विमानस्थल टालटुलमै करोडौं भुक्तानी

नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्ने दर्जनौं आयोजनाहरूमा कमसल काम गर्ने ठकेदारसँगको मिलेमतोमा गुपचुप ठेकदारलाई रकम भुक्तानी गर्ने गरेको पाइएको छ । रामेछापको मन्थली विमानस्थलको धावनमार्गको कालोपत्रे निर्माण सम्पन्न भएको दुई महिनामै भत्किएको विषय नागरिक उड्डयन प्राधिकरण नेतृत्वले गुपचुप राखेर टालटुलकै भरमा भुक्तानी दिएको खुलासा भएको छ ।
ठेकेदार कम्पनीले धावनमार्ग कालोपत्रे गरेपश्चात् प्राधिकरण नेतृत्वले हतारमा भुक्तानी दिएको खुलेको हो । मन्थलीमा रहेको उक्त विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको दुई महिनामै चिरा–चिरा भएर फाटेको विषय नेतृत्वले समयमै थाहा पाए पनि मिलेमतोमा रकम भुक्तानी गरेको खुलेको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७०-०७१ को वार्षिक बजेटमार्फत् ४ करोड २५ लाख ९८ हजार रुपैयाँ खर्च गरेर कालोपत्रे गरेको थियो । नियमित उडान नहुने विमानस्थलमा पनि हतारहतार गरिएको कालोपत्रे दुई महिनामै टालटुल पारिएर सञ्चालनमै राखिएको समेत पाइएको छ । प्राधिकरणले कालिका थोदुङ जेभि निर्माण कम्पनीलाई कालोपत्रेको जिम्मा दिएको थियो ।
प्राधिकरण र निर्माण कम्पनीबीच ०७० पुस ११ गते निर्माण सम्झौता भएको थियो भने ०७० कै पुस २५ गतेबाट काम थालेको थियो । ०७१ चैत १० गते निर्माण सम्पन्न गरेको पाइएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको दुई महिनामै पार्किङ–वे, धावन मार्गलगायत क्षेत्र भत्किएको थियो ।
भत्किएपछि निर्माण कम्पनीलाई कारबाही गर्नुको सट्टा टालटुल पारेर रकम भुक्तानी दिएको समेत भेटिएको छ । उक्त समयमा गुपचुप राखिएको विषय ०७३ सालमा पुनः ब्युँतिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समेत उक्त कुराको जानकारी आएपछि पुनः प्राधिकरणले ठेकेदार कम्पनीलाई ०७३ जेठमा टालटुल पार्न भने पनि जेठ ३० गते सबै ठाउँमा टालटुल पारेर बुझाइएको थियो ।
धावनमार्गको उत्तरी छेउमा ३ ठाउँमा निर्माण सम्पन्न भएको केही दिनमै पुनः टालेको देखिन आएको थियो । त्यसपछि प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त टोलीले अवलोकन गर्दा पनि नयाँ कालोपत्रे भनिए पनि टालटुल पारिएको थियो भने दुई भागमा धावन मार्गसमेत छुट्टिएको थियो । प्राधिकरण स्रोतका अनुसार पछिल्लो समय विमानस्थल निर्माण भन्दा पनि संरचना कमसल खालको बनाएर कमिसन लिने प्रवृत्ति बढेको छ ।
“काम राम्रो भन्दा पनि ठेकेदारबाट कति कमिसन लिन सकिन्छ भन्नेमा ध्यान गएकोले धेरै आयोजनामा निर्माण भएका संरचनामा समस्या रहेको छ,” स्रोतले भन्यो । प्रत्येक आयोजनामा ठेक्का लिने ठेकेदारहरूले १० प्रतिशत रकम पहिले नै बुझाउने गरेको समेत प्राधिकरणकै एक उच्च अधिकारीले बताए । प्राधिकरण नेतृत्वले आयोजना प्रमुखहरूले खुलेआम नक्कली काम गर्दा समेत कारबाही नगर्नुले मिलेमतो हुनसक्ने समेत स्रोतको दाबी छ ।
मन्थली विमानस्थल कालोपत्रेको विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । विमानस्थल धावनमार्ग कालोपत्रे गरेको समयको सम्पूर्ण कागजपत्र आयोगले नियन्त्रणमा लिएको बताइएको छ ।