हेरुँ–हेरुँ लाग्ने हुम्ला

हाल हुम्लाको सिमकोट ट्रान्जिट हुँदै नाम्खा गाउँपालिकाको
हिल्सा हेलिप्याडमा अवतरण गरी हजारौं विदेशी पर्यटक
कैलाश मानसरोवर जाने गरेको भए पनि नाम्खा गाउँपालिकाको
पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आगामी दिनमा समृृद्ध पर्यटकीय
स्थल निर्माण गर्नको लागि महोत्सव सुरु गर्ने तयारी गरिएको हो ।
त्यसैगरी यसै आर्थिक वर्षमा अझै पर्यटकीय स्थलको विश्व मानचित्रमा
फैलाउनको लागि वृत्तचित्र निर्माण गरी यसको दायरालाई फराकिलो
बनाउनको लागि तयारी भइरहेको बताइएको छ ।
जाडोको बेलामा हिउँले सेताम्य हुने हिमाल, वर्षा र वसन्त ऋतुमा हुने हरियालीसँगै छोपिएको लटरम्म फलेका स्याउ, ओखरका बोटले पर्यटकलाई मन्त्रमुग्ध पार्ने गरेका छन् । एकान्तमा प्रकृतिसँग रमाउन चाहने र प्रकृति अध्ययन गर्न चाहने पर्यटकको लागि हुम्ला एक उपयुक्त गन्तव्य स्थल हुनसक्छ । हरेक वर्ष आन्तरिक र बाह्य पर्यटक हुम्ला भ्रमणको लागि १५ देखि २० हजारसम्म भित्रिने गरेको तथ्यांक छ ।
हुम्लाका स्थानीय तहले पर्यटन प्रवद्र्धनको लागि विभिन्न आक्रामक कार्यक्रम अगाडि ल्याएका छन् । हुम्ला जिल्ला पर्यटनको मुख्य आकर्षणको केन्द्र भएको ठहर गर्दै यसलाई प्रचारप्रसार र प्रवद्र्धन गर्नको लागि स्थानीय तहले यस्तो कार्यक्रम ल्याएका हुन् ।
पर्यटन प्रवद्र्धनको लागि कुनै गाउँपालिकाले वृत्तचित्र निर्माण त कुनै गाउँपालिकाले पर्यटन महोत्सवको कार्यक्रम यसै आर्थिक वर्षमा सार्वजनिक गरेका छन् । विशेषगरी सदरमुकाममा रहेको सिमकोट, उत्तरको चीन सिमासँग जोडिएको नाम्खा र जिल्लाको बीच भागको सर्केगाड गाउँपालिका यसको लागि विशेष कार्यक्रमको साथमा आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
हुम्ला पुग्नको लागि पर्यटकलाई जानकारी नभएको कारण यहाँ पुग्नको लागि आकर्षण गर्न यस्तो कार्यक्रम ल्याएको स्थानीय तहका पदाधिकारीले बताउने गरेका छन् । ७ वटा स्थानीय तह गाउँपालिका भएको यस जिल्लामा चीनको सिमामा रहेको नाम्खा गाउँपालिकाले यही भदौ १९ र २० गते लिमी उपत्यकामा पर्यटन महोत्सवको तयारी गरिरहेको प्रमुख प्रशासकीय बमबहादुर सुनारले बताए । पर्यटन महोत्सवको हाल तयारी भइरहेको सुनारको भनाइ रहेको छ ।
जिल्लामा रहेका स्थानीय र राष्ट्रिय स्तरका पत्रकार, सम्पूर्ण कार्यलय प्रमुख, स्थानीयवासी, विदेशी पाहुनालाई लक्षित गरी यो महोत्सव सञ्चालन हुने भएको छ । स्वदेशी र विदेशी पर्यटकको मुख्य रोजाइ रहने नाम्खा गाउँपालिकाको लिमि उपत्यकामा दुर्लभ वन्यजन्तु, पशुपंछी र सुन्दर वस्ती मुख्य आकर्षणको केन्द्र रहेको छ ।
लिमी उपत्यकामा बस्ने लामा जातिको विशेष परिहन, रहनसहन र चालचलन समेत पर्यटन महोत्सवमा प्रदर्शन झाँकी रहने बताइएको छ । यसभन्दा अघि सयौंको वृत्तचित्र र जडिबुटी, वन्यजन्तु र पशुपंछीको अध्ययन भएको यस गाउँमा जंगली चौंरी हाल विश्वमा नै दुर्लभ भएको जनावर फेला परेको छ । त्यसैगरी २० भन्दा बढी विश्वमा दुर्लभ भएका चराचुरुङ्गी पनि यस क्षेत्रमा पाईने गरेको छ । हुम्लाको हिमाल पारीको गाउँ भनेर चिनिने यस गाउँमा छुट्टै पहिचान सहितको चालचलनले आन्तरिक र बाह्य पर्यटकको मन जित्ने गरेको छ ।
