बल्ल जारी गरे कम्पनीहरूले लघुबिमा

सरकारले गत आर्थिक वर्षदेखि नै निर्जीवन बिमा कम्पनीहरूलाई अनिवार्य रूपमा लघुबिमा जारी गर्न निर्देशन दिए पनि गत कात्तिकदेखि मात्रै कम्पनीहरूले लघुबिमा योजना जारी गर्न शुरु गरेका छन् । करिब दुई महिनाको अवधिमा कम्पनीहरूले लघुबिमा पुलमार्फत ७८ वटा लघुबिमा योजना जारी गरेका छन् । नेपाल बिमक संघको व्यवस्थापनमा सञ्चालित लघुबिमा पुलले कात्तिक १५ गतेदेखि हालसम्म ६६ वटा व्यक्तिगत दुर्घटना लघुबिमा जारी गरेको छ । त्यस्तै, १० वटा लघु स्वास्थ्य बिमा र २ वटा लघु व्यवसाय बिमा जारी भएको छ । कम्पनीहरूले हालसम्म बनेपा, चौतारा र पाँचखालमा मात्रै लघु बिमा योजना जारी गरेका छन् । जसमध्ये बनेपामा छिमेक लघुवित्तमार्फत ४० वटा योजना जारी गरिएको छ । त्यस्तै बनेपामा नै डिप्रोक्स लघुवित्त मार्फत २५ वटा बिमा योजना जारी गरिएको छ भने चौतारामा स्वाबलम्बन लघुवित्त मार्फत ५ बिमालेख जारी गरिएको छ । त्यस्तै, पाँचखालमा पनि स्वाबलम्बनमार्फत नै ४ वटा योजना सञ्चालन गरिएको छ ।
सरकारले लघुबिमालाई अनिवार्य गरे पनि सञ्चालन खर्च उच्च हुने भएपछि कम्पनीहरूले सामूहिक रूपमा लघुबिमा योजना सञ्चालन गर्ने निर्णय गरेका हुन् । कम्पनीहरूले लघुबिमा पुल खडा गरी गत साउनदेखि नै बिमा योजना सञ्चालन ल्याउने तयारी गरेका थिए । तर, गत कात्तिकदेखि मात्रै लघुबिमा जारी गर्न थालिएको बिमा संघका कार्यकारी निर्देशक द्रोणप्रसाद आचार्यले बताए । “साउनदेखि हामीले लघुवित्त संस्थाहरूलाई तालिम दिन सुरु गर्यौं, कात्तिकदेखि मात्रै बिमा योजना जारी गर्न सुरु गरेका हौं,” उनले भने ।
हालसम्म संघले ३० वटा लघुवित्त संस्थालाई बिमा अभिकर्ता तालिम प्रदान गरिसकेको छ । सोमध्ये ६ वटाले लाईसेन्स लिइसकेका छन् भने ३ वटा प्रक्रियामा रहेको संघले जनाएको छ ।
लघु बिमाका लक्षित वर्गमा पुग्न कम्पनीहरूलाई कठिन हुने भएकाले पुलमार्फत बिमा योजना सञ्चालन गर्ने निर्णय गरेका हुन् । जसअनुसार तत्कालका लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई पुल म्यानेजर तोकिएको छ । पुल सञ्चालनका लागी विदेशी सहयोगी संस्था सक्षमले आर्थिक सहयोग गरेको छ भने नेपाल बिमक संघले व्यवस्थापन गर्नेछ ।
लघुबिमा सञ्चालन कै लागि बिमा समितिको नेतृत्व र सक्षमको संयोजकत्वमा संघ र नेपाल लघुवित्त बैंकर्स संघबीच २०७३ असोजमा नै सम्झौता भएको हो । जस अनुसार लघुवित्त कम्पनीहरूले नै लघुबिमा योजना जारी गर्न पाउनेछन् । जसबापत लघुवित्त संस्थाले १५ प्रतिशत कमिसन र १० प्रतिशत व्यवस्थापन खर्च पाउने सम्झौता भइसकेको छ ।
लघुविमा सञ्चालनको जिम्मेवारी लघुवित्त संस्थाले पाए पनि त्यसको नियन्त्रण भने पुल म्यानेजर कम्पनीले गर्नेछ । कम्पनीको अनुमतिबाट नै वित्तीय संस्थाले बिमा जारी गर्ने र दाबी भुक्तानीसमेत गर्न पाउनेछन् । वित्तीय संस्थाहरूले सञ्चालन गरेको लघुविमाको विवरण पुल म्यानेजर कम्पनीले संकलन गर्नेछ ।