तनहुँमा पनि सुन अभाव «

तनहुँमा पनि सुन अभाव

 नेपालीहरूको महान् पर्व नजिकिँदै छ । चाडबाड लागेसँगै सुनचाँदीको कारोबार पनि बढ्ने गर्छ । तर, चाडबाडकै मुखैमा सुन अभाव भएको भन्दै व्यवसायीहरू भने व्यवसाय नै बन्द गर्नुपर्ने स्थितिमा पुगेको बताउँछन् ।
तनहुँ सुनचाँदी व्यवसायी संघका अनुसार तनहुँमा सातामा ४ केजी र महिनामा २० केजी सुनको माग छ, तर अहिले सातामा १ केजी र महिनामा ४ केजी मात्रै सुन उपलब्ध भइरहेको छ । यसले गर्दा चाडबाडको समयमा सुन अभाव भएको संघका अध्यक्ष कृष्ण सुनार बताउँछन् ।
सुनचाँदी व्यवसायसम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरण भएको भन्दै तनहुँका व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरूले सुनको आयातमा कोटा बढाउन माग गर्दै आएका छन् ।
कुनै पनि सामग्री उत्पादनका लागि कच्चा पदार्थ चाहिन्छ । गरगहनाको कच्चा पदार्थ सुन हो । तर, यहाँ मागअनुसारको सुन नपाइएको सुनारले बताए । “जसका कारण सिजनको बेला समेत सुन अभाव हुँदा व्यवसायीलाई मर्का परेको छ,” उनले भने ।
तनहुँमा १ सय ८५ जना व्यवसायीलाई हप्तामा १ केजी र महिनामा ४ केजी मात्र काँचो सुन उपलब्ध भइरहेको छ जबकि सातामा ४ केजी र महिनामा २० केजी सुन आवश्यक पर्छ । राज्यले सुनको कोटामा वृद्धि नगरे व्यवसाय नै धरापमा पर्ने संघका अध्यक्ष सुनाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्