यहाँबाट चीनको पुराङ्ग काउण्टीमा रहेको पवित्र धार्मिकस्थल मानसरोवर कैलाशको पनि दर्शन गर्न सकिने भएकोले पनि अझ गाउँको महत्व बढेको छ । गाउँपालिकाको आर्थिक प्रवद्र्धन गर्नको लागि पनि यो महोत्सव सहायक सिद्ध हुने अनि गाउँपालिकाको मुख्य आयको रुपमा हेरिएको पर्यटन व्यवसायको प्रचारको लागि हाल तयारी भव्य भएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । ईसिमोडको आर्थिक सहयोग र हिमाली शिक्षा र विकासको व्यवस्थापनमा गाउँपालिकाको सहकार्यमा महोत्सव हुन लागेको हो ।
हाल हुम्लाको सिमकोट ट्रान्जिट हुँदै नाम्खा गाउँपालिकाको हिल्सा हेलिप्याडमा अवतरण गरी हजारौं विदेशी पर्यटक कैलाश मानसरोवर जाने गरेको भए पनि नाम्खा गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी आगामी दिनमा समृृद्ध पर्यटकीय स्थल निर्माण गर्नको लागि महोत्सव सुरु गर्ने तयारी गरिएको हो । त्यसैगरी यसै आर्थिक वर्षमा अझै पर्यटकीय स्थलको विश्व मानचित्रमा फैलाउनको लागि वृत्तचित्र निर्माण गरी यसको दायरालाई फराकिलो बनाउनको लागि तयारी भइरहेको बताइएको छ ।
सिमकोट नजिकै रहेको बुराउँसे गाउँमा रहेको होमस्टेको लागि पनि केही प्रवर्धनात्मक कार्यक्रम यो वर्षमा सञ्चालन गरिने प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । हाल होम स्टे रहेको भएता पनि यसलाई व्यवस्थित रुपमा सञ्चालन हुन र प्रचार प्रसार गर्न नसकिँदा होमस्टेमा पर्यटकको संख्या न्यून हुने अवस्था रहेको छ ।
त्यसैगरी हुम्लाका अन्य गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धन गर्नको लागि वित्तचित्र सहायक सिद्ध हुने भएकोले वृत्तचित्र बनाउने सम्झौता भएको सर्केगाड गाउँपालिकाका प्रशासकिय अधिकृत यज्ञश्वर पाण्डेले बताए । आफ्नो गाउँपालिकाको सम्भावित पर्यटकीय क्षेत्र, त्यस क्षेत्र जानको लागि आवश्यक पर्ने सामग्री, मौसम र ऐतिहासिक पौराणिक विषयमा समेत वृत्तचित्रले जानकारी गराई पर्यटकलाई गाउँपालिकामा भित्र्याउनको लागि सहायक हुन सक्ने भएकोले निर्माणमा जोड दिइएको पाण्डेको भनाइ छ ।
हुम्लामा हाल प्राकृतिक मनोरम दृश्य, धार्मिक पर्यटक, प्राकृतिक दृश्यावलोकन गर्ने पर्यटक र अध्ययन गर्ने पर्यटकको लागि सर्केगाड गाउँपालिका एक नमुना ठाउँ हुने भएकोले आगामी दिनमा यसले पर्यटन प्रवद्र्धनको लागि ठूलो सहयोग हुनेमा उनले विश्वास व्यक्त गरे । सर्केगाड गाउँपालिकालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिने सम्भावना रहेको छ ।
सर्केगाड गाउँपालिकामा रहेका हिमताल, सुन्दर हिमाल, लोपोन्मुख जडिबुटी, त्यहाँ मनाईने साँस्कृतिक चालचलन नै पर्यटकको विशेष आकर्षण रहेको छ । हाल विदेशी पर्यटकले सर्केगाड हुँदै बर्दियाको चिसापानी सम्म कायाकिङ्गको मार्ग पनि सर्केगाड गाउँपालिका रहेको छ । अपार जलभण्डार मानिएको सर्केगाड गाउँपालिकामा राष्ट्रिय राजमार्ग कर्णाली करिडोर चाँडै छुने गाउँपालिका भएकोले त्यहाँको पर्यटन क्षेत्र सुदृढ बनाउनको लागि हाल पूर्वाधार निर्माणमा गाउँपालिकाको कार्यालय लागि परेको अध्यक्ष कृष्ण रोकायाले बताए ।
गाउँपालिकाका विभिन्न वडामा भएको धार्मिक मठमन्दिरको जिर्णोद्धार, त्यहाँ पुग्नको लागि बाटो, बासस्थान लगायतको योजनामा पालिकाको कार्यलयलागि परेको रोकायाको भनाइ रहेको छ । साथै पालिका भित्र रहेका अनेकौं सुन्दर ठाउँको संरक्षणमा पनि लागि परेको उनको भनाइ छ । सिमकोट हुँदै मुगुको रारा ताल सम्म पैदल यात्रा गर्ने पर्यटक, कर्णाली नदीमा ¥याफ्टिङ्ग र कायाकिङ्ग गर्ने पर्यटक पनि सर्केगाड गाउँपालिकाको मुख्य आकर्षणको केन्द्र विन्दु हुन सक्ने अवस्था रहेको छ । बाटोमा बसोबास गर्ने होटेल र गाउँमा आकर्षक कार्यक्रम गर्न सकिएमा अझ पर्यटकको लागि आकर्षण सकिने अवस्था रहेको छ ।
अब सिमकोट पालिका हुँदै सर्केगाड गाउँपालिकाको तिरको पूर्व दक्षिणी भेगको बाटो निर्माण तिब्र भएको र कर्णाली करिडोर तिरको सल्ली सल्ला तर्फको बाटो स्काभेटरले द्रुत गतिमा काम गरिरहेकोले केही वर्षमा सर्केगाड गाउँपालिकाको विभिन्न ठाउँ पर्यटकको गन्तव्यस्थल हुन सक्ने प्रमुख प्रशासकिय अधिकृत यज्ञश्वर पाण्डेको भनाइ रहेको छ ।
सदरमुकाममा रहेको सिमिकोट गाउँपालिकाले पनि पालिका भित्र पर्यटकलाई बसाई लम्ब्याउनको लागि विभिन्न कार्यक्रम अघि सारेको छ । पर्यटक हुम्लामा हाल हवाई माध्यमबाट आउने गरेको भएता पनि धेरै दिन सिमकोटमा रहन सक्ने वातावरण सिर्जना गर्नको लागि वृत्तचित्रको निर्माणमा लागि परेको छ ।
वृत्तचित्र निर्माणपछि पालिकामा रहेका विभिन्न ताल, हिमाल, धार्मिक स्थल, होम स्टे, यहाँको भौगोलिक जानकारी, पर्यटकले प्राप्त गर्न सक्ने सेवा सुविधा लगायतको जानकारी वृत्तचित्रमा समेट्नको लागि तयारी भईरहेको र निर्माणको लागि लक्ष्मी मल्टिमेडियासँग सहकार्य गरिसकेको अध्यक्ष पदम बहादुर लामाले जानकारी दिए । जैविक विविधताको धनी मानिएको हुम्ला जिल्लामा फल्ने रहेक अन्नबाली औषधिय गुणको रुपमा लिने गरिएको छ । उचाईमा पाईने जडिबुटी र मानव बस्तीमा फलाईने अन्न बाली शतप्रतिशत अर्गानिक हुने गरेको छ ।
जाडोको बेलामा हिउँले सेताम्य हुने हिमाल, वर्षा र वसन्त ऋतुमा हुने हरियालीसँगै छोपिएको लटरम्म फलेका स्याउ, ओखरका बोटले पर्यटकलाई मन्त्रमुग्ध हुम्लाका हरेक ठाउँले पार्ने गरेका छन् । हुम्लाको दक्षिणी भेगमा केरा, सुन्तला खेती गर्न सकिने भूभाग र उत्तरमा बाह्रै महिना जम्ने ताल र हिउँले सेताम्य भएका हिमालले पर्यटकलाई आनन्दित बनाउने गरेको छ । एकान्तमा प्रकृतिसँग रमाउन चाहने र प्रकृती अध्ययन गर्न चाहने पर्यटकको लागि हुम्ला एक गन्तव्य स्थलको रुपमा लगिएको पाईएको छ । हरेक वर्ष आन्तरिक र बाह्य पर्यटक हुम्ला भ्रमणको लागि १५ देखी २० हजार सम्म भित्रिने गरेको तथ्यांक रहेको छ ।
जिल्लाका हरेक गाउँपालिकासँग सडक सञ्जाल विस्तार गरी यातायातको साधन सुचारु गर्न सकिएमा अझै पर्यटकको लहर फैलाउन सकिने अवस्था भएको भएता पनि हाल राष्ट्रिय कर्णाली करिडोरको निर्माण हुँदै गरेकोले हुम्लालाई भर्जिन जिल्लाकै रुपमा विकास गरिँदै आएको यहाँका जानकारले बताउने गरेका छन् । हाल हुम्ला भ्रमणको लागि आउने पर्यटकलाई सहज हवाई टिकटको अवस्था मात्र सिर्जना गर्न सकिएमा पनि हुम्लाका स्थानीय तहले ठूलो फाईदा लिन सक्ने अवस्था रहेको छ ।
हाल पर्यावरणको लागि पनि उपयुक्त भएको, यातायातका साधनको कारण उत्पन्न ग्याँस विसर्जन पनि कम भएको कारण हुम्ला राम्रो मानिएको छ । हवाई जहाजको मात्र यात्रा गर्नु पर्ने हुँदा केही खर्च महँगो हुन जाने हुनाले आन्तरिक पर्यटकलाई भने यो भारी खर्च हुन जाने गरेको छ ।