सम्पत्ति मूल्यांकन वैज्ञानिक नभएको गुनासो «

सम्पत्ति मूल्यांकन वैज्ञानिक नभएको गुनासो

नयाँ आर्थिक वर्षको सुरुवातसँगै बेनी नगरपालिकाले जग्गा र त्यहाँ बनेका घर, टहराको एकीकृत सम्पत्ति कर उठाउन सुरु गरेको छ ।

म्याग्दीको बेनी नगरपालिकाका नागरिकले एकीकृत सम्पत्ति कर संकलनका लागि गरिएको सम्पत्तिको मूल्यांकन अवैज्ञानिक भएको गुनासो गरेका छन् । सम्पत्ति मूल्यांकन र दररेट निर्धारणका विषयमा जनस्तरमा छलफल र बुझाईमा एकरुपता नहुनु, कर शिक्षाको कमी, मालपोत, चलनचल्ती र नगरपालिकाले गरेको सम्पत्ति मूल्यांकन फरक–फरक हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
बेनी नगरपालिका–४ तातोपानीका बिष्णुप्रसाद शर्माले नगरपालिकाले अवैज्ञानिक तवरले गरेको सम्पत्तिको मूल्यांकनका कारण ३ लाख रुपैयाको जग्गा किनबेच गर्दा ३७ लाख रुपैयाँ बराबरको कर तिर्नु पर्ने अवस्था आएको बताए । केही दिनअघि ३ लाख रुपैयाँको जग्गा किनबेच गर्न नगरपालिकाको सिफारिस लिएर मालपोतमा पुगेका तातोपानीका एक व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी कर तिर्नुपरेको भन्दै सोमबार तातोपानीका बासिन्दाले नगरप्रमुख हरिकुमार श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।
नगरपालिकाको राजस्व परामर्श समितिले मूल सडक, सहायक सडक, घोडेटो बाटो, आवासीय र व्यावसायीक क्षेत्रका आधारमा एकीकृत सम्पत्ति करको दर निर्धारण गरेको थियो । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बेनी नगरपालिकाले जग्गा र त्यहाँ बनेका घर, टहराको एकीकृत सम्पत्ति कर उठाउन सुरु गरेको छ ।
१० लाख रुपैयाँसम्मको घर जग्गाको २ सय, १० लाखदेखि २० लाखसम्म प्रतिलाख थप २५, २० देखि ४० लाखसम्मको प्रतिलाख ३०, ४० देखि ८० लाखसम्मको प्रतिलाख ३५, ८० लाखदेखि १ करोड ५० लाखसम्मको प्रतिलाख ४०, २ करोड ५० लाखदेखि चार करोडसम्मको प्रतिलाख ४३ र ४ करोडदेखि माथिकोलाई प्रतिलाख ४५ रुपैयाँका दरले एकीकृत सम्पत्ति करको दर निर्धारण गरिएको छ ।
मालपोत, नगरपालिका र चलनचल्तीको दररेट फरक–फरक हुँदा अलमल सिर्जना भएको तातोपानीका टेकबहादुर फगामीले बताए । नगरप्रमुख श्रेष्ठले सरोकारवालाहरुसँग छलफल गरेर वडा समितिको सिफारिसअनुसार नगरसभाबाट करको दर निर्धारण भएको भन्दै सर्वसाधारणलाई मर्का पर्ने गरी कर उठाउने नियत नभएको बताए ।
हालैको नगरकार्यपालिकाको बैठकले घडेरीयोग्य जग्गाको ५० फिटसम्मलाई घडेरी र त्यसभन्दा बढीलाई खेतबारी जे छ त्यहीको आधार मानेर सम्पत्ति मूल्यांकन गर्ने निर्णय गरी संशोधनको प्रक्रियामा रहेको नगरप्रमुख श्रेष्ठले बताए । घडेरीसँग जोडिएका अन्य जग्गाको मूल्यांकनमा देखिएको समस्या फुकाउन कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको चरणमा रहेको लेखा अधिकृत युक्तप्रसाद शर्माले बताए । बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा एकीकृत सम्पत्ति करबाट १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्