Logo

तेक्वान्दोले पनि दिलाउन सकेन पदक

१८ औं एसियाली खेलकुद

जकार्ता-अहिलेसम्मको एसियाली खेलकुद प्रतियोगितामा सबैभन्दा बढी १४ पदक (१ रजत र १३ काश्य) दिलाउन सफल भएको खेल हो । पछिल्लो समय दोहामा २००६मा भएको एसियाडमा तेक्वान्दोमा पदक जितेपछि नेपालले लगातार यो खेलबाट कुनै पदक जित्न सकेको थिएन ।
यसपाली जकार्ता– पालेम्बांग एसियाडबाट भने तेक्वान्दो खेलले पदक जित्ने अपेक्षा थियो । तर बिहीबार तेक्वान्दोको अन्तिम खेल रहेको दिन पनि नेपालले कुनै पदक यो खेलबाट जित्न नसकेपछि खेलाडीहरू रित्तो हात फर्किएका छन् । राष्ट्रिय खेलकुुद परिषद्का सदस्य सचिव तथा १८ औं एसियाडमा नेपालका सेफ दि मिसन केशव विष्टले समेत अन्य खेलभन्दा तेक्वान्दोबाट पदक ल्याउने सम्भावना बढी रहेको र तयारी राम्रो गरेको बताउँदै आएका थिए ।
एसियाली खेलकुदमा नेपालको तर्फबाट २००२मा बुसान (कोरीया) र २००६ दोहा (कतार)मा प्रतिनिधित्व गरी २ काश्य पदक जितेका तेक्वान्दो खेलाडी दिपक विष्ट अहिले प्रशिक्षकको रुपमा खेलाडी लिएर आएका जकार्ता आएका थिए । तर खेलाडीको रुपमा उनी एसियाली खेलमा विगतमा सफल भए पनि उनी प्रशिक्षकको रुपमा पदक दिलाउन भने असफल भए । प्रशिक्षक विष्टले तेक्वान्दोका खेलाडीहरूले पदक जित्न नसकेपनि अनुभव बटुलेको र निकट भविष्यमा नेपालमा हुने दक्षिण एसियाली खेलका लागि मद्दत पुग्ने दाबी गरे । तेक्वान्दोको अन्तिम दिन दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ को फराकिलो अन्तरले हारेसँगै तेक्वान्दोबाट पदकको आशा समाप्त भएको हो । त्यस्तै तेक्वान्दोकी अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसँग ४३–४ को ठूलो अन्तरले पराजित भएकी थिइन् । बिहीबारका अन्य खेलमा पनि नेपालको प्रदर्शन राम्रो भएन ।
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङ्शल तामाङ प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । महिला सिंगल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसँग २१–७ र २१–५ ले पछि पराजित भइन् । त्यस्तै ब्याडमिन्टनको पुरुष डबल्स तर्फको खेलमा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० अंकले पराजित गरेका थिए । उता मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङशलको जोडीलाई २१–१३ र २१–७ तथा हङकङको जोडीले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा हराए । महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले निराश पारे । ब्याडमिन्टनमा नेपालले शुक्रबार ५ खेलमा प्रतिस्पर्धा गर्दैछ ।
भारोत्तोलनको पुरुष ७७ केजी तौल समूहमा नेपालका विकास श्रेष्ठले १५ औं स्थानमा चित्त बुझाएका छन् । २० प्रतिस्पर्धाी सहभागी उक्त स्पर्धामा विकासले स्न्याचमा ११३ केजी र क्लिन एन्ड जर्कमा १३५ केजी गरी जम्मा २४८ केजी भार उचालेका थिए । भारोत्तोलनमा नेपालबाट ४ खेलाडी सहभागी छन् । दुई खेलाडी सन्जु चौधरी र कमलबहादुर अधिकारी आफनो खेलमा पराजित भैसकेका छन् । उनिहरूले राष्ट्रिय कीर्तिमान बनाउन सफल रहेका थिए । बाँकी एक खेलाडी तारादेवी पुनले अगष्ट २६ तारिखमा महिला ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्दैछिन् ।
पौडीको पुरुष १ सय मिटर फ्रिस्टाइलमा नेपालका शिरीष गुरुङले ४० औं स्थानमा आएका छन् । यो स्पर्धामा ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा टीसा शाक्यले २६ र्औ स्थान ल्याएकी छिन् । यो प्रतिष्पर्धामा ३० खेलाडी सहभागी थिए । पौडीमा शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । शुभम् श्रेष्ठले ५० मिटर ब्रेस्टस्ट्रोक तथा गौरिका सिंह र टीसाले ५० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्नेछन् ।
पेनकेक सिलातमा नेपालका विवेककुमार विक पराजित भएका छन् । विवेक इरानका मोहम्मद राहिमी बला देजाइसँग ५–० अंकले हारेका हुन । पेनकेक सिलातमा नेपालबाट उनीमात्रै सहभागी थिए ।
कबड्डीमा पनि नेपाल पराजित भई बाहिरीएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले नेपाललाई ३८–२० ले हराउन सफल भयो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पाँच खेलमा नेपालले ४ मा पराजय भोग्यो भने १ मा जित हात पा-यो । नेपाल पाकिस्तानसहित आयोजक इन्डोनेसिया, जापान र इरानसँग पराजित भएको थियो । मलेसियालाई भने नेपालले २९–१७ ले हराएको थियो ।
एसियाडमा पहिलो पटक राखिएको प्याराग्लाइडिङको पुरुष तथा महिला एकुरेसी (व्यक्तिगत)मा नेपाल पराजित भएको छ । पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं स्थानमा आए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । सोही स्पर्धाको महिलातर्फ नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४ औं र प्रतिभा भुजेल १५ औं स्थानमा रहे । १० चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए । शुक्रबारबाट क्रस कन्ट्री स्पर्धाका खेलहरू सुरु हुनेछ । क्रस कन्ट्रीबाट नेपालले पदकको आशा गरेको छ ।
एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये सबै भन्दा पछि समावेश गरिएको स्क्वासको पुरुष सिंगल्समा अरहान्तकेशर सिंह र अमृत थापा मगर पराजित भएका छन् । पाकिस्तानका अस्लम तयबले अरहान्तलाई ११–६, ११–५ र ११–५ तथा हङकङका यि लिन होले अमृतलाई ११–१, ११–४ र ११–२ को सोझो सेटमा पराजित गरे ।
पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष स्पिड्सको छनोट चरणबाट नेपाल बाहिरिएको छ । नेपालका पेम्बा शेर्पा र प्रणीलमान श्रेष्ठ २७ खेलाडी सहभागी स्पर्धामा क्रमशः २६ औं र २७ औं भए । शीर्ष १६ मा आउने खेलाडी पहिलो चरणबाट छनोट हुने प्रावधान छ । पुरुष कम्बाइन छनोट चरण पनि नेपालले पार गर्न सकेन । पेम्बा २२ औं र प्रणील २१ औं भए । २३ खेलाडी सहभागी यो स्पर्धामा मंगोलिया पुछारमा रह्यो । शुक्रबार नेपालले पुरुष बोल्डरिङको छनोट चरणमा खेल्नेछ ।
आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तिलक पुन मगर चीनका खेलाडीसंग प्रिक्वाटरफाइनलमा ६–४ ले पराजित भए । त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए । सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसंग ६–० ले पराजित भए ।
महिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङकङकी खेलाडीसंग ६–२ ले पराजित भइन् । नेपालले शुक्रबार मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्