लिपुलेक र हिङसाङचुलीमा सशस्त्रको बीओपी «

लिपुलेक र हिङसाङचुलीमा सशस्त्रको बीओपी

९७ नाकामा बीओपी राख्न योजना बनाउँदैछौं : महानिरीक्षक खनाल
सशस्त्र प्रहरी बल (एपीएफ) चीन र भारत जोड्ने २ त्रिदेशीय सीमा नाका नजिकै सुरक्षा फौज तैनाथ गर्ने भएको छ । नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सीमा विन्दु दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुली नजिकै सशस्त्रले बोर्डर अब्जर्भर पोस्ट (बीओपी) स्थापना गर्ने भएको हो । त्रिदेशीय सीमानामा कूटनीतिक चातुर्यता देखाउन नसके छिमेकी मुलुकबीच विवाद उत्पन्न हुनसक्ने जोखिम रहन्छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन जोड्ने ८७ स्थानमा बोर्डर अब्जर्भर पोस्ट (बीओपी) तैनाथ गरिएकोमा अब थप ९७ युनिट विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । सीमाविद् वुद्धिनारायण श्रेष्ठका अनुसार ताप्लेजुङ जिल्लाबाट उत्तरतर्फ अवस्थित हिङसाङचुली नेपाल–चीन–भारत जोडने संयुक्त सीमाविन्दु हो । यस्तै कालापानी क्षेत्रको लिपुलेक पनि त्रिदेशीय विन्दुकै प्रमुख नाका हो । सीमाविद् श्रेष्ठ हिङसाङचुली लिपुलेक जत्तिकै महत्वपूर्ण र अति संवेदनशील त्रिदेशीय विन्दु भएपनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
यी दुई नाका बाहेक भारत र चीन जोड्ने दक्षिण र उत्तर तर्फका ९५ स्थानमा पनि बीओपी स्थापना गर्ने भएको हो ।
अहिले चीन र भारतीय सीमा जोड्ने ८७ स्थानमा मात्रै सशस्त्र प्रहरीले निरीक्षकको कमान्डमा बीओपी तैनाथ गर्दै आएको छ । त्यसमध्ये ८० भन्दा बढी बीओपी भारत र बाँकी चीनसँग सीमा जोडिएका क्षेत्रमा तैनाथ छन् । लिपुलेक र हिङसाङचुली सहित ८४ बीओपी व्यापारिक र सामरिक महत्वका आधारमा तैनाथ गराउने सशस्त्र प्रहरीको तयारी छ ।
२०७२ जेठमा भारत चीनबीच नेपालको समेत सीमा जोडिएको लिपुलेकबाट दुवै देशले व्यापार व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेका थिए । त्यसपछि नेपाली पक्षले लिपुलेक नेपालको पनि भूमि भएको बताएपछि सीमा विवाद चुलिएको थियो ।
भारत, चीन र भुटानको त्रिदेशीय सीमाविन्दु डोक्लामलाई लिएर गतवर्ष चीन र भारतबीच विवाद नै भएको थियो । तिब्बतको चुम्बी उपत्यकाबाट उत्तर, भुटानको हा उपत्यकाबाट पूर्व तथा भारतको सिक्किमबाट पश्चिम क्षेत्र त्रिदेशीय सीमा डोक्लाम भूमी स्वामित्व विवादका कारण भारत र चीनका सेना नै आमनेसामने भएका थिए । पछि दुवै देशले कूटनीतिक माध्यमबाट उक्त विवाद सुल्झाएका थिए ।
“८७ बीओपी बाहेक आवश्यक साधनस्रोत र जनशक्तिको उपलव्धता बढाएर थप ९७ युनिट बीओपीका रुपमा तैनाथ गर्ने योजना बनाएका छौं,” सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, “सामरिक तथा व्यवसायिक महत्वका आधारमा क्रमशः युनिट विस्तार गरिने छ ।”
दुवै त्रिदेशीय सीमा नाका व्यापारिक दृष्टिकोणले पनि अति नै महत्वपूर्ण रहेको र त्यस क्षेत्र हुँदै त्रिदेशीय व्यापार÷व्यवसाय गर्न समेत सहज कूटनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ । गृह मन्त्रालयका अनुसार पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला सम्म नेपाल–चीन १ हजार ४ सय ३९ किमि लम्वाइको नेपाल–चीन सीमानामा २६ भञ्ज्याङ र १ दर्जन वैकल्पिक नाका चीनसँग जोडिएका छन् ।
दार्चुलाको टिङकर भञ्ज्याङ, हुम्लाको लाप्चे, मुगको नाम्ला, संखुवासभाको राग्लालगायत उत्तर तर्फ सीमा जोडिएका ११ जिल्लाका २६ वटा भञ्ज्याङ सामरिक हिसावले ज्यादै महत्वपूर्ण र संवेदनशील मानिन्छन् । हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, बझाङको उरै, र राइढुङगा, हुम्लाको चुवा, टाँके र लिमी, मुगुको नाक्चा, दोलखाको लामाबगर लगायत नाकाको सुरक्षामा नेपालले प्रभावकारी कदम चाल्न सकेको छैन । त्यस्तै उत्तरतर्फ झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, पर्सा, बाँके लगायत दक्षिणतर्फका २२ जिल्लाका ७० भन्दा बढी नाकामा कुनैपनि सरकारी संयन्त्र राखिएको छैन ।
अध्यागमन विभागले पनि यी नाकामा सुरक्षा निकाय र अध्यागमन विभागको संयुक्त संयन्त्र विस्तार गर्नुपर्ने प्रस्ताव गतवर्ष नै अघि सारेको थियो । तर अर्थ मन्त्रालयले साधनस्रोतको अभाव देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्