जोखिममा सत्तीघाट पुल «

जोखिममा सत्तीघाट पुल

बर्दिया-सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तीघाटमा निर्माण भएको पुल जोखिममा परेको छ । निर्माणकै क्रममा पुलको पूर्वी किनारामा एउटा पिलर थप गर्नुपर्नेमा जोखिमपूर्ण अवस्थामै माटो पटानी गरी गाइडबन्डको भरमा छाडिँदा पुल जोखिममा परेको हो ।
दुई वर्षअघि भ्वाङ परेर टालटुल पारिएको राजापुरतर्फ दीर्घकालीन रूपमा निकास नखोजिँदा पुल किनारामा पुनः भ्वाङ पर्न सुरु भएको छ । नदीमा पानीको बहाव बढेसँगै पुल सुरक्षाका लागि निर्माण गरेको स्पर पानीमा धसिएर जोखिमपूर्ण अवस्था भएपछि स्थानीय त्रसित भएका छन् । नेपाल सरकारको विकास बजेटअन्तर्गत करिब ४५ करोडको लागतमा निर्माण भएको ५३१ मिटर लम्बाइको पुल निर्माणकै क्रममा जोखिमपूर्ण अवस्थामै छाडिएको थियो ।
पुलमा १४ वटा पिलर हुनुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि निर्माणकै क्रममा नदीले धार परिवर्तन गर्दा पुलको अन्तिम पिलरदेखि ७० मिटर तटीय क्षेत्रमा राजापुर क्षेत्रतर्फ कटान गरेको थियो । कटान भएको स्थानमा एउटा स्ल्याबसहित पिलर थप गर्नुपर्नेमा पिलरबिना नै तटबन्ध बाँधेर माटो पटानी गर्नाले नदी कटानको जोखिममा पुल परेको बर्दिया उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रश्वर सुवेदीले बताए ।
पुल नदीको बीचबाटै पिलरबिना नै गाइडबन्डको भरमा जोखिमयुक्त अवस्थामा निर्माण सम्पन्न भएको र थप एउटा पिलर भएन भने पुल भत्किने खतरा रहेको भन्दै पहल गरी दिन विभिन्न निकायमा पटकपटक आग्रह गर्दा पनी सरकारी बेवास्ताका कारण पुल जोखिममा परेको उनको भनाइ छ । “नदीको बहाव तीव्र भएकाले तटबन्ध खस्किनुका साथै ग्राभेल गरेको ठाउँ पनि भत्किन सुरु गरेको छ,” उनले भने, “यस्तै स्थिति रहे नदीको बीचमा पुल हुनेछ ।”
पुलको पूर्वी किनारा राजापुरतर्फको स्लोप जाली नदी कटानको जोखिममा परेपछि पुल छेवैमा ठूलो भ्वांङ परेको स्थानीय नुरुद्धिन अहमद जसगढले बताए । “यो विषयमा राजापुरवासीले धेरै पटक आवाज उठाइसक्यांै,” उनले भने, “सरकारी निकाय मौन छ, यस्तै अवस्था रहे पुल नदीको बीचमा हुनेछ ।”
पुलमा एउटा स्ल्याबसहित पिलर थपका लागि ३ देखि ४ करोड लागत अनुमानसहित माग गरे पनि सरकारले बजेट विनियोजन नगरेका कारण जोखिम अवस्थामै पुल सम्पन्न गरिएको निर्माण कम्पनीले बताउँदै आएको छ । पुलको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न सम्बन्धित सरोकारवालालाई जानकारी गराएको राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीले बताए । “म भर्खरैमात्र पुल अवलोकन गरेर आएँ, एकदमै जोखिममा छ,” उनले भने, “दीर्घकालीन रूपमा समाधान खोजिएन भने पुल भत्किने खतरा छ ।” पुल सुरक्षाका लागि बनाइएको स्पर तल पानीमा खस्किसकेकाले पुल जोखिममा रहेको उनको भनाइ छ ।
२०७३ साउन दोस्रो साता पनि पुल किनारमा भ्वाङ परको थियो । भ्वाङ परेको ठाउँमा पुल मर्मत र गाइडबन्ड निर्माणका लागि सम्बन्धित ठेकेदारले अस्थायी रूपमा काम गरेको थियो ।
हुलाकी राजमार्ग आयोजनासँग यो विषयमा जानकारी लिन खोज्दा आयोजना प्रमुख कृष्णनाथ ओझालाई पटकपटक फोन गर्दा पनि उठेन । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पुलमा भ्वाङ परेको विषयमा आफूलाई जानकारी प्राप्त भएपछि हुलाकी सडक आयोजना र सम्बन्धित ठेकेदारलाई निर्माणका लागि निर्देशन दिएको बताए । “पुल निर्माणकै क्रममा लापरबाही भएको रहेछ,” उनले भने, “भोलिदेखि निर्माण गर्ने ठेकेदारले बताएको छ, पुल तत्कालै निर्माण गरी आवागमन सहज बनाउन पहल गरिरहेको छु ।”
सदरमुकाम गुलरियाबाट ३८ किमि पश्चिममा निर्माण भएको राजापुर–सत्ती जोड्ने पुल सञ्चालनमा आएपछि राजापुरदेखि सत्ती हँुदै कैलाली सदरमुकाम धनगढीसम्म यातायात सहज बनेको छ ।

प्रतिक्रिया दिनुहोस्