जलवायु अनुकूलन परियोजना कार्यान्वयन गर्न ३० करोड «

जलवायु अनुकूलन परियोजना कार्यान्वयन गर्न ३० करोड

काठमाडौं-नेपाललाई जलवायु अनुकूलन परियोजना कार्यान्वयन गर्न ३० करोड रुपैयाँ अनुदान उपलब्ध भएको छ । संयुक्त अधिराज्य (यूके) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो ।
नेपाल सरकार, यूएनडीपी र नेपालमा रहेको यूकेको अन्तर्राष्ट्रिय विकास विभाग (डीफीड) ले प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ मा रहेका जलवायु जोखिमयुक्त पालिकालाई जलवायुमैत्री प्रारूप तयार पार्न र कार्यान्वयन गर्न अनुदान उपलब्ध गराएको हो । १४ वटा पालिकामा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसी) को कार्यान्वयनमा यूकेले यूएनडीपीलाई सहयोग गर्नेछ । ३० करोड रुपैयाँ बराबरको यो परियोजना १४ वटा पालिकाको नेतृत्वमा आगामी १ वर्षसम्म कार्यान्वयन गरिनेछ । परियोजनाले विकास योजनालाई जलवायुमैत्री बनाउने र स्थानीय रूपमा पहिचान गरिएका खानेपानी, सिँचाइ, भिरालो जमिनको स्थिरीकरण र पानी संरक्षणसँग सम्बन्धित करिब १०० वटा जलवायुमैत्री विकास परियोजना कार्यान्वयन गरिने छ ।
यूएनडीपी र वन तथा वातावरण मन्त्रालयको संयुक्त परियोजनाको रूपमा रहेको एनसीसीएफसीले विगत पाँच वर्षभन्दा अगाडिदेखि नेपालका जलवायु जोखिमयुक्त जिल्लालाई जलवायुमैत्री विकास परियोजनाको पहिचान एवं कार्यान्वयनमा सहयोग गर्दै आइरहेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल र यूएनडीपीका राष्ट्रिय निर्देशक रेनो मेयरबीच परियोजना दस्तावेजमा हस्ताक्षर भएको थियो । डीफीड नेपालका कार्यालय प्रमुख डा. रुरिक मार्सडेंन र यूएनडीपी नेपालका निर्देशक मेयरबीच लागत साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्