चिनिया समृद्धिबाट हामीले के सिक्ने ? «

चिनिया समृद्धिबाट हामीले के सिक्ने ?

भौगोलिक रूपमा ९६ लाख वर्गकिमि क्षेत्रफल रहेको चीन रूस तथा क्यानडापश्चात्को तेस्रो ठूलो मुलुक हो । डब्लूटीओ, एपेक, जी–२०, ब्रिक्सजस्ता आर्थिक समुदायको सदस्यसमेत रहेको चीन विश्वका १ सय २७ मुलुकको सर्वाधिक ठूलो व्यापारिक साझेदार पनि हो । विश्वमा औसत व्यापार वृद्घिदर १० प्रतिशत भइरहँदा विगत एक दशकपर्यन्त चीनले वार्षिक २१.७ प्रतिशतका दरले व्यापार वृद्धि गरिरहेको छ । अहिले चीनको कुल गार्हस्थ्य उत्पादन ११.८ ट्रिलियन अमेरिकी डलर (नोमिनल) पुगेको छ, जुन विश्वको सर्वाधिक ठूलो अर्थतन्त्र अमेरिकापछि दोस्रो हो । पर्चेजिङ पावर प्यारेटीका हिसाबले चीन विश्वमै अग्रस्थनमा छ, जुन २३.२ ट्रिलियन अमेरिकी डलर छ । अमेरिकाको १८.५ ट्रिलियन डलर मात्र छ ।
चीन रातारात समृद्धि चुमेको मुलुक भने होइन । तमाम राजनेता-विद्वान्हरूको योजना, लगन, मेहनत र सपनाका कारण आजको अवस्थामा आइपुगेको हो । दार्शनिक, चिन्तक, विचारक कन्फ्युसियसले ४७९-५५१ बीसीताका चीनलाई सुमार्गमा डोर्याए । उनले न्याय, शान्ति, शिक्षा, नैतिकता, आचरण र अधिकारको पाठ सिकाए, जसको सकारात्मक छाप अहिले पनि छ । सन् ६१८-१२७९ को कालखण्ड चीनका खातिर स्वर्णयुग साबित हुनुमा उनको ठूलो देन छ ।
अर्को कालखण्डमा डा. सन् यात सेनजस्ता युगपुरुषको हातमा चीनको बागडोर पुग्यो । आधुनिक चीनको मजबुत जग निर्माणमा अतुलनीय योगदान रह्यो । उनको योगदान त्यसकारण अतुलनीय मानिन्छ कि उनले चीनमा गणतन्त्र स्थापना गरे ।
डा. सन् यात सेनपश्चात् चीनले माओ त्से तुङजस्ता राजनेता जन्मायो । माओको नेतृत्वमा परम्परावादी चीन आधुनिक गोरेटोमा डोरिन पुग्यो । उनले नयाँ जनवादी क्रान्तिको मोडल पेस गरे । सन् १९४९ मा चीन पिपुल्स रिपब्लिकमा परिणत भयो । आधुनिक चीन निर्माणमा उनले अगाडि सारेको सांस्कृतिक क्रान्ति कोसेढुंगा साबित भयो । सन् १९५३ ताका पञ्चवर्षीय योजना लागू गरियो । नागरिकलाई उत्पादनसँग जोडियो । सब थोक तारतम्य मिल्दैजाँदा सन् १९५८ बाट औद्योगिक विकासको गोरेटो कोरिन पुग्यो । तत्पश्चात् चीनले पछाडि फर्केर कहिल्यै हेर्नु परेन । फलतः सन् १९५०-१९७६ को अवधिमा चीनको जीडीपी औसत ४.७ प्रतिशतले वृद्धि भयो । फलस्वरूप सन् १९४९ मा २७ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय सन् १९७५ मा १४९ अमेरिकी डलर पुग्यो ।
माओले कुशलतापूर्वक अगाडि बढाएको चिनियाँ अर्थतन्त्रलाई देङ साउपिङले निरन्तता दिए । महत्वपूर्ण कुरा त देङ साउपिङले सन् १९७८ मा चिनियाँ केन्द्रीकृत अर्थनीति परिवर्तन गरी खुला र उदार बनाए । बजारमुखी अर्थनीतिका कारण अधिकांश वस्तुको मूल्य बजार प्रणालीमा आधारित भयो । पुँजीबजार विकास हुँदा स्टक एक्सचेन्समा सयौं कम्पनी सूचीकृत हुन पुगे । व्यावसायिक मिलान तथा मर्जर प्रोत्साहित गरियो । अधिकांश साना तथा मझौला आकारका सार्वजनिक संस्थान निजीकरण गरिए । सन् १९७९ देखि २०११ सम्ममा १.१ ट्रिलियन अमेरिकी डलर लगानी भित्रियो । भित्रिएका ५ सय बहुर्राष्ट्रिय कम्पनीमध्ये ४ सय ९० कम्पनीले चीनमै कारखाना खोले । आर्थिक उदारीकरणको मर्मअनुरूप अर्थव्यवस्थामा परिवर्तन गर्दा चीनले अभूतपूर्व प्रगति गर्यो । सन् १९७५ ताका १ सय ४९ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय सन् २०१५ मा आइपुग्दा १५ हजार १ सय ८४ अमेरिकी डलर (पीपीपी) पुग्नु अथवा सन् २०१० पर्यन्त विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्नु आर्थिक उदारीकरणको सफल नतिजा थियो ।
त्यसो त चीन सामन्ती युगबाट गुज्रिएको मुलुक हो । चीनले २ सय ३० वर्ष रोमन साम्राज्य भोग्यो । संघाई, सिचुवानजस्ता आजका वैभवशाली सहरहरूमा समेत डा. सन यात सेनको ताका टाँगा, रिक्सा चल्थ्यो । लगभग आजको नेपालमा जस्तै । यसको तात्पर्य चीनको प्रगतिबाट अनुकरण गर्नुपर्ने तमाम कुराहरू छन् ।
सन् १९७८ मा २६८ बिलियन अमेरिकी डलर रहेको चिनियाँ जीडीपी सन् २०१७ को पूर्वाद्र्धमा आइपुग्दा २३.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन अमेरिकाभन्दा २.७० ट्रिलियन अमेरिकी डलरभन्दा अधिक हो । विश्व जीडीपीमा सन् १९७८ ताका १.८ प्रतिशत योगदान पुर्याएकोमा सन् २०१७ मा आइपुग्दा १८.५३ प्रतिशत पुगेको छ । चीनले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । जीडीपीको करिब ४ प्रतिशत उक्त क्षेत्रमा लगानी गरिरहेको छ । चीनमा २ हजार ७ सय विश्वविद्यालय तथा क्याम्पसहरू सञ्चालनमा छन् । विश्वविद्यालय तथा क्याम्पसमा करिब ४ करोड २० लाख छात्रछात्रा अध्यनरत छन् । मात्र ७ वटा विश्वविद्यालयले फिनल्यान्डको कुल जनसंख्याभन्दा अधिक स्नातक जनशक्ति उत्पादन गरिरहेका छन् । शिक्षाक्षेत्रमा चीनले तुजुक गर्न मिल्ने कुरा हो यो ।
अहिले सबैजसो एप्पल उत्पादनहरू चीनमै ऐसेम्बल भइरहेका छन् । अमेरिकी बजार चिनियाँ सामानले भरिभराउ छन् । सांघाईमा न्युयोर्कभन्दा बढी अर्बपति छन् । चीनमा अमेरिकामा भन्दा बढी अमेरिकी डलर छ । वास्तवमै चिनियाँहरू अमेरिकीभन्दा बढी पुँजीवादी लाग्छन् । चीनमा विलासिताका वस्तु सर्वाधिक उपभोग भइरहेको छ । चीनमा आईपीएम, मर्सिडिज, अलिबावा, सामसुङ, सोनी, म्याकडोनाल्ड, केएफसी विश्वमै नाम चलेका ब्रान्डहरू छा्यापछा्याप्ती पाउन सकिन्छ ।
चीनमा अहिले प्रतिघन्टा १ हजार किमि गतिको रेल गुड्दो छ । शारीरिक श्रमलाई अटोनोमेसन गरिएको छ । नदीमाथि विशाल पुलहरू निर्माण भएका छन् । निर्यातजन्य वस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र मौलाएका छन् । सांघाई, सिगात्से, सिचुवान विश्व आर्थिक केन्द्रका रूपमा स्थापित छन् । विगत २० वर्षमा औसत ९.५ प्रतिशतको आर्थिक वृद्धि चुमिएको छ । कुनै वर्ष आर्थिक वृद्धि १४ प्रतिशतसम्म उक्लिएको छ ।
स्टिल, सिमेन्ट, कोइला, बिजुली, मेसिनरी, इलोक्टोनिक्स, फुटवेयर, गार्मेन्ट्स, घरायसी सामग्रीलगायतका करिब २ सय चिनियाँ औद्योगिक वस्तुहरू विश्वभर फिँजिएका छन । सन् १९९५ ताका विश्वका ५ सय ठूला कम्पनीहरूमध्ये २ वटा ठूला कम्पनी मात्र चिनिया रहेकोमा अहिले यो संख्या करिब ६ दर्जन पुगेको छ । सन् २००१ मा २० लाख ३३ हजार सवारी साधन उत्पादन भएकोमा सन् २०१२ मा यो आँकडा १ करोड ९ लाख पुगेको छ, जुन अमेरिकी उत्पादनभन्दा अधिक हो । यस हिसाबले अर्को २० वर्षमा चीन विश्वकै सर्वाधिक विशाल अटो बजार हुन सक्ने अर्थविद्हरूको प्रक्षेपण छ ।
सारमा नेपालजस्तो अल्पविकसित मुलुकका लागि चिनियाँ समृद्धि आफैंमा खुला ऐना हुँदै हो । तथापि, यत्तिकै प्रगतिको समृद्धिको धुरीमा पुगेको होइन । चिनियाँ समृद्धिका पछाडि निश्चित कारणहरू छन् । ती अत्यन्त महत्वपूर्ण छन् । अर्थपूर्ण छन् । दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, सुशासन, नीतिगत स्थायित्व, लगानीको सुरक्षा प्रत्याभूति, करको न्यून दर, उत्पादनमा प्रणालीमा यान्त्रीकरण, गुणस्तरीय श्रम, उच्च बचत, बचतलाई पुँजीमा रूपान्तरण चिनियाँ आर्थिक समृद्धिका वास्तविक कारणहरू हुन् । नेपालजस्तो अल्पविकसित मुलुकका लागि चिनियाँ सफलता अनुकरणीय नभइरहन सक्दैन । तथापि चिनियाँ सफलताका कारण पहिचान गरी अनुकरण गर्नु नगर्नु त्योचाहिँ नेपालको आफ्नो कुरा हो ।
(लेखक नेपाल टेलिकममा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्