नजिकिँदै पर्व, भरिँदै बजार «

नजिकिँदै पर्व, भरिँदै बजार

दाङ-मुख्य चाडपर्व सुरु भएसँगै जिल्लाका बजारमा चहलपहल बढन थालेको छ । नेपाली महिलाको महान् पर्व हरितालिका तीजनजिकिँदै गर्दा यहाँ तीजका लागि गरगहनादेखि आवश्यक कपडा
किन्नेको लर्को लाग्ने गरेको छ । दाङका मुख्य बजार घोराही, तुलसीपुर, नारायणपुर, लमहीलगायतका कपडा र सुनपसल भरी भराउ हुने गरेका छन् । अन्य समयभन्दा आजभोलि पसलमा महिला दिदीबहिनीको भीड लाग्ने गरेको व्यवसायी बताउँछन् । “चाडपर्व नजिकिएसँगै पसलमा पनि भीडभाड हुने गरेको छ, सुन पसलमा त झनै भीड छ,” घोराहीकी सुरु पुनले भनिन् । उनीजस्तै विभिन्न ग्रामीण भेगबाट किनमेलका लागि बजारसम्म आउनेकोसंख्या बढदो छ । त्यस्तै यातायातका साधान पनि भरिभराउ हुने गरेका छन् । “हिजो आज व्यापार धेरै बढेको छ, कपडा पसलमा धेरै भीड हुनेगर्छ,” लमहीका एक कपडा व्यवसायीले भने । त्यसैगरी केही दिन यता चहलपहल बढे पनि सोचे अनुरुपको व्यापार नभएको तुलसीपुरका व्यवसायी अरुणकुमार श्रेष्ठले बताए । उनले भने, खुल्ला सिमानाका कारण अन्य भन्सार नाकामा कपडा किनमेल गर्ने गरेका कारण स्थानीय बजारमा गत वर्षभन्दा यस वर्ष व्यापार सन्तोषजनक नभएको बताउँछन् ।
पहिले भन्दा त बजारमा चलहपहल बढेको छ, तर व्यापार सोचे जति छैन् उनले भने । त्यसैगरी महिलाले दर खाने कार्यक्रमअन्तर्गत बजारका किराना पसलमा पनि भीड लाग्ने गरेको छ । विभिन्न उपभोग्य सामग्री किन्ने महिलाको पनि किराना पसलमा भीड लाग्ने गरेको छ । विभिन्न संघसंस्थामा आबद्ध महिला तीजमा दरखाने तथा रमाइलो गर्ने कार्यक्रम राख्ने गरेका छन् । यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ ।

स्तनपान कक्षको उद्घाटन
 तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी महिलाका लागि स्थापना गरेको स्तनपान कक्षको उद्घाटन गरेको छ । सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्थापना गरिएको उक्त स्तनपान कक्षकोे उद्घाटन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकालाई नमुना स्मार्ट सिटीको रूपमा विकास गर्ने अवधारण अनुरुप सो कक्षको स्थापना गरिएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले जानकारी दिए । “बच्चालाई ६ महिनासम्म अनिवार्य रूपमा आमाको दूध खुवाउनु पर्ने, सुत्केरी प्रोत्साहन भत्ता लिन आउने सेवाग्राही र सानो बच्चा बोकेर आउने सेवाग्राही र कर्मचारी महिलाका लागि सजिलो होस् भनेर उक्त कक्ष स्थापना गरिएको हो,” संयोजक डा. दाहालले भने । करिब दुई लाखको लगानीमा निर्माण गरिएको उक्त कक्षमा दूध खुवाउनका लागि एउटा खाट, बस्नका लागि सोफा राखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाकाउपसंयोजक विष्णु गिरीले जानकारी दिए । सबै महिलाले बेहोर्दै आएको समस्यालाई मध्यनजर गदै बच्चा रोएको बेलामा दूध खुवाउन नपाइने, असुरक्षित तरिकाले खुल्ला रूपमा दूध खुवाउनुपर्ने बाध्यता, बस्ने ठाउँ नै नहुने विविध समस्यालाई समाधान गर्न सकियोस् भनेर बच्चा र आमा दुवैको स्वास्थ्यका लागि मध्यनजर गरेर स्तनपान कक्षको स्थापना गरेको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताइन् । कार्यक्रमका सहभागीले स्तनपान गर्न पाउने बालबालिकाको अधिकारबाट उनीहरूलाई वञ्चित गराउन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा उपस्थित १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यायो झोला वितरणसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्