राजपा अध्यक्षमण्डलको बैठक आजदेखि «

राजपा अध्यक्षमण्डलको बैठक आजदेखि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई गरेको सम्बोधनले निम्त्याएको विवादका विषयउपर राजपा अध्यक्ष मण्डलका सदस्यहरूको बैठक आजदेखि बस्ने भएको छ । सबै अधिकार अध्यक्षमण्डलमा केन्द्रित भएकाले सदस्यहरूको अनुपस्थितिमा कुनै निर्णय हुने गरेको छैन ।
पार्टीले प्रदेश नम्बर २ को प्रदेशसभामा संसदीय दलका नेता केन्द्रले तोकिदिएपछि त्यहाँका सांसदहरूमा असन्तुष्टि छँदै थियो तर ओलीको भ्रमणबाट त्यसलाई थप बल मिलेको पार्टी निकट नेताहरूको भनाइ छ । पार्टी केन्द्रले प्रदेश दुईको संसदीय दलको नेतामा जितेन्द्र सोनललाई जिम्मेवारी दिएको थियो । सोनललाई त्यहाँ भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ ।
राजपाको तर्फबाट संसदीय दलको नेता भएकाले मुख्यमन्त्रीलाई दबाब दिन सक्ने स्थितिमा सोनल नै हुन् । तर, उनले मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीलाई प्रदेश सभामा सम्बोधन गर्न गरेको निम्तोलाई रोक्न आवश्यक पहल गर्नुपर्नेमा त्यसो नगरिएकाले पार्टीका सांसदहरूको असन्तुष्टि थपिएको पार्टी निकट नेताहरूको भनाइ छ । झन् अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले त्यहाँ प्रधानमन्त्री ओलीको सम्बोधनका बारेमा कुनै पनि सदस्यलाई कुनै किसिमको निर्देशन नभएको जनाएपछि पार्टी राजनीतिक गतिविधिका बारेमा कुनै औपचारिक निर्णय गर्ने अवस्थामा नरहेको देखिएको छ ।
पार्टीको विधान पारित गर्नुपर्ने, प्रदेश नम्बर दुईमा बन्ने नीति आयोगका लागि पार्टीको तर्फबाट पठाउने सदस्यहरूको नामावली टुंगो लगाउने विषय, पार्टीको महाधिवेशनसम्बन्धी सर्कुलर पठाउने काम जस्ता निर्णय बाँकी नै थियो । अहिले प्रदेश नम्बर २ को ससंदीय दलको नेताको चुनाव गर्नुपर्ने आवश्यकता पनि देखिएको पार्टी निकट नेताहरूको कथन छ ।
पार्टीले प्रधानमन्त्रीको सम्बोधनको विषयमा कुनै निर्देशन नदिएपछि पार्टीकै तर्फबाट सभामुख सरोजकुमार यादवले ओलीलाई सदनमा स्वागत गर्दै सम्बोधन गर्न अनुमति दिए भने सोनलले विमानस्थलमा ओलीलाई स्वागत गर्न पुगेका थिए । पार्टीका केहीले स्वागत गरेको र केहीले बहिष्कार गरेको स्थितिबाट राजपाको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्