ग्यास चुहिँदा भीषण आगलागी «

ग्यास चुहिँदा भीषण आगलागी

वीरगन्ज महानगरपालिका–१८ भवानीपुरस्थित सुपर ग्यास उद्योगको प्लान्टमा बुधबार बिहान भीषण आगलागी हुँदा करोडौं रुपैयाँ क्षति भएको छ । आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ भने घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । आगलागीमा परी मृत्यु हुनेमा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रका अग्नी नियन्त्रक यादवप्रसाद अधिकारी छन् भने एक जनाको सनाखत हुन सकेको छैन । घटनामा पुगेको क्षतिको पूरा विवरण भने अझै आउन बाँकी छ ।
गण्डकदेखि पश्चिम करिब तीन किलोमिटरको दूरीमा रहेको उद्योगको प्लान्टमा भएको आगलागीमा परी जलेर मृत्यु भएको अवस्थामा उद्योग नजिकै दुईजनाको शव भेटिएको थियो । अर्को एकजनाको शव पनि वारुणयन्त्रकै अग्नि नियन्त्रक मधुसूदन मिश्रको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
आगलागी नियन्त्रण गर्न गएको वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रमा समेत आगो सल्किएपछि आगोले जलेर उनीहरूको मृत्यु भएको हो । आगलागीमा परेर वारुणयन्त्र जलेर नष्ट भएको छ । अर्का दुई जना दमकल कर्मचारी सञ्जीव नेपाल र अरुणकुमार महतो जलेर गम्भीर घाइते भएका छन् । उनीहरूलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । नेपालको पूरै शरीर जलेको वीरगन्ज महानगरपालिका वारुणयन्त्रण शाखाका निमित्त इञ्चार्ज हवल्दार शेरबहादुर कार्कीले जानकारी दिए ।
उद्योगमा मंगलबार मात्रै चारवटा बुलेट ग्यास बोकेर आएका थिए । ग्यास लोड भएको बुलेट राति लिक भएपछि आगलागी हुने खतरा भएर महानगरपालिकाको दमकल बोलाइएको थियो । बिहान ७ बजेर ५ मिनेटमा पाँचजना कर्मचारीसहित पठाइएको वारुण यन्त्रका अग्नी नियन्त्रक दुईघण्टापछि सम्पर्कविहीन भएका थिए । वारुणयन्त्रणमा रहेका हवल्दार मधुसूधन मिश्र र यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका थिए । सिमरा, कलैया, वीरगन्जलगायतका वारुणयन्त्र आगलागी भएको घटनास्थलसम्म पुगे पनि त्यसले आगो नियन्त्रण गर्न सम्भव भएन । त्यसपछि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावास कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आईओसी)को डिपोमा तैनाथ उपकरण तथा केमिकलसहितको बारुण यन्त्र ल्याएर आगलागी नियन्त्रणमा लिने प्रयास भएको थियो । भिजेको फर्मले आगलागी नियन्त्रण गर्न सहज हुने भनेर फर्म सहितको वारुणयन्त्र रक्सोलबाट मगाइएपनि सहज रुपमा आगलागी नियन्त्रणमा लिन सकेन ।
नेपाल तथा भारतबाट आएका प्राविधिकसहित ४ वटा वारुणयन्त्रले लगातार ८ घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । ग्यास उद्योगमा आगलागी भएपछि आगो फैलिने डरले वरिपरिका बस्तीका बासिन्दा डरत्रासले बस्ती छाडेका थिए । ग्यास उद्योग नजिकै विश्वकर्मा र श्री सिमेण्ट उद्योग छन् । ग्यास बुलेट बिस्फोट हुँदा लामो दूरीसम्म प्रभाव पार्ने भएकाले स्थानीय बासिन्दा चिन्तित भएका थिए । आगलागी नियन्त्रणमा आइसकेपछि अवस्था सामान्य हुँदै गएको छ । उद्योग भित्रसम्म पुगेर घटनाका बारेमा जानकारी लिने काम भएको छ ।

प्रतिक्रिया दिनुहोस्