सिंगापुरमा नेपाली खाना

अध्ययन भिसामा सिंगापुर पुगेका पद्म बहादुर थापाले सिंगापुरमै नेपाली कला, संस्कृति र भेषभुषा झल्किने गरी गोर्खा प्यालेस रेस्टुरेन्ट संचालन गर्दै आएका छन् । भिज्युअल कम्युनिकेसन ग्राफिक डिजाइन कोर्स पूरा गरेका सिंगापुरका स्थायी बासिन्दा (पिआर) थापाले विदेशमा पनि स्वदेशको झल्को आउने भएकाले नेपालीपन झल्कने रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
बुटवल सुख्खा नगर स्थायी घर भएका थापा विगत १७ वर्षदेखि सिंगापुरमा बस्दै आए पनि करिब एक दशकदेखि नेपालीपन झल्कने नेपाली टिपिकल खानाको स्वाद पस्कँदै छन् । उनले संचालन गरेको रेस्टुरेन्टमा डिजिटल माध्यमबाट नेपालको मुख्य पर्यटकीय स्थलहरू, नेपाली खाना, नेपाली परम्परा संस्कृतिसमेत प्रदर्शन गरेका छन् । उनको रेस्टुरेन्टमा नेपाली स्वादको परिकार चरेसको भाडामा उपलब्ध हुन्छ भने नेपाली गाउँघरमा उपलब्ध हुने वस्तुहरूसमेत देख्न पाइन्छ । अन्य रेस्टुरेन्टभन्दा क्रिएटिभ डिजाइनमा नेपालीपन झल्कने परम्परागत वस्तुहरूको प्रदर्शनी तथा नेपाली स्वादका परिकारसमेत उपलब्ध भएकाले आफूलाई निकै आनन्द आउने गरेको उनी बताउँछन् ।
सिंगापुरमा सिंगापुरे नेपाली लाहुरे र उनका परिवारजन गरी सीमित नेपालीहरूको बसोबास भएकाले कहिलेकाहीं नेपालीहरूको भेटघाट हुने स्थलको रूपमा समेत विकास हुँदै आएको थापाले बताए । करिब ८० प्रतिशत स्थानीयको बसोबास रहेको सिंगापुरमा नेपाल, मलेसिया, भारतलगायतका देशबाट आएका व्यक्तिहरू विभिन्न पेसाव्यवसाय अपनाउँदै बसोबास गरिरहेका छन् । च्यानल न्युज एसियाबाट सिंगापुरको फुड स्टोरी भनेर आफू र आफ्नो रेस्टुरेन्टको बारेमा डकुमेन्ट्री बनाएकोमा थापाले त्यसलाई ठूलो उपलब्धि ठानेका छन् । कर्पोरेट कम्पनी स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । अन्य देशको तुलनामा नेपालीहरू अन्य देशमा धेरै छैनन् । सिंगापुरमै पनि धेरै छैनन् । भ्रमणका लागि आउने र यतै बसोबास भएका नेपालीहरू आफ्नो रेस्टुरेस्टमा आउने गरेको थापाले बताए । उनले भने, “बेला बेलामा नेपालीहरू मेरो रेस्टुरेन्ट सम्झेर आउँछन् जसले हामीलाई सहयोग भएको छ ।” सिंगापुरमा चिनियाहरू पनि प्रशस्तै भएकाले उनीहरू पनि कहिलेकाहीं नेपाली खानाको स्वाद लिन आउँछन् । उनीहरूले नेपाली खाना मिठो मान्ने गरेको उनले बताए ।
एसियाली देशबाटै खानाका परिकार ल्याउने गरेको उनले बताए । कुनै नेपाली व्यापारीले नेपाली उत्पादन सिंगापुरमा ल्याइपुर्याएको खण्डमा आफूजस्ता व्यवसायीहरूले ती उत्पादन लिने उनले बताए । नेपाली दुई जना सहित ६ जनाले उनको रेस्टुरेन्टमा रोजगारी पाएका छन् । अस्ट्रेलियन बेसको कम्पनीमा विश्वकै उत्कृष्ट दक्ष जनशक्तिसंग काम गर्दा आफूलाई समेत निकै आनन्द आएको उनले बताए । नेपालीलाई सहज ढंगले रोजगार नदिने भएकाले सिंगापुरमा नेपालीहरू कमै छन् ।
हरेक वर्ष मनाइने चाडपर्वमा नेपालीहरू भेला हुन्छन् । थोरै नेपाली भए पनि उनीहरू राम्रोसँगै व्यवस्थित भएर बसेका छन् । सबै व्यावसायिक भएका छन् । सबै सम्पन्न भए पनि बेला बेलामा नेपाली संस्कार र समाजको अभाव खट्किने गरेको उनले बताए । यहाँ बसोबास गर्ने नेपालीहरू राम्रो कम्पनी र कर्पोरेटमा आबद्ध भएका छन् । त्यसैले गर्दा सिंगापुरमा बसोवास गरेका अधिकांश नेपालीले गुणस्तरीय जीवन बिताएको उनी बताउँछन् । नेपालको वर्क पर्मिट नहुने भएकोले पनि नेपालीलाई सहज ढंगले सिंगापुर जान नसक्ने अवस्था रहेको उनले जानकारी दिए । जनरल वर्करमा काम गर्ने नेपाली सिंगापुरमा खासै भेटिंदैन । सिंगापुरे लाहुरेको छुट्टै क्याम्प छ तर बाहिरको क्रियाकलापमा उनीहरू खासै सक्रिय छैनन् । करिब एक सय नेपाली परिवार सिंगापुरमा बसोवास गर्दछन् । रेस्टुरेन्टको साथमा सिंगापुरमा नेपाली व्यवसायीहरूले संचालन गरेका अन्य हिमालय किचन, सिस महल, न्यु एभरेष्ट किचन रेस्टुरेन्टको संचालन पनि उनी संलग्न छन् ।
उत्तर र पूर्वमा मलेसिया र प्रशान्त महासागर तथा दक्षिणमा इन्डोनेसियाले घेरिएको ७१९.१ वर्ग किमि क्षेत्रफलको टापु राज्य हो सिंगापुर । करिब ५० लाख मानिसहरूको बसोबास गर्ने पर्यटकीय तथा व्यापारिक देश हो यो ।