गठबन्धनमा सम्मानजनक स्थान खोज्दै माओवादी «

गठबन्धनमा सम्मानजनक स्थान खोज्दै माओवादी

पार्टी एकीकरणको घोषणा गर्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा निर्वाचन परिणाम घोषणा भइनसक्दै आन्तरिक अविश्वास सुरु भएको छ । माओवादीभन्दा धेरै सांसदसहित एमाले संसद्मा उपस्थित हुने भएपछि सम्मानजनक हैसियत नपाए पार्टी एकता र सत्ता सहयात्रामा समस्या हुन सक्ने आन्तरिक विश्लेषण माओवादी केन्द्रले गरेको छ ।
निर्वाचन र अघि र पछिको एमाले शैली फेरिएको र ठूलो दल भएसँगै दम्भ बढेको उसको निष्कर्ष छ । माओवादी स्रोतका अनुसार यदि एमालेसँगको पार्टी एकता निष्कर्षमा नपुगे कांग्रेससँग सहकार्य गर्दै सत्ताको नेतृत्व लिने वैकल्पिक धारमा केही प्रभावशाली नेता पुगेका छन् । एमालेका प्रभावशाली केही नेताहरूले सरकार र एकीकृत पार्टीको नेतृत्व केपी ओलीले नै गर्ने बताउन थालेपछि माओवादी सशंकित बनेको हो ।
माओवादी केन्द्रले सरकारको नेतृत्व ओलीले गरे एकीकृत पार्टीको नेतृत्व पुष्पकमल दाहालले गर्नुपर्ने बताउँदै आएको छ । पुस ३ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र पार्टीको नेतृत्व एमालेलाई दिन नसकिने निष्कर्ष निकालेको थियो ।
“हाम्रो जोड पार्टी एकताको अन्तिम प्रारुप तय गरिसकेपछि मात्रै सरकार गठन गरौं भन्ने हो,” माओवादी केन्द्रका एक प्रभावशाली नेताले कारोबारसँग भने, “तर सरकार गठनको प्रक्रियालाई रोक्ने पक्षमा हामी छैनौं ।”
सरकार र एकीकृत पार्टीमा सम्मानजनक स्थान नपाए वा एमालेमा दम्भ बढे परिस्थिति अर्को बन्न सक्ने ती नेताले संकेत गरे । “पार्टी र सरकारमा सम्मानजनक ठाउँ पाउनुपर्छ भन्ने हाम्रो माग हो । यो विषयमा छलफल गरेर टुंगोमा पुग्न सकिन्छ र हाम्रो प्रयास हुनेछ,” ती नेताले भने, “सम्मानजनक ठाउँ नपाए अर्को विकल्प के हुन सक्छ, त्यतातर्फ पनि सोच्न सकिन्छ ।”
राष्ट्रिय सभा गठनसम्बन्धी विधेयकमा देखिएको विवाद समाधानका लागि केही दिनअघि बालुवाटार पुगेका दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वर्ष सरकारको नेतृत्व गर्न प्रस्ताव राखेको स्रोतको दाबी छ । तर, दाहालले भने देउवाको प्रस्ताव अस्वीकार गरेका थिए । “देउवाजीले पाँच वर्ष सरकारको नेतृत्व गर्नुस्, लिखित सहमति गरौं भन्ने प्रस्ताव राख्नुभएको हो,” माओवादीका ती नेताले दाबी गरे, “तर बाम गठबन्धनमार्फत पार्टी एकतालाई जनताले अनुमोदन गरिसेका छन् । हामी अहिले यो गठबन्धन तोड्ने पक्षमा छैनौं भनेका छौं ।”
पार्टी एकता र सरकार निर्माणमा सन्तोषजनक प्रगति नभए कांग्रेसको प्रस्तावमा अहसमत हुन नहुने अर्का एक नेताले बताए ।
यसैबीच, बाम गठबन्धनको एकता संयोजन समितिको बैठक आज (शुक्रबार) बोलाइएको छ । केही समयअघि एमाले महासचिव ईश्वर पोखरेलले सार्वजनिक रुपमा दिएको सरकारको नेतृत्व र पार्टीको नेतृत्व एकै व्यक्तिले गर्ने अभिव्यक्ति र माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले निकालेको पार्टी एकताको प्रारुप तय गरेर मात्रै सरकार गठन गरिनुपर्ने निष्कर्षका कारण गठबन्धन टुट्न सक्ने आशंका समेत व्यक्त भइरहेका छन् । यद्यपि दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकतामा शंका नगर्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्