Logo

हालसम्म पदक शून्य, व्यक्तिगत प्रदर्शनमा सुधार

१८ औं एसियाली खेलकुद

जकार्ता-१८ औं एसियाली खेलकुद प्रतियोगितामाको पाँचौं दिन बुधबार पनि नेपाली खेलाडीहरुले पदक जित्न सकेनन् । बुधबार भएका कुनै पनि खेलमा नेपालले जित निकाल्दै अघि बढ्न सकेनन् । पदक नजिते पनि केहीले भने व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् ।
भारोत्तोलनमा कमलबहादुर अधिकारीले बुधबार कीर्तिमान सुधार गरेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड जर्कमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो, जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए ।
क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १५६ केजी उचालेका थिए । लगातार चौथो एसियाली खेलकुदमा भाग लिइरहेका कमल तेश्रो लिफ्टमा १६० केजी भार वहन गर्दै पुनः १५६ केजीको कीर्तिमानलाई सुधार्न सफल भएका छन् । कमलले समग्रमा १४ स्थानमा चित्त बुझाए ।
उता पदकको आशा गरेको तेक्वान्दोले बुधबार पनि निराश बनाएको छ । पुरुष ६३ केजीमुनि तौल समूहमा नेपालका वीरबहादुर महरा प्रिक्वाटरफाइनलमा पराजित भएका छन् । उनी काजाकिस्तानका खेलाडीसँग ३०–१९ ले पराजित भए । त्यसअघि वीरले अफगानिस्तानका खेलाडीलाई २४–१३ ले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । त्यस्तै पुरुष ८० केजीमा नेपालका भुपेन श्रेष्ठ अफ्गानिस्तानका रमेश हुसानीसँग २७–७ अंकले खेल गुमाए । तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पालेम्बांग सहरमा लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ । महिला डबल्समा बुधबार नेपालका मायांका राणा र माहिका राणाले पराजय ब्यहोरेका छन् । राणा दिदी बहिनीको हारसँगै नेपालको चुनौती समाप्त भएको छ । जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरेका छन् ।
त्यस्तैगरी पुरुष भलिबलमा नेपालले पराजय भोगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल चाइनिज ताइपेईसँग २५–२३, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित भएको छ । नेपालले अब शुक्रबार दक्षिण कोरिया विरुद्ध खेल्नेछ ।
पौडीतर्फ महिला २ सय मिटर फ्रिस्टायलमा नेपालकी गौरिका सिंहले १९ औं स्थान हात पारिन् । २४ खेलाडी सहभागी उक्त स्पर्धाको दूरी तय गर्न गौरिकाले २ मिनेट १२.५३ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा गौरिकाकै नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।
पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा शुभम् श्रेष्ठ २७ औं स्थानमा रहे । ३२ खेलाडीले सहभागी खेलमा शुभम्ले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पूरा गरेका थिए । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान पनि शुभम्कै नाममा छ । उनको नाममा १ मिनेट ११.२४ सेकेन्डको कीर्तिमान छ ।
बिहीबार शिरीष गुरुङले १ सय मिटर फ्रिस्टायल र टीसा शाक्यले ५० मिटर ब्रेस्ट स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो पटक राखिएको प्याराग्लाईडिङ खेलको महिलाको समूह टिम एकुरेसीतर्फ ७ औं स्थानमा र पुरुषतर्फ टिम एकुरेसीमा ८ औं स्थानमा चित्त बुझाएका छन् । यसमा बाँकी विधाको खेल बाँकी छ । यसको क्रस क्रन्टीमा नेपालले पदकको अपेक्षा गरेको छ । क्रसक्रन्टीको खेल शुक्रबारबाट सु्रु हुनेछ । बुधबारका अन्य खेलहरु उसु, कपर्दि, थ्रि बाई थ्रि महिला बास्केटबल, साइक्लिङलगायतमा समेत नेपालले पराजय बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्