुर बनाउन सहयोग पुग्नेछ ।
हिजोका दिनमा स्थानीय तहको निर्वाचन नभएको अवस्थामा राजनीतिक दलका प्रतिनिधिहरूलाई साथमा लिएर काम गर्नुपर्ने हुन्थ्यो, तर अब त जनताकै मतबाट निर्वाचन भएर आएका नगरप्रमुखदेखि वडाअध्यक्ष, सदस्यहरूसमेत रहेकाले सबैको साथ र सहयोगबिना कुनै काम नगरपालिका एक्लैले गर्न सम्भव छैन । त्यसैले सबै नगरवासी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवीको सल्लाह, सुझावअनुसार नगरका योजनाहरू छनोट गरिनेछ । सबैसँग समन्वय गरी स्थानीय तहको विकासका लागि सबैसँग समन्वय गरेर अघि बढ्ने र छलफललाई तीव्रता दिने, विकासका मुद्दामा एक हुने र बहुमत तथा अल्पमतभन्दा पनि सर्वसम्मत रूपमा विकासका योजनालाई अगाडि बढाउन पहल गर्नेछु ।
प्रस्तुति : सुब्बा कार्की
समृद्धि र विकासका लागि नगरवासीको सहयोग
नृप वड
मेयर, धनगढी उपमहानगरपालिका, कैलाली
मेरो कार्यकाल सुरु भएको ६ महिना पुगेको छ । त्यसबीचमा मैले नगर विकासका लागि विभिन्न किसिमका कार्यक्रम ल्याएको छु । एडीबीको सघन सहरी विकास कार्यक्रम, कृषि शिक्षासम्बन्धी कार्यक्रमहरू गर्दै आएको छु । महिला तथा बालबालिकालाई तालिम, ग्राभेल नभएका वडाहरूमा ग्राभेल, ठाउँ–ठाउँमा उपभोक्ता समिति गठन गरेर उपभोक्ता समितिहरूलाई जिम्मा दिइसकेको छु । खानेपानी अभाव भएका ठाउँमा खानेपानीको व्यवस्थापन गरेको छु । केही वडामा खानेपानीको सुविधा दिनका लागि टेन्डर प्रक्रियासमेत अगाडि सारेको छु । विद्युत् नभएका ठाउँहरूमा विद्युत् जडानका प्रक्रिया अगाडि बढाएको छु । केही महिनाम खानेपानी, विद्युत्बाट वञ्चित भएका नगर रहेका वडाबासीहरूहरूले सास्ती भोग्नुपर्ने छैन ।
भर्खरै मात्र प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नारदमुनि राना विजय हुनुभयो । राजनीतिक रूपमा जो जुनसुकै धरातलमा भए पनि धनगढी नगर समृद्धि र विकासका लागि एकढिक्का र एकजुट भएर लाग्न जरुरी देखिन्छ । राजनीतिक दल जे–सुकै भए पनि जनताले विकास खोजेका हुन्छन् । मेरो पार्टी (नेपाली कांग्रेस) तर्फबाट डा. आरजु राणा (देउवा) पराजित भए पनि धनगढी विकास र समृद्धिका लागि एक कदम पछि हट्नेछैन । वर्तमान माननीय नारदमुनि रानासँग पनि सुमधुर सहकार्य राखेर अगाडि बढ्नेछु ।
विकासका कार्यहरूका लागि प्रदेश र स्थानीय सरकारको सहकार्यमा अगाडि बढ्छन्, तर उहाँले स्थानीय सरकारसँग कस्तो व्यवहार गर्नुहुन्छ, उहाँलाई थाहा हुने कुरो हो । खास भन्ने हो भने उहाँले प्रदेश र स्थानीय सरकारसँग सहकार्य र सहभागिता जनाएर जाने कार्य उहाँको हो । हामीले अनिवार्य रूपमा सहकार्य गरेर जानु नै पर्छ, किनभने उहाँको नाममा आएको बजेट नगरपालिकाले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ । अर्को कुरा, उहाँहरूसँग व्यक्तिगत इन्जिनियर, ओभरसियर र प्राविधिक हुँदैन, उहाँहरूसँग आएका हरेक कार्यक्रम नगरपालिकासँगै सम्बन्धित भएर आउँछ ।
धनगढीलाई स्मार्ट सिटी बनाउन जापानिज कम्पनी एटीआरटीसँग सम्झौता गरेर अगाडि बढाइसकेका छौं । राज्यसँग गर्नुपर्ने कार्य अगाडि बढ्दै गएको छ । केही महिनामा स्मार्ट सिटीको कार्य पनि दु्रत गतिमा अगाडि बढ्नेछ । स्मार्ट सिटी प्लान गरेर बजेट पनि छुट्याउँछौं । केही दिनमै पहिलो योजनाको बजेट छुट्याउने तरखरमा छौं । केही दिनअघि मात्र ग्रामीण विकास कार्य योजनामा सम्झौता गर्यौं, त्यो पनि स्मार्ट सिटीको एक पक्ष हो । धनगढी नगरपालिकाका १९ वटा वडाहरूमा वेबसाइट रुमहरू राखेका छौं र प्रत्येक वडाले के गरेको छ, के गर्ने तयारीमा छ भन्ने जानकारी ती वडाका वेबसाइटमा पाउन सकिन्छ ।
एडीबीका कार्यक्रम ३ अरब रुपैयाँ बराबरको छ र फिल्डमा नक्सांकन गरेर कामहरू अगाडि बढिरहेको अवस्था छ । सघन सहरीमा पुराना योजनाहरू १५ र अहिले २ वटा थपेर १७ वटा भएका छन् । जसमा कोल्ड स्टोर, सिटी हल, पार्क, जडीबुटी प्रशोधन केन्द्र छ, जसमा मैले ज्येष्ठ नागरिकका लागि ६ करोडको लगानीमा एक बिघा जग्गामा आवासीयसहितको भवन निर्माणको कार्य पनि अगाडि बढाएको छु । कार्यक्रमहरूका लागि एडीबीको ३ अर्ब, सघन सहरीको ३ अर्ब र आफ्नो कोषबाट ५० करोड छुट्याइएको छ । पटेलामा थारु संग्रहालयको घरको जग सुरु भइसकेको छ । वडा–वडामा सडकहरूको मर्मत सुरु भइसकेको छ । यी कार्यहरूकोे योजना मेरै पालामा लागू भएका हुन् । अझै धनगढी नगरलाई समृद्धि बनाउनका लागि मैले भावी रणनीति तथा योजनाहरू बनाएको छु । जस्तै– स्वच्छ खानेपानी, डुबानको समस्या मुक्त गर्ने, कटानको समस्याको मुक्त गर्ने नक्सांकन गरिसकेको छु । मेरो पहिलो प्राथामिकता गौरीफन्टा नाकालाई अन्तर्राट्रिय नाकाका रूपमा परिणत गर्ने रहेको छ भने दोस्रो प्राथमिकतामा एयरपोर्टलाई प्रादेशिक बनाउने र सम्भव भएसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छु । धनगढी नगरवासीले नगर विकास र समृद्धिका लागि सहयोग गरेमा अझै उपलब्धिमूलक कार्य गर्न सहज हुने विश्वास लिएको छु ।
प्रस्तुति : हिमेश विक