सदरमुकाम म्याङलुङ व्यवस्थित पार्किङले सहज «

सदरमुकाम म्याङलुङ व्यवस्थित पार्किङले सहज

तेह्रथुम-सदरमुकाम म्याङलुङ बजारमा जथाभावी सवारी पार्किङ गर्न नपाइने भएको छ । तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरे ट्राफिक प्रहरीसहित नगरपालिकाले समेत कारबाही गर्ने भएको छ । सवारी पार्किङका लागि बजार क्षेत्रमा अलग्यै ठाउ“ तोकिएको छ ।
अव्यवस्थित सवारी पार्किङले बजारको सुन्दरता गुमाएको र ओहोर–दोहोरमा समेत समस्या हुने गरेको भन्दै ट्राफिक प्रहरीको सहयोगमा म्याङलुङ नगरपालिकाले बजार क्षेत्रमा सवारी पार्किङलाई व्यवस्थित बनाएको हो । बजार क्षेत्रका सांँघुरा सडकमा मोटरसाइकल र अन्य सवारी साधन दुवैतर्फ पार्किङ गर्दा आपतकालीन अवस्थामा सवारी चलाउनसमेत समस्या थियो । यस्ता सवारी साधनका कारण एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको थियो । सवारी साधनलाई तोकिएको ठाउ“मा पार्किङ गरिएपछि यी सबै समस्या हटेको नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले वताए । व्यवस्थित सवारी पार्किङपछि बजारको सुन्तरतासमेत बढेको छ ।
नगरपालिकाको सहयोगमा बजार क्षेत्रमा ट्राफिक प्रहरीले साईन बोर्ड राखेर सवारी पार्किङ स्थल तोकिदिएको छ । सवारी पार्किङ निषेध गरीएको स्थानमा कसैले सवारी पार्किङ गरेको पाइए पहिलो पटक सचेत गराउने र दोस्रो पटक पनि सोही प्रकृति दोहोरिए जरिवाना गरिने अस्थायी ट्राफिक पोष्ट म्याङलुङका प्रहरी जवान शेषराज भण्डारीले बताए । सवारीलाई तोकिएका स्थानमा मात्र पार्किङ गराउन २४ सै घण्टा ट्राफिक प्रहरी खटिने गरेका छन् । जिल्लामा नै पहिलो पटक सुरु गरिएको यो नियमका कारण सवारी धनीलाई केही असजिलो भए पनि बजारवासीलाई भने सुविधा भएको म्याङलुङ वजारका तेजु खड्काले वताए ।
बजारवासीले बजार क्षेत्रका सडकमा राखेका निर्माण सामग्री बालुवा, गिट्टी, रड, ढुंगा, इँटालगायतका सामग्री समेत ट्राफिक प्रहरीको सहकार्यमा नगरपालिकाले हटाउन थालेको छ । सडकमा पैदल यात्री र सवारी ओहोर–दोहोरलाई समेत सहज बनाउन सफा र अवरोध रहित सहरको अवधारणा अघि सारिएको नगर प्रमुख तुम्बाहाम्फेले बताए । नगरपालिकाले बजार क्षेत्रको सडकको अवरोध हटाउन र सवारी पार्किङलाई व्यवस्थित बनाउन १ नम्बर वडा अध्यक्ष इन्द्रराज तुम्बाहाङफेको अध्यक्षतामा समिति नै गठन गरेर परिचालन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्