मन्त्रीले लगाए राष्ट्र बैंक कार्यालयमा ताला «

मन्त्रीले लगाए राष्ट्र बैंक कार्यालयमा ताला

जनकपुरधाम-प्रदेश नम्बर २ मा जनकपुरस्थित नेपाल राष्ट्र बैंकमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले तालाबन्दी गरेका छन् । प्रदेश सरकारले रक्षा बन्धनमा दिएको सार्वजनिक बिदाको निर्णयको अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका हुन् ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थाले पछि प्रदेश सरकार आक्रामक भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री यादव आफैं जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिएका थिए । संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले जनाए ।
उनले भने, “प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुनसुकै कार्यालयमा तालाबन्दी गर्ने छु ।”

मन्त्रीले सीमा नाघे : कानुनविद्
 यसैबीच, राष्ट्र बैंकको जनकपुरस्थित कार्यालयमा ताला लगाएर प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले आफ्नो सीमा उल्लंघन गरेको कानुनविद्हरूले बताएका छन् । संविधानको अनुसूची ५ को ५ नम्बरमा “केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण” संघीय सरकारको अधिनमा रहने उल्लेख छ । त्यसैगरी संविधानको अनुसूची ६ को २ नम्बरमा “नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय संस्थाहरुको सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग” प्रदेश सरकारको अधिनमा रहने उल्लेख छ ।
यी दुई प्रावधान अनुसार नेपाल राष्ट्र बैंक प्रदेश सरकारको अधिकारभित्र नपरेको देखिन्छ । यस्तोमा प्रदेश सरकारले गरेको निर्णय मानेन भनेर प्रदेश सरकारका मन्त्रीले ताल्चा लगाउनु सही नभएको अधिवक्ता अमृत खरेलले बताए । यो संघीय सरकारको अधिकार क्षेत्रभित्र हस्तक्षेप भएको बताउँदै उनले भने, “त्यहाँ केन्द्रीय सुरक्षा नियोगका पदाधिकारी यसबारे कुनै पहल नलिनु झन् गम्भीर देखिएयो ।”
मन्त्री यादवले भदौ ९ गते सार्वजनिक सूचना जारी गरेका थिए । त्यसमा भनिएको थियो, “प्रदेश सरकारको राजपत्रमा प्रकाशित बिदा सूचीअनुसार भदौ १० गते रक्षा बन्धन र जनै पूर्णिमाको सार्वजनिक बिदा रहेको हुनाले यस प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्था, संस्थान र विद्यालयहरूमा सार्वजनिक बिदा कार्यान्वयन गर्न गराउन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
आफूले जारी गरेको यो सूचनाको पालना नभएपछि आक्रोशित मन्त्री यादवले आफैं गएर राष्ट्र बैंकमा ताला लगाएका हुन् । प्रदेश मातहत नरहेका निकायमा प्रदेशले हस्तक्षेप गर्न थाल्दा अराजकता निम्तिन सक्ने भएकाले यसबारे संघीय सरकार गम्भीर हुनुपर्ने अधिवक्ता खरेलको भनाइ छ । प्रदेश र संघबीचका अधिकार बाँडफाडँबारेका बहसलाई संघीय सरकारले तत्काल सल्टाउनुपर्ने बताउँदै यस्ता कार्यले राम्रो सन्देश नजाने अधिवक्ता खरेलले जनाए ।

किरण कर्ण

प्रतिक्रिया दिनुहोस्