Logo

त्रिविमा घोटाला भएको नेविसंघको आरोप

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर युएसएआईडीमार्फत् मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।
नेविसंघ त्रिभुवन समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीहरुले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए । उनले भने, “हाम्रो मान्यता त्रिविका सम्पूर्ण विभागहरु विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ भन्ने हो । अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ भन्ने हो । तर, त्रिविको लोगो र स्ट्याम्पसमेत दुरुपयोग गरी अनधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेका छन् ।”
उनले थपे, “त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ । नत्र त्रिविको लोगो र स्ट्याम्प कसरी दुरुपयोग भयो ? विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाइने भनिएको छ, तर युएसएआईडीसँग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो ?”
आफूहरुले मानव संकाय प्रमुख प्रा.डा. लयप्रसाद उप्रेतीलाई यसबारेमा छलफल गरौं भनेर आग्रह गर्दा उनले मानव शास्त्रको विभागीय प्रमुखको जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गर्दै आचार्यले भने, “राजीनामा दिएर पन्छिन मिल्दैन । त्यो समाधान होइन ।”

प्रतिक्रिया दिनुहोस्