देउवाले तत्काल राजीनामा दिनुको विकल्प छैन : सापकोटा, देउवाले अहिले सरकार छोड्नुहुन्न : डा. महत «

देउवाले तत्काल राजीनामा दिनुको विकल्प छैन : सापकोटा, देउवाले अहिले सरकार छोड्नुहुन्न : डा. महत

नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सापकोटाले प्रधानमन्त्री देउवाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताए ।
उनले भने, “प्रधानमन्त्री देउवाजीको एउटै राजीनामाले अहिलेको गत्यारोधको निकास दिन्छ । राजीनामा दिन उहाँले किन ढिलाइ गर्नुभएको छ, हामीले बुझ्न सकेका छैनौं । जनमतको सम्मान गर्दै राजीनामा दिँदा नै कांग्रेसको पनि भलो हुन्छ ।”
सापकोटाले राष्ट्रियसभा निर्वाचनको बारेमा पहिल्यै नै बुहमतीय संक्रमणीय व्यवस्थाको आधारमा जाने सहमति भएको दाबी गरे । उनले थपे, “निर्वाचन आयोग, तत्कालिन सरकार र संसदको राज्यव्यवस्था समितिमा पनि राष्ट्रिय सभाको निर्वाचन बहुमतीयकै आधारमा गर्ने सहमति भएको थियो । अहिले आएर यसरी बेखडा झिक्नु हुँदैनथ्यो ।”
राष्ट्रपतिले अध्यादेश रोकेको भनेर कांग्रेसले आरोप लगाउनु सरासर गलत भएको समेत उनको भनाइ थियो ।
फरक प्रसंगमा उनले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता अब कसैले चाहेर पनि रोक्न नसक्ने जिकिर गरे । सापकोटाले थपे,“पार्टी एकता संयोजन समिति बनाएर हामी चुनावी महाअभियानमा होमिएका थियौं । जनताले पनि सोहीअनुसार जनमत दिएका छन् ।”
साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभा अध्यादेश तत्काल स्वीकृत गर्नुपर्ने बताए । अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरे ।
निर्वाचन आयोगले मतगणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै उनले भने,“कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धति हुँदैन । संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो । बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं, त्यही हुन्छ भन्दै हुनुहुन्छ, यो अहंकार हो ।”
स्थानीय तहको परिणाम आइसकेपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको माग गरेको भनेर आरोप लगाउनु नै गलत भएको उनको तर्क थियो । उनले थपे, “अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्विकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो ।”
महतले हिजो सरकारले अध्यादेश पेश गर्दाताका दलहरुबीच सहमति खोज्नुहोस् भनेर किन नभनेको भन्दै प्रश्न समेत उठाए । उनले भने, “राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव राखेर बस्नु हुँदैन, उहाँले अध्यादेश रोक्न मिल्दैन । हामी त भन्दैछौं कि राष्ट्रपति विवादमा आउनु हुँदैन । उहाँले तत्काल विधेयक स्विकृत गर्नुपर्छ ।”
उनले आफूहरुलाई सरकारमा बसिरहने रहर नै नभएको जिकिर गरे । उनले भने, “राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं । संविधानलाई लत्याएर देश चल्छ ? देउावले अहिले सरकार छोड्दै छोड्नुहुन्न ।”
अर्को प्रसंगमा महतले सस्तो लोकप्रियताको पछि लाग्नु नहुने भन्दै कांग्रेसलाई आधुनिक शैलीमा अघि बढाउनुपर्नेमा जोड दिए । “यसबारेमा केन्द्रीय कार्यसमितिमा बृहत् छलफल हुन्छ,” उनले भने ।
उनले पार्टी सभापतिको विकल्प खोज्छौं भनेर हिँड्नु उत्ताउलो टिप्पणी भएको बताए ।
नेकपा एमालेका नेता पार्वत गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले भने, “अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजीनामा दिनुपर्छ, तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि भन्ने आभाष हुन थालेको छ ।” उनले दुई पार्टीबीच एकता हुँदैन कि भनेर प्रचार गर्नु गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्