मिडियाले कम आकलन गरेकै हो त ? «

मिडियाले कम आकलन गरेकै हो त ?

आमसञ्चारमाध्यमले अमेरिका, युरोपको सकारात्मक पक्ष मात्र देखाउँछन् र बाँकी विश्वको नकारात्मक चित्रण गर्छन् भन्ने बुझाइ छ ।

स्नातकोत्तर तहमा पत्रकारिता र आमसञ्चार विषय अध्ययन गर्ने विद्यार्थीका लागि धेरै देशमा एउटा सामान पाठ्यवस्तु समावेश गरिएको छ । त्यो हो, विश्वका ठूला आमसञ्चारमाध्यमले आर्थिक र सामरिक रूपमा कमजोर मुलुकहरूको सम्बन्धमा नजरअन्दाज र अवमूल्यन गरेर समाचार र सामग्रीहरू बनाउँछन् । उदारणका लागि उत्तर अमेरिका र युरोपमा रहेका अन्तर्राष्ट्रिय आमसञ्चारमाध्यम जस्तै सीएनएन र बीबीसीले अफ्रिका, एसिया र दक्षिण अमेरिकाबारे गलत, भ्रमपूर्ण र अपमानपूर्वक विषयवस्तु पस्कने गरेका छन् भन्ने गरिन्छ । प्रस्तुत लेखमा यसलाई फरक दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको छ ।
एक जना संयुक्त राष्ट्र संघमा काम गर्ने युरोपेली मुलुकका अधिकारीले आफू नपुग्दा बुझेको र पुगेपछि बुझेको इथियोपियामा एकदमै भिन्नता रहेको अभिव्यक्ति दिए । मिडिया सुन्दा इथियोपिया भनेको गरिबी, रोग, भोक, असम्भयता, भैझगडा, द्वन्द्व, पूर्वाधारविहीन देश हो भन्ने बुझेका रहेछन् । तर, अबाब विमानस्थलमा ओर्लेपछि आफूले मस्तिष्कमा चित्र बनाएभन्दा धेरै गुणस्तर र भौतिक सुविधा सम्पन्न विमानस्थल उनले अनुभव गरे । आफ्नो प्रोजेक्ट सञ्चालन गर्न जब गाउँबस्तीमा गए, उनले मानिसहरूले सहजै रूपमा जीविकोपार्जन गरेको, सरसहयोग गरेको, मानिसहरू असल र मिलनसार भएको पाए । उनले भने, “मिडियाले मेरो दिमागमा गलत तस्विर बनाइदिएको रहेछ ।”
यस्तै अनुभव, बुझाइ र विश्लेषणका आधारमा विकसित र धनी भनिएका मुलुकमा रहेका अन्तर्राष्ट्रिय पहुँच भएका आमसञ्चारमाध्यमको आलोचना हुने गर्छ । मानिसहरूको दिमागमा गलत चित्र बनाउने नियतले नै सञ्चार सामग्री तयार गरिन्छन् भन्ने आलोचकको बुझाइ रहेको छ । तर, यो पङ्क्तिकारले त्यसलाई पुष्टि गर्ने आधार र प्रमाण प्राप्त गरेको छैन । माथि उल्लिखित राष्ट्रसंघीय अधिकारीले इथियोपियाका कुनै भेगका केही जनताको कारुणिक समाचार सामग्री टिभीमा हेरेका थिए । त्यसअघि नेपालसमेत भ्रमण गरिसकेका उनले काठमाडौंभन्दा अदिस अबाब एयरपोर्ट खराब होला भन्ने पूर्वानुमान आफैं गरेका थिए । मिडियाले जति सामग्री दियो, त्यति सामग्रीको जिम्मेवार मिडिया हो तर मानिसहरूले त्योभन्दा बढी कल्पना गरेर अनुमान, आग्रह र विचार बनाउँछन् भने त्यो मिडियाको दोष हुन्छ र ?
आमसञ्चारमाध्यमले अमेरिका, युरोपको सकारात्मक पक्ष मात्र देखाउँछन् र बाँकी विश्वको नकारात्मक चित्रण गर्छन् भन्ने बुझाइ रहेको छ । नकारात्मक मात्र चित्रण गर्ने प्रकृति त सबै सञ्चारमाध्यमको हुन्छ । यसमा सीएनएन र बीबीसीलाई मात्र किन दोष दिनु ? ती मिडिया विश्वभर सुनिन्छन्, देखिन्छन् र सबैमा प्रभाव पर्छ । अरू मिडियाले थोरै क्षेत्रमा प्रभाव पार्छ । सञ्चारमाध्यमले अडियन्सका लागि रुचिकर विषय पस्कने हो । केही मानिसले रोग, भोक, अभाव भोगेका छन्, मानिसहरू ठगी, चोरी, डकैती, शोषण, हिंसाबाट पीडित भएका छन् भने त्यसलाई आम सञ्चारमाध्यमले उठाउनैपर्छ । त्यस्ता विषय अन्त्य गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहल होस् भनेर सञ्चारमाध्यमले देखाउनुपर्छ । यस्ता विषयलाई जति महत्व दिइन्छ, सामान्य जीवनयापन भएका विषयलाई उति नै महत्व दिनुपर्छ भन्ने तर्क उचित हुन्छ र ?
सकारात्मक विषय प्रस्तुत गर्ने मिडिया पनि आलोचनाको सिकार बनेकै छन् । जस्तै : भारतमा सोनी, स्टार प्लसजस्ता टिभीले भारतको नजरअन्दाज गरे भन्ने आरोप लाग्छ । भारतमा त्यत्रो गरिबी, ठगी, कमजोर भौतिक पूर्वाधारले जनता सामान्य जीवन बिताउनबाट वञ्चित छन्, तर केही टेलिभिजन हेर्दा भारतमा कुनै समस्या छैन, मानिसहरू विलासी जीवन र मनोरञ्जनमा मात्र लिप्त छन् भन्ने देखिन्छ भन्ने टिप्पणी त्यहाँ भएको सुनिन्छ ।
नेपालमा २०७२ सालको भूकम्प जाँदा भारतीयलगायत विदेशी सञ्चारमाध्यमले नेपाललाई हेपेर वास्तविकभन्दा बढी क्षति भएको बुझिने गरी रिपोर्टिङ गरे भनेर यहाँ टीकाटिप्पणी भए । भूकम्प जानासाथ नेपाली सरकारी अधिकारी र स्वदेशी मिडियाहरूले नै वास्तविकभन्दा ठूलो क्षति भएजस्तो देखिने गरी अभिव्यक्तिहरू दिए । विदेशी मिडियाले सुरुमा त्यसकै आधारमा आफ्नो बुझाइ बनाए । स्वदेशी मिडियाले पछि आफूलाई सच्याए, स्वदेशीको तुलनामा विदेशीले यहीं बसेर विस्तृत सूचना संकलन गर्न सकेनन्, उनीहरूमा पहिलेकै बुझाइ कायम रह्यो । यसमा विदेशी मिडियालाई मात्र दोष दिन मिल्थ्यो र ?
नेपाल भ्रमण आएका कुइरे विदेशीलाई फर्कने बेला नेपाल कस्तो लाग्यो भनेर सोध्दा उनीहरूले यहाँका मानिसहरू असल रहेको र एकदमै रमाइलो भएको अनुभव सुनाउने गर्छन् । यही प्रश्न भारतीय पर्यटकलाई फर्कने बेला सोधियो भने त्यस्तो जवाफ आउने सम्भावना छैन । मानिसहरूले आफ्नो दृष्टिकोण आफूले अनुभव गरेको कुराबाट बनाउने हो । कुइरेलाई देख्नासाथ नेपालीहरू हाँसेर बोल्ने र उसलाई सहयोग गर्ने गर्छन्, किनकि उनीहरूप्रति सकारात्मक सोचको पूर्वाग्रह छ र साथै दुई÷चार डलर टिप्स देलान् कि भन्ने आस पनि छ । त्यो नभए पनि अंग्रेजीमा विदेशीसँग कुरा मात्र गर्न पाए पनि नेपालीले गौरव महसुस गर्छन् । भारतीय पर्यटकले नेपालीले जस्तै सार्वजनिक यातायातमा यात्रा गरेको भए कति ठाउँमा पकेटमारी, लुटपात, गालीगलौज भोगिसकेको हुन्छ । नेपालबारे उसको बुझाइ फरक हुन्छ ।

सञ्चारमाध्यमको मुख्य काम अनुसन्धानका लागि हाइपोथेसिस सिर्जना गर्न सहयोग गरिदिने हो । सामान्य अवलोकन र सामान्य सोधखोजबाट समाचार सामग्री बन्छन् । यसबाटै सबै समाजको प्रतिनिधित्व हुने भए सामाजिक अनुसन्धान (सोसल रिसर्च) भन्ने विषयको आवश्यकता नै पर्दैनथ्यो ।

अन्त्यमा, आमसञ्चारमाध्यमले प्रकाशन÷प्रसारण गर्ने सामग्री कुनै वैज्ञानिक अनुसन्धान पद्धतिबाट तयार गरिँदैनन् । वैज्ञानिक अनुसन्धानको निष्कर्ष भनिएको अवस्थामा मात्र सही प्रतिनिधित्व भएन भनेर आलोचना गर्न सकिन्छ । सञ्चारमाध्यमको मुख्य काम अनुसन्धानका लागि हाइपोथेसिस सिर्जना गर्न सहयोग गरिदिने हो । सामान्य अवलोकन र सामान्य सोधखोजबाट समाचार सामग्री बन्छन् । यसबाटै सबै समाजको प्रतिनिधित्व हुने भए सामाजिक अनुसन्धान (सोसल रिसर्च) भन्ने विषयको आवश्यकता नै पर्दैनथ्यो । त्यसैले जुन विषयवस्तु र क्षेत्रको दायरा जति हो, त्यसबाट त्यति मात्र अपेक्षा गर्नुपर्छ ।
रमेश घिमिरे

प्रतिक्रिया दिनुहोस्