आकर्षण बढ्दो, कलेज र कोटा थोरै «

आकर्षण बढ्दो, कलेज र कोटा थोरै

स्नातकमा कृषिः

दश जोड दुईको पढाइ पछि के पढ्ने ? विद्यार्थीदेखि अविभावकको मनमा खेलिरहने प्रश्न हो यो । सानो छँदा भोलि गएर के बन्छौं ? भनेर कसैले सोध्दा, डाक्टर वा इन्जिनियर भनेजस्तो सजिलो युवामा आइसक्दा विषय छान्न भने छैन । डाक्टर वा इन्जिनियरिङको विकल्पमा भने कृषि तथा वनसम्बन्धी विषय नै प्रमुख बन्ने गरेको छ ।
यतिबेला प्लस टु सकेका तन्नेरीहरू इन्ट्रान्सको तयारीमा इन्स्टिच्युटहरूमा धाइरहका छन् । इन्स्टिच्युटको बिजनेस पनि राम्रै चलेको छ । तर, विद्यार्थीहरू भविष्यको बिजनेस कुल विषयमा चलाउने सोंचमा छन् । प्लस टुमा राम्रो अंक ल्याएका तन्नेरीहरूमध्ये ‘बीएस्सी एजी वा फरेस्ट्री ट्राइ गर्दै छु’ भनेर उत्तर दिनेको संख्या पनि बढ्दो क्रममा छ । “प्राविधिक विषय भएकाले बीएस्सी एजी पढ्ने इच्छा छ, मेरा साथीहरू पनि यही नै पढौं भनिरहेका छन्,” केएमसी कलेज बागबजारबाट प्लस टु गरेकी मुना सुवेदी भन्छिन्, “कोटा थोरै छ रे रामपुर क्याम्पसमा नाम निकाल्न सकिन्छ कि भनेर निकै मेहनतले पढिरहेकी छु ।” रामपुर क्याम्पसमा नाम ननिस्किए पनि प्राइभेट कलेजमा भए पनि कृषिसम्बन्धी विषय पढ्ने इच्छा मुना र उनका साथीहरूको पाइन्छ ।
सरकारी कोटामा पढ्न न इन्जिनियरिङ सजिलो छ न त हेल्थ नै । अझ गाह्रो छ कृषिमा । किनभने कृषिमा कोटा थोरै छ । कृषि प्रधान मुलुक भएर पनि कृषिसम्बन्धी छुट्टै विश्वविद्यालय भने बल्ल अस्तित्वमा आएको छ । र, विश्वविद्यालयको केन्द्रीय क्याम्पसले छुट्याएको कोटा भने १६५ जना मात्रको छ । यस हिसाबले सरकारी कोटामै पढ्न भने विद्यार्थीले आफ्ना साथीहरूबीच अध्ययन गर्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । रामपुर क्याम्पसप्रतिको क्रेज नयाँ भने होइन ।
नेपालको पहिलो प्राविधिक क्याम्पसको रूपमा कृषि तथा वन विश्वविद्यायको स्थापना सन् २०१० मा भयो । तर, यो भन्दा पहिले लामो समय त्रिभुवन विश्व विद्यालयको कृषि तथा वन विज्ञान अध्ययन संकायको रुपमा संचालनमा रहे पनि यसको छवि उच्च नै छ । छुट्टै विश्वविद्यालयको रूपमा भने आठ वर्षअघि मात्र स्थापना भएको हो ।
कृषि नै अध्ययन गर्न चाहनेले रामपुर क्याम्पसको विकल्पमा कहाँ जान सक्छन् त ? प्रश्न स्वभाविक छ । यसका विकल्पमा निजी विद्यालयहरूमा अध्ययन गर्न सकिन्छ । डेरी, चिया तथा कफी, प्लान्ट साइन्स, फुड साइन्स जस्ता विषय पनि निजी विद्यालयमा अध्ययन अध्यापन भइरहको छन् । विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर कृषिका विभिन्न विधामा अध्ययन गराइरहेका पाइन्छन् । “प्राविधिक शिक्षामा कृषि पढ्ने निर्णय आफैमा निकै उचित निर्णय हुनसक्छ,” राजधानीको बानेश्वरस्थित कलेज अफ एप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी कलेजका भ्वाइस प्रिन्सिपल उत्तमकुमार भट्टराई भन्छन्, “पढाइमा खर्चको हिसाब हेर्दा इन्जिनियरिङ र डाक्टरभन्दा केही थोरै खर्च लाग्ने भए पनि अभिभावक र विद्यार्थीलाई अहिले मात्र नभई भविष्यमा पनि क्षेत्र विस्तार हुने विषय कृषि नै हो ।” कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिवसमेत रहेका भट्टराईले कृषि पढेर विद्यार्थीमा पछुतो नहुने बरु आत्मविश्वास बढ्ने बताउँछन् ।
कृषि तथा पशु विज्ञान प्रतिष्ठानको नाममा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको रामपुर क्यामपस र सम्बन्धन प्राप्त अन्य दश वटा क्याम्पसमा विभिन्न विषयमा अध्ययन हुने गरेका छन् । “विश्वविद्यालयले चार वर्षे बीएस्सी फिससिज, एमएस्सी इन सिड टेक्नोलोजीलगायतका नयाँ शैक्षिक विषय पनि थप गरेर अध्यापन गराउने व्यवस्था गरेको छ,” कलेजअन्तर्गतको सेन्टर फर वायोटेक्नोलोजी विभागका निर्देशक डा. ईश्वरी कडरियाले भने । यीसँगै विश्वविद्यालय अन्तर्गत कृषि इन्जिनियरिङ, डेरी टेक्नोलोजी, भेटेनरी, बागबानीलगायतका विषयमा यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कोर्स र थप समेत गरी दर्जन बढी अध्ययनका क्षेत्र विस्तार गरेको छ ।
चितवनमा केन्द्रीय कार्यालयका रहेको विश्वविद्यालयमा स्नातकदेखि विद्यावारिधीसम्मको अध्ययन हुन्छ । रामपुर क्याम्पसमा भेटेनरी, मत्स्य र कृषिका विविध विधामा अध्ययन गरेका विद्यार्थी नेपालभर र विश्वका विभिन्न मुलुकमा पनि काम गरिरहेका पाइन्छन् । यद्यपि क्याम्पसको संख्या र विद्यार्थी कोटा बढाउन सकेमा कृषि प्रधान मुलुकमा कृषि पढ्ने किसानका छोराछोरी बढ्ने थिए । तथ्यांकमा हेर्दा शैक्षिक सत्र ०७३-७४ मा जम्मा ९ सय ४५ जनाले कृषि तथा वन विश्वविद्यालयअन्तर्गत सरकारी र निजी कलेजमा अध्ययन गरेको देखिन्छ । विश्वविद्यालयको विद्यार्थी संख्या मुलुकभर अध्ययन गर्ने कुल विद्यार्थीको ०.२६ प्रतिशत मात्र हो । विश्व विद्यालयले निकट भविष्यमा कोटा बढाउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्