अघोषित लोडसेडिङ गरेका छैनौ : घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघोषित रूपमा लोडसेडिङ नगरेको बताएका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर उनले अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित-अघोषितरूपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको बताएका हुन् । “प्राविधिक समस्याका कारण कहीं कतै केही बेरसम्म विद्युत् आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत् आपूर्ति सुचारु गरिरहेको छ ।” उनले विज्ञप्तिमा भनेका छन्, “आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरूको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाई समग्र विद्युत् वितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार देशैभरि काम भइरहेको छ ।”
हिउँद लागेसँगै खोला तथा नदीमा पानीको बहाव घट्दा विद्युत् उत्पादनमा कमी आउने तर विद्युत् माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन गरी विद्युत् आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । चुनौतीको सामना गरी आमग्राहकलाई उज्यालो दिन गत वर्षझैं यस वर्षको हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले विद्युत् माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको उल्लेख छ । प्राधिकरणका अनुसार, विद्युत् उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत् आयोजनाहरूबाट कुलेखानी जलाशयबाहेक ३ सय ७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ भने अपुग तीन सय मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत् माग हुने समयमा मात्र करिब तीन घण्टा विद्युत् कटौती गर्नुपरेको अवस्था छ ।
हिउँदको विद्युत् मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत्गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत् विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको र हिउँदयामको विद्युत् आपूर्तिका लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा विगतमा झैं विद्यमान नेपाल–भारत प्रसारणलाइन संरचनाहरूबाट सहजरूपमा विद्युत् आपूर्ति भई नै रहेको र यसको निरन्तरताका लागि भारत सरकार र सम्बन्धित नियकायहरूबाट प्राधिकरणले सहयोग पाइरहेको विज्ञप्तिमा उल्लेख छ ।
विद्युत् चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत् खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आ–आफ्नोतर्फबाट सहयोग गरी दिनुहुन प्राधिकरणले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।