धनी रोल्पा ! «

धनी रोल्पा !

जो साँझ–बिहान खानका लागि कहाँबाट जुटाऊँ भन्नेहरू छन्, त्यस्ता व्यक्तिलाई गरिब घरधुरीमा समावेश गरिएको छैन ।

रोल्पा जिल्ला ५ नम्बर प्रदेशमै सबैभन्दा कम गरिब घरधुरीको जिल्लामा परेको छ । जिल्लाको कुल जनसंख्या २ लाख १२ हजार ९ सय २९ मध्ये ३४ हजार ७ सय ६२ अति गरिबको सूचीमा सूचीकृत छन् भने २० हजार ८ सय ६६ मध्यम गरिबमा छन् । १३ हजार ९ सय १० सामान्य गरिबका रूपमा सूचीकृत भएका छन् । तीनै थरीका गरिबको संख्या जोड्दा जिल्लामा कुल गरिबको संख्या ६९ हजार ५ सय ३८ देखिएको छ; अर्थात् गरिबी दर ३२.७ प्रतिशत मात्र देखिएको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले प्रकाशन गरेको अन्तिम सूचीअनुसार रोल्पा प्रदेशकै कम गरिब घरधुरी रहेको जिल्लाका रूपमा देखिएको हो । गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७० मा आधारित पीएमटी विधिद्वारा प्रदेश नम्बर ५ का ६ वटा जिल्लामा गरिएको सर्वेक्षणका आधारमा रोल्पा जिल्लाको गरिबीको दर सबैभन्दा कम देखिएको हो ।
सर्वेक्षण गरिएका प्रदेशका ६ जिल्लामध्ये सबैभन्दा धेरै गरिबी दर कपिलवस्तुमा देखिएको छ । कपिलवस्तुको कुल जनसंख्या ५ लाख ३९ हजार ७ सय ८७ मध्ये २ लाख २८ हजार ५ सय ९७ गरिबका रूपमा देखिएका छन् । यो संख्या ४२.३ प्रतिशत हो । प्रदेशका अन्य जिल्लाहरू क्रमशः प्युठान ४१.७ प्रतिशत, रुकुमपूर्व ४०.९ प्रतिशत, अर्घाखाँची ३७ प्रतिशत र बर्दिया ३५.२ प्रतिशत गरिबी दर देखिएको छ ।
२०७० सालमा गरिब घरपरिवार पहिचान कार्यक्रमका लागि देशभरमा २६ जिल्ला छनौट भएका थिए । सोहीबमोजिम विभिन्न सूचकका आधारमा गरिब घरपरिवार पहिचान गरिएको हो । सम्पूर्ण घरपरिवारको तथ्यांक संकलन, प्रशोधन र विश्लेषण गरी पहिचानका सम्पूर्ण चरण पार गर्दै मन्त्रिपरिषद्ले स्वीकृती गरेपश्चात् उक्त सूची सार्वजनिक गरेको हो ।
सामान्यतया जग्गाजमिन नहुनेलाई गरिब मान्ने हो भने त ३२ प्रतिशत गरिबको संख्या पनि बढी हो ? नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति कृष्णबहादुर घर्तीले भने, “गरिबको सूकचांक के के हो ? मलाई थाहा भएन । आर्थिक हिसाबले पनि खासै गरिब छैैनन् ।” घर्ती रोल्पा जिल्लाको जानकारका रूपमा चिनिन्छन् । “स्ट्यान्डर्ड क्वालिटी हेर्ने हो भने त रोल्पामा ७५ प्रतिशत गरिब छन्,” उनले भने ।
“राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ०७२÷७३ को तथ्यांकअनुसार रोल्पाको गरिबी २६ प्रतिशतको हो,” जलजला बहुमुखी क्याम्पसका प्राध्यापक गोकर्ण पुनले भने । “त्योअनुसार रोल्पाको गरिबीको तथ्यांक ठीकै हो, तर गाउँ–समुदाय तहको कुरा बुझ्दा जो गरिबीको तथ्यांकमा पर्नुपर्ने हो, त्यो परेन, धनीहरू परे भन्ने गुनासो छ,” पुनले भने, “तथ्यांक लिने क्रममा केही कमजोरी भयो कि भन्ने हो ।”
जिल्लामा गरिब घरधुरी पहिचान गर्ने क्रममा त्रुटि भएको स्थानीयको भनाइ छ । गाउँगाउँमा गई स्थानीयको सही पहिचान गरी तथ्यांक संकलन गर्नुपर्ने भए पनि तथ्यांक संकलनका क्रममा गणक तथा सामाजिक परिचालकहरू गाउँका ठूला भलादमीका घरमा गई भलादमीले भनेअनुसार गाउँका सबै स्थानीयको एकै ठाउँबाट तथ्यांक संकलन गरेका थिए । त्यसो गर्दा गरिब घरधुरीमा सूचीकृत हुनुपर्ने मान्छे नभई धनी मान्छे सूचीकृत भएको स्थानीयले आरोप लगाएका छन् । गाउँमा शिक्षक, जान्नेबुझेका हालका वडाध्यक्ष र गाउँका भलादमी भनिनेहरू मात्र गरिब घरधुरीमा सूचीकृत भएका छन् । जो साँझ–बिहान खानका लागि कहाँबाट जुटाऊँ भन्नेहरू छन्, त्यस्ता व्यक्तिलाई गरिब घरधुरीमा समावेश गरिएको छैन ।
“मेरो हिसाबमा त ठीक उल्टो तथ्यांक आयो,” स्थानीय अगुवा देवेन्द्र बोहोरा भने, “२० प्रतिशत धनी, ८० प्रतिशत गरिब हुनुपर्ने हो । तथ्यांक संकलनमा ठूलो त्रुटि गरे ।”
पहलमान घर्ती

प्रतिक्रिया दिनुहोस्