Logo

सोलार विद्युत् खरिद सम्झौता

 तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारामा सोलारबाट उत्पादन हुने विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । बेलचौतारा सोलार आयोजना प्रालि र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको हो ।
सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सोलार आयोजना प्रालिका प्रबन्धक तिलबहादुर आलेले हस्ताक्षर गरेका छन् । सोलार विद्युत् खरिदका लागि पहिलो पटक पीपीए सम्झौता भएको हो । प्राधिकरणसँग प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरिद गर्ने सम्झौता भएको प्रबन्धक आलेले जानकारी दिए । उनका अनुसार अब केही दिनमा निर्माणको काम सुरु हुनेछ । सोलार आयोजनाले ५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । २०७६ भदौ महिनाभित्र विद्युत् उत्पादन गरी प्राधिकरणलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ ।
सोलारबाट उत्पादित विद्युत्लाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारणमा जोडिने छ । आयोजना सम्पन्न गर्न करिब ६० करोड लाग्ने अनुमान गरिएको छ । विद्युत् उत्पादनका लागि प्रालिले भानुभक्त क्याम्पसको करिब १ सय रोपनी जग्गा भाडामा लिएको छ । २ वर्षअघि भाडामा लिइएको सो जग्गाको भाडा वार्षिक करिब १३ लाख रुपैयाँ रहेको ।

प्रतिक्रिया दिनुहोस